'म शेरबहादुर दाइकोमा गएको छैन : राष्ट्रिय सभा अध्यक्ष

'म शेरबहादुर दाइकोमा गएको छैन : राष्ट्रिय सभा अध्यक्ष

काठमाडौँ : राष्ट्रिय सभामा अध्यक्ष नारायण दाहालले एमाले र माओवादी केन्द्रबीच सत्ता गठबन्धनमा खटपट भएपछि आफूले नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवालाई भेट्न नगएको दाबी गरे।

युएनडिपीको सहयोग रकम जुटाएर संसद् हेर्ने पत्रकारहरूलाई सुशासन सिकाउन आवासीय सुविधासहित धुलिखेल लगेका उनले अचेत अवस्थामा गल्ती भए मात्रै नत्र निष्पक्षतामा आफूबाट गल्ती नहुने दाबी समेत गरे।

गठबन्धनमा समस्या देखिएपछि कांग्रेस-माओवादी मिलाएर सरकार बनाउन कांग्रेस सभापति देउवा भेट्न गएको भनेर समाचार आएपछि आफ्नो सचिवालयले खण्डन गरेको भन्दै उनले धुलिखेलको हिमालय रिसोर्टमा १८ गते काम विशेषले आफू बालुवाटार जाँदा एमाले अध्यक्ष केपी ओली आएर तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर छलफल गरेकोसम्म थाहा भएको बताए।

'अहिलेका प्रधानमन्त्री केपी ओलीजी आउनु भएको थियो। प्रचण्डसँगको छलफलमा उहाँले केही पनि हैन, भरे तीन दलको नेता बस्नुपर्छ भनेको सुनेको थिए,' उनले भने' त्यसपछि उहाँ(प्रचण्ड) ले शेरबहादुर देउवासँग टेलिफोनमा कुरा गर्दा अँ भइसक्यो भनेको सुनेको हो। त्यति हो कुरा।'

संसदीय समितिको खाजा गैर सरकारी संस्थाले खुवाएकोमा आलोचना भएको थियो। शुक्रवार संसदीय गतिविधि हेर्ने पत्रकारहरू राष्ट्रिय सभाका अध्यक्ष दाहालको संयोजनमा युएनडिपीको आर्थिक सहयोगमा सुशासनको तालिम लिन धुलिखेल गएका छन्।

दाहाल नातामा प्रचण्डका भाइ समेत हुन्। उनलाई राष्ट्रिय सभा अध्यक्ष बनाउन प्रचण्डले कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग गठबन्धन गरेका थिए। एमालेले सो गठबन्धन तोडेर कांग्रेससँग मिलेर सरकार बनाइसक्यो।

साउन ११, २०८१ शनिबार १८:०५:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।