'पूर्वाधार विकासमा आजको भोलि केही भइहाल्दैन, सीमित स्रोतभित्र सतप्रतिशत काम गर्नुपर्छ'

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले चिकित्सकीय जनशक्ति आजै उत्पादन गरेर बढाउन सक्ने स्थिति नरहेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित वीर अस्पतालको १३५ औं वार्षिकोत्सवका अवसरमा कार्यक्रममा बोल्दै उनले सिमित चिकित्सकीय शक्ति, सीमित भौतिक पूर्वाधार, सीमित स्रोतकाबीचमा प्रभावकारी सेवा प्रदान गर्नुपर्ने बाध्यता रहेको बताए।
उनले भने, ‘देश आर्थिक हिसाबले समस्यामा छ। स्रोत बढाउन सक्ने अवस्था छैन। सीमित स्रोतभित्र सतप्रतिशत परिणाम प्राप्त गर्नेगरी काम गर्नुपर्ने स्थिति छ। पूर्वाधार विकासमा आजको भोलि नै केही भइहाल्दैन। दीर्घकालिन योजना अनुसार विस्तारै काम हुन्छ। तर, सेवाको प्रभावकारिता भने बढाउनुपर्ने हाम्रो बाध्यता छ। चिकित्सकीय जनशक्ति आजै उत्पादन गरेर बढाइहाल्न सक्ने अवस्था छैन।’
उनले वीर अस्पतालभित्रको सबै इकाइहरुको समन्वय र एकीकृत स्वास्थ्य प्रणाली विकासमा जरुरी रहेको औंल्याए।
उनले भने, ‘वीर अस्पतालभित्रको सबै इकाइहरुको समन्वय हुन जरुरी छ। एकीकृत स्वास्थ्य प्रणाली विकास गर्न जरुरी छ। व्यवस्थापन पक्षमा जेजे सुधार गर्नुपर्ने हो सबै सुधार गर्न सकिरहेको छैनौं।’
व्यवस्थापकीय पक्षमा सुधार गर्न सकेमा भइरहेको साधन र स्रोतभित्र रहेर पनि राम्रो परिणाम दिन सकिने उनको विश्वास छ।
उनले अस्पतालको इमर्जेन्सी सेवामा नागरिकको गुनासो रहेको भन्दै सबैले नागरिकको गुनासो सम्बोधन गर्नुपर्ने बताए। स्वास्थ्यकर्मीलाई काम गर्नका लागि सुरक्षित वातावरण निर्माणमा लागिपर्ने उनको जिकिर छ।
स्वास्थ्य क्षेत्रमा आवश्यकता अनुसार दरबन्दी सिर्जना गर्नकासाथै सेवा सुविधा विस्तार गर्ने उनको भनाइ छ।
साउन १२, २०८१ शनिबार १७:०८:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।