डा. कुमारको उपचार अनुभव : बिरामीले ‘अनावश्यक जाँच गरेबापत् तपाईँलाई कति कमिशन आउँछ?’ भन्दै प्रश्न गरेपछि...

डा. कुमारको उपचार अनुभव : बिरामीले ‘अनावश्यक जाँच गरेबापत् तपाईँलाई कति कमिशन आउँछ?’ भन्दै प्रश्न गरेपछि...

डा. कुमार पोख्रेल छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ हुन्। अहिले उनी नेपालगञ्ज मेडिकल कलेजमा एशोसियट प्रोफेसर र छाला रोग विभागको प्रमुखको भूमिकामा छन्। त्यस्तै, उनी नेपालगञ्ज मेडिकल कलेज अन्तर्गतको नेपालगञ्ज अस्पतालको सह-निर्देशक पनि हुन्। 

त्यसैले बिरामीको स्वास्थ्य परीक्षण तथा औषधि उपचार गर्नु, चिकित्सा शास्त्रका विद्यार्थीलाई पढाउनु अनि अस्पतालको व्यवस्थापकीय तथा प्रशासनिक जिम्मेवारीमा रहेर काम गर्नु उनको दैनिकी हो। उनै डा. कुमारले चिकित्सकीय पेसाको शिलशिलामा देखे भोगेका अनुभव उकेरासँग साटे :

000

परिवारबाट निकालिने डर भएकी ती कुष्ठरोग लागेकी महिलाको त्यो गोप्य उपचार 
प्रसंग केही वर्षअघिको हो। छालाको समस्या भएर करिब २८ वर्षकी ती महिला नेपालगन्जको नेपालगञ्ज मेडिकल कलेज (अस्पताल) पुगिन्। डा. कुमारले ती महिलाको स्वास्थ्य परीक्षण गर्दा कुष्ठरोग लागेको थाहा भयो। 

उनले ती महिलालाई कुष्ठरोग लागेको र उपचारपछि ठिक हुने जानकारी दिए। तर, कुष्ठरोग लागेको थाहा पाएपछि ती महिला आत्तिइन्। उनले आत्तिँदै ‘कुष्ठरोग लागेको थाहा भयो भने त मेरो घर परिवारमा मलाई बस्न दिँदैन, श्रीमानले पनि मलाई छोडेर अर्को विवाह गर्नुहुन्छ’ भनिन्। त्यसबेला उनका श्रीमान बिदेशमा रहेछन्।

महिला आत्तिएको देखेपछि उनको स्वास्थ्योपचारका लागि डा. कुमारले एउटा आइडिया निकाले। शारीरिक र पारिवारिकलगायत अवस्थाको संवेदनशीलतालाई बिचार गरेर उनले ती महिलालाई भने, ‘तपाईँको घरमा त्यस्तो समस्या हुन्छ भने उपचारको सबै कागजात हामी अस्पतालमा नै राखिदिन्छौं, तर उपचार चाहिँ गर्नुपर्छ।’ 

डा. कुमारले दिएको सल्लाह अनुसार नै ती महिला कुष्ठरोगको उपचार गर्न सहमत भइन्। यसो हेर्दा ती महिला एसएलसीसम्मको अध्ययन गरेकी जस्ती देखिन्थिन्। राम्रोसँग परामर्श दिएपछि डा. कुमारले उपचार सुरू गरे। ती महिला अस्पतालमा नै कागजात छाडेर औषधि लिएर घर फर्किइन्। 

त्यसपछि प्रत्येक महिना उनी औषधि लिन अस्पताल पुग्थिन्। उनले आफ्नो घर परिवारलाई कुष्ठरोग लागेको भन्ने विषय थाहा दिइनछन्। 

औषधि उपचार थालेको एक वर्षपछि ती महिलाको कुष्ठरोग पूर्ण रुपमा ठिक भयो। औषधिका कारण ती महिलाको छाला कालो भएछ। के भएर छाला कालो भएको? भनेर कसैले सोध्यो भने ‘घामले डढेको’ भन्दै उनी जवाफ दिने गरेकी रहिछन्।

ती महिलाको संवेदनशीलता नबुझी त्यसै औषधि दिएको भए उनको उपचार नहुने त सम्भावना थियो नै, उनका श्रीमानले पनि छाडिदिने सम्भावना रहेछ। जसले गर्दा महिला कुनै आत्महत्या लगायतको दुर्घटनामा समेत पर्न सक्थिन्। तर, डा. कुमारले ती महिलाको जिन्दगीलाई नै सुनौलो बनाउन सहयोग गरिदिए। 

ती महिलाको उपचारलाई गोप्य राख्दै समस्या ठिक बनाउन सफल भएको सम्झँदा अझै डा. कुमारलाई आनन्द लाग्छ। 

सामान्यतया सुरुवाती दिनमा कुष्ठरोग लागेको थाहा नै हुँदैन। थाहा पाएपनि घर, परिवार तथा समाजले घृणाको दृष्टिले हेर्ने डरले रोग नै लुकाउन कोशिश गर्ने समस्या समेत रहेको उनले अनुभव सुनाए। 

त्यसैगरी यौन रोगलाई पनि लाजगालको विषय मानेर लुकाउने समस्या रहेको डा. कुमारले सुनाए। यौन रोगको समस्या भएका कयौं बिरामी स्वास्थ्य जटिलता निम्तिएपछि अस्पतालमा पुग्ने गरेको र त्यसपछि उपचार गर्न पनि कठिन हुने गरेको उनको अनुभव छ। 

बिरामीले ‘अनावश्यक जाँच गरेवापत तपाईँलाई कति कमिशन आउँछ?’ भन्दै प्रश्न गरेपछि...
घटना करिब २० दिनअघिको हो। करिब ३८ वर्षकी महिला छालाजन्य समस्याका कारण अस्पताल पुगिन्। यसो हेर्दा ती महिला केही पढेलेखेकै देखिन्थिन्।

डा. कुमारले ती महिलाको स्वास्थ्य परीक्षण गरे। ती महिलाको खुट्टामा घाउ भएर पाकेको थियो। सुन्निएको थियो। ती महिलाको खुट्टामा सेलुलाईटिस नामक घाउ भएको थाहा भयो। जुन कडा किसिमको संक्रमण भएको थियो। त्यो घाउ बढेर सर्दै छालाबाट बोसो, बोसोबाट मासु र मासुमा सर्दै गएर जटिलता निम्तिने जोखिममा पुगेको थियो। यस्तो समस्याको बेलैमा सही औषधि उपचार नभएको खण्डमा खुट्टै काट्नुपर्ने अवस्था समेत निम्तिन सक्छ।

त्यो घाउ के कारणले भएको हो भन्ने एकिन पत्ता लगाएर औषधि उपचार गर्नका लागि ती महिलाको थप स्वास्थ्य परीक्षण गर्न आवश्यक देखियो। त्यसैले उनले ती महिलाको खुट्टाको घाउको पिप निकालेर जाँच गर्नुपर्ने सल्लाह दिए। के कारणले घाउ भएको हो भन्ने पत्ता नलगाई औषधि प्रयोग गर्दा स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ भन्ने विषयमा पनि उनले राम्रोसँग सम्झाए।

तर, उनले जति सम्झाएपछि ती महिला स्वास्थ्य परीक्षण गर्न राजी भइनन्। र, ती महिलाले भनिन्, ‘डाक्टरसाप मलाई औषधि मात्रै लेखिदिनु न।’ ती महिलाले औषधि मात्रै लेखिदिनुन भनेपछि फेरि उनले ‘मैले बुझाउन सकिँन की! भन्दै सम्झाए। 

त्यसरी सम्झाउँदा ती महिलाले त उल्टै डा. कुमारलाई ‘हैन डाक्टरसाप, तपाईँहरूको यो खेल हामीलाई सबै थाहा छ। अनावश्यक जाँच गराएर तपाईँहरूलाई कति पैसा कमिशन आउँछ?’ भन्दै प्रश्न गरिन्। 

ती महिलाले त्यसो भन्दा डा. कुमारको मन अलि चिसो भयो। तर, उनलाई चिन्ता के लाग्यो भने ‘यि महिलाले थप स्वास्थ्य परीक्षण गरिनन् भने स्वास्थ्य जटिलता निम्तिएर ज्यानै पनि जानसक्छ।’ 

त्यसैले उनले ती महिलालाई सम्झाउँदै ‘यदि तपाईँलाई यो डाक्टरले कमिशनका लागि जाँच गर्न लगायो भन्ने लाग्छ भने म निःशुल्क जाँच गराइदिन्छु’ भने। 

राम्रोसँग सम्झाएपछि भने बल्ल ती महिला थप स्वास्थ्य परीक्षण गर्न तयार भइन्। स्वास्थ्य परीक्षण गरेको केही बेरमा रिपोर्ट आयो। सुगरको समस्याका कारण ती महिलालाई त्यो घाउ फैलिँदै गएको थाहा भयो। अनि डा. कुमारले त्यही अनुसारले औषधि उपचार सुरू गरे। त्यसपछि ती महिलाले गल्ती महसुस गर्दै माफी पनि मागिन्। डा. कुमारले ती महिलालाई औषधि लेखाइदिए। त्यसपछि ती महिला औषधि लिएर घर फर्किइन्। 

उनले मीठो कुराकानी गरेर ती महिलालाई सम्झाउन सकेकै कारण ती महिलाले सही औषधि उपचार पाउन सफल भइन्।

सम्झाउनै कठिन
चिकित्सकीय शास्त्रको अध्ययनको ज्ञान अनुसार छालामा करिब तीन हजार तीन सय रोग हुने डा. कुमारले सुनाए। छालाजन्य रोग सामान्यदेखि जटिल समेत हुन्छन्।

जुनसुकै अंगमा, जुनसुकै रोगको समस्या भएपनि त्यो रोगको कुनै न कुनै संकेत छालामा देखापर्ने डा. कुमार बताउँछन्। उनले उदाहरण दिँदै शरीरमा मधुमेह भएको खण्डमा छालामा त्यसको लक्षण देखिने बताए। त्यसैले व्यक्तिको छालामा भएको कुनै रोगको संकेतको आधारमा समेत शरीरका भित्री अंगमा भएको रोगको पहिचान गर्न सकिने उनको अनुभव छ।

शरीरमा समस्या भएको खण्डमा छालामा सामान्यदेखि जटिल किसिमका एलर्जी देखिनसक्ने डा. कुमारले अनुभव सुनाए। तर, धेरै व्यक्तिलाई शरीरमा हुने विभिन्न रोगको समस्याका कारण छालामा समस्या देखिन्छ भनेर बुझाउन कठिन हुने गरेको उनको अनुभव छ।

स्वास्थ्य परीक्षण गर्नुपर्ने सल्लाह दिँदा कतिपय बिरामीले भने ‘यति छालाको समस्यामा पनि नानाथरी जाँच गर्नुपर्छ र! मलम दिनु न भइहाल्छ नी’ भन्दै स्वास्थ्य परीक्षण गर्नै नमान्ने गरेको डा. कुमारले अनुभव सुनाए। 

शरीरमा गम्भीर प्रकृतिको रोग भएको संकेत छालामा देखिँदा समेत बिरामीले हल्का रुपमा लिएर स्वास्थ्य परीक्षण गर्न नमान्दा भने बिरामीको ज्यान जान सक्नेप्रति उनी चिन्तित हुन्छन्। त्यसरी हल्का रुपमा लिने बिरामी तथा बिरामी पक्षलाई रोगको लक्षणको प्रकृतिको गाम्भीर्यताको बारेमा सम्झाई-बुझाई गर्ने प्रयास गर्छन्, उनी।

कतिपय बिरामीले त डाक्टरले पैसा कमाउनका लागि थप जाँच गर्न लगाउँछन् भन्ने पनि सोच्ने गरेको उनले अनुभव सुनाए। कतिपय बिरामीले बेलाबेलामा ‘छालाको रोगमा यत्रो जाँच किन गर्नुपर्यो? तपाईँहरूलाई यो जाँच गराएबापत् कमिशन आउँछ होला अनि त जाँच्न लगाउनु भएको होला हैन?’ भन्दै प्रश्न समेत गर्ने गरेको उनी सम्झन्छन्। 

एकिन रोग पत्ता लगाउने कोशिशस्वरूप स्वास्थ्य परीक्षण गर्न सल्लाह दिँदा जँचाएबापत् कति कमिशन पाउनुहुन्छ भन्दै प्रश्न गर्दा उनको पनि मन कटक्क हुन्छ। 

अन्त उपचार गरेपछि निको नभएर अस्पतालमा पुग्दा...    
औषधि पसल तथा क्लिनिकमा औषधि उपचार गर्दागर्दा ठिक नभएपछि दुःख पाएर पनि कयौं बिरामी उनीकहाँ उपचार गर्न पुग्छन्। कतिपय  क्लिनिक तथा औषधि पसलेहरूले सिटी, एमआरआई, भिडियो एक्स–रे  लगायतका जाँच गर्नुपर्ने तर ती जाँच आफूकहाँ नभएको भन्दै ठूला अस्पतालमा पठाउँछन्। निम्न आयस्तर भएका व्यक्तिको त्यो बेलासम्ममा धेरै पैसा सकिसकेको हुन्छ। 

पैसा सकिएर धेरै दुःख पाएपछि बिरामी अस्पतालमा पुग्छन्। स्वास्थ्य परीक्षण गरी समस्या पहिचानपश्चात् कतिपय रोग सामान्य औषधिले नै ठिक हुन्छ। तर, बिरामी भने ‘यो औषधिले मात्रै त हुँदैन होला  डाक्टरसाप, औषधि पसलमा यति धेरै औषधि खाएको त ठिक भएन’ भन्ने गर्छन्। 

यसरी दुःख पाएका बिरामीमा थाहा नपाएर सिटी, एमआरआई, भिडियो एक्स–रेजस्ता जाँच नै गर्नुपर्छ अनि मात्रै ठिक हुन्छ होला भन्ने बुझाई हुन्छ। त्यसैले सामान्य औषधि उपचारपछि पनि ठिक हुने रोगको समस्याका लागि बिरामीहरु क्लिनिक तथा औषधि पसलले भनेको आधारमा सिटी स्क्यान, एमआरआई, भिडियो एक्स–रे नै गरिदिन अनुरोध मात्रै गर्दैनन्, यो जाँच नगरी कसरी ठिक हुन्छ? भन्ने प्रश्न समेत गर्छन्।

अढाइ वर्षको हुँदा बुवाको निधन, डाक्टर बन्ने सपना
कुमार पोख्रेल २०२९ मा दाङ बिजौरीमा जन्मिएका हुन्। कुमार साढे दुई वर्षको हुँदा उनका बुवाले संसार छाडे। त्यसपछि दिदी र उनलाई लालन-पालन र पढाइका लगायतको सबै जिम्मेवारी उनकी आमाको काँधमा आयो। उनले तीन कक्षासम्म स्थानीय विद्यालयमा पढे। गाउँ अनुसार उनको पढाइ राम्रो नै थियो। 

तीन कक्षापछि कुमारलाई उनका मामाले काठमाडौं ल्याएर पढाउन थाले। काठमाडौंमा ल्याएर एउटा बोर्डिङमा चार कक्षामा भर्ना गरिदिए। तर, अंग्रेजी कठिन भएका कारण उनी तीन कक्षामा झरेर पढे। तीनमा पनि गाह्रो भयो। त्यसैले दुई कक्षामा पढ्न थाले। उनी उत्तीर्ण हुँदै चारमा पुगे। चार कक्षादेखि भने उनी सिद्धार्थ वनस्थली स्कुलमा पढ्न थाले। उनको अध्ययन तिखारिँदै गयो। परीक्षाको नतिजामा उनी प्रथम, दृतीय नै हुन थाले। कुमारले प्रथम श्रेणीका साथ सिद्धार्थ बनस्थली विद्यालयबाटै २०४६ मा एसएलसी गरे। 

एसएलसीपछि आइएस्सी अध्ययनका लागि उनी अस्कल क्याम्पसमा भर्ना भए। तर, त्यो बेला २०४६ को आन्दोलनका कारण पढाई हुन सकेन। त्यसैले उनी साथीहरूसँग भारतको दिल्ली पुगेर प्लस टु पढे। उनले प्लसटु पनि प्रथम श्रेणीमा नै उत्तीर्ण गरे। प्लस टु पछि कुमार नेपाल फर्किएर त्रिचन्द्र कलेजमा बीएस्सी अध्ययनका लागि भर्ना भए। तर, कुमारलाई भने डाक्टर बन्ने रहर थियो।

बङ्गलादेशमा मरिने डरले युक्रेनमा एमबीबीएस
डाक्टर बन्ने रहरले कुमारले बीएस्सी पढ्दै एमबीबीएस अध्ययनका लागि तयारी पनि गरिरहेका थिए। नभन्दै उनले सरकारी छात्रवृत्ति कोटामा बङ्गलादेशमा एमबीबीएस अध्ययन गर्न जाने मौका पाए। तर, बंगलादेशमा त्यो बेला चर्को आन्दोलन तथा हड्तालको अवस्था थियो। कलेज कलेजमा आन्दोलन चर्किएको थियो। गोली चल्थ्यो। आन्दोलनमा परेर कतिखेर मरिने हो भन्ने ठेगान नै नहुने अवस्था थियो। कुमारलाई पनि मरिने हो की भन्ने डर लाग्यो। त्यसैले बंगलादेश गएको केही महिनामा नै एमबीबीएस अध्ययन छोडेर उनी नेपाल फर्किए।

त्यो बेला विदेशमा पनि सीमित ठाउँमा मात्रै डाक्टरी विषय पढ्न पाइन्थ्यो। त्यसैले बंगलादेशबाट नेपाल फर्किएपछि अब कता पढ्ने भनेर उनी भौतारिए। नेपाल फर्किएपछि कुमारले साथीभाइसँग एमबीबीएस पढ्न कहाँ जाने भन्नेबारे छलफल गरे। साथीभाइको सरसल्लाहपछि हालको युक्रेनमा एमबीबीएस पढ्न जाने निर्णय भयो। 

नभन्दै युक्रेनमा पढ्न जाने अवसर पनि मिलिहाल्यो। कुमार साथीहरूसँग सन् १९९५ मा एमबीबीएस अध्ययनका लागि रसियाको हालको युक्रेनमा पुगे। एक वर्ष रसियन भाषा अनि ६ वर्ष डाक्टरी विषय ओढेसा स्टेट मेडिकल युनिभर्सिटीमा अध्ययन गरेर उनी सन् २००२ मा नेपाल फर्के। त्यो कोर्सलाई रसियामा एमडीको मान्यता दिए पनि नेपालमा भने एमबीबीएसको मान्यता पाइन्छ।

छाला, यौन तथा कुष्ठरोग विषयमा एमडी, मेडिकल कलेजमा जागिर
नेपाल फर्किएपछि डा. कुमारले काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल (प्रसूति गृह) मा मेडिकल अधिकृतका रुपमा करिब एक वर्ष करार जागिरे भएर काम गरे। एमबीबीएस अध्ययन गरिसकेपछि एक वर्ष काम गरिसकेपछि मात्रै चिकित्सा शास्त्रको स्नातकोत्तर तहको अध्ययन गर्न पाइन्थ्यो। त्यहाँ उनले नवजात शिशुको उपचार गरिने एनआइसियु वार्डमा काम गरे।

प्रसूति गृहपछि उनले गैह्र-सरकारी संस्थाको आर्थिक सहयोगमा चलेको इन्टिग्रेटेड म्यानेजमेन्ट अफ चाइल्डहुड इलनेश (आइएमसिआई) नामक नेपाल सरकारको कार्यक्रममा काम गरे। जुन कार्यक्रम अन्तर्गत करिब २८ जिल्लाका स्वास्थ्य संस्थामा पुगेर झाडापखालालगायत स्वास्थ्य समस्या भएका बालबालिकाको आकस्मिक रुपमा उपचार व्यवस्थापनका बारेमा स्वास्थ्यकर्मीलाई सिकाउनु पर्ने थियो। त्यहाँ उनको राम्रो तलब भत्ताको सुविधा थियो। त्यो कार्यक्रममा करिब दुई वर्ष काम गरेपछि थप अध्ययन गर्ने उद्देश्यले उनले जागिर छाडे।

जागिर छोडेपछि उनले चिकित्सा शास्त्रको स्नातकोत्तर तहको अध्ययनका लागि सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छनोट परीक्षा दिए। तर, त्यहाँ उनले चाहेको विषय पढ्न पाएनन्। त्यसैले उनले धरानमा पढेनन्।

त्यसपछि डा. कुमारले त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गतको महाराजगञ्ज चिकित्सा क्याम्पसमा चिकित्सा शास्त्रको स्नातकोत्तर तहको अध्ययनका लागि छनोट परीक्षा दिए। छनोट परीक्षामा उनी सफल भए। उनी महाराजगञ्ज चिकित्सा क्याम्पसमा स्नातकोत्तर तहको छाला, यौन तथा कुष्ठरोग विषयमा एमडी अध्ययनका लागि सन् २००६ मा भर्ना भए। सन् २००९ मा उनको एमडी अध्ययन पूरा भयो।

एमडी अध्ययनसक्नासाथ डा. कुमार नेपालगञ्ज मेडिकल कलेजमा काम गर्न पुगे। करिब १४ वर्षदेखि उनी त्यहीँ कार्यरत छन्। 

साउन ११, २०८१ शनिबार १८:०६:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।