२० करोड लगानीमा बन्यो भेडेटारको स्काईवाक, टिकट ५०० रूपैयाँ

२० करोड लगानीमा बन्यो भेडेटारको स्काईवाक, टिकट ५०० रूपैयाँ

काठमाडौं : धनकुटाको भेडेटारमा निर्माण भएको स्काईवाक सञ्चालनमा आएको छ। 

एक पटकमा २ सय जना हिँड्न सकिने ५० मिटर लम्बाइ रहेको स्काईवाकको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले उद्घाटन गरेपछि सर्वसाधारणका लागि खुला गरिएको छ। 

कोशी प्रदेश लगानी प्राधिकरण, धनकुटाको साँगुरीगढी गाउँपालिका र सुनसरीको धरान उपमहानगरपालिकाको समन्वयमा उक्त स्काईवाक निर्माण गरिएको हो।

चार वर्ष पहिले सम्झौता भई निर्माण थालिएको स्काईवाकको उचाइ भने १ सय, चौडाइ ४ मिटर र घुम्तीमा १० मिटरको रहेको छ।

अहिलेलाई टिकटका लागि ५०० रुपैयाँ तोकिएको छ। बच्चाहरूलाई उचाइको आधारमा शुल्क तोकिएको छ। ७५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई शुल्क लाग्दैन। अपांगलाई ५० प्रतिशत छुटको व्यवस्था छ। 

गर्मीमा तराईबाट भेडेटार जाने पर्यटकहरूको संख्या उल्लेख्य हुन्छ। चुरे पहाडमा अवस्थित भेडेटार आसपासबाट हिमाल, पहाड र तराईको दृष्य एकैसाथ हेर्न पाइन्छ। 

२० कारोड लगानीमा निर्माण भएको स्काईवाक २५ वर्षसम्म सञ्चालन गर्ने बताइएको छ।

साउन ११, २०८१ शनिबार १४:४१:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।