बढ्दै प्रकृतिका कुचिकार

बढ्दै प्रकृतिका कुचिकार

बुटवल : मानवीय गतिविधि र सिनोमा हुने विषादीका कारण ह्वात्तै घटेको लोपोन्मुख गिद्धको संख्या पछिल्ला केही वर्षमा बढ्दै गएको छ।

देशमा पछिल्लो समय गिद्धको संख्याबारे आधिकारिक तथ्यांक नभए पनि राजमार्गमा हुने सर्वेक्षणले गिद्धको संख्या बढेको देखिएको गिद्ध विज्ञ कृष्ण भुसाल बताउँछन्। तीन सय किलोमिटर प्रति घण्टासम्मको गतिमा उड्ने गिद्ध पहिलेको तुलनामा अहिले केही बढेको उनको भनाइ छ।

‘पशुहरूको उपचारमा प्रयोग गरिने डाइक्लोफेनेक नामक औषधिका कारण गिद्धहरू मर्दै गएका थिए। ०६३ सालमा सरकारले यसलाई प्रतिबद्ध लगाएपछि गिद्धहरूको संख्या बढ्दै गएको हो।’

डाइक्लोफेनेकको विषादी प्रयोग गरेका पशु मरेपछि गिद्धले खाँदा उसको मृगौला सुन्निएर मर्ने गरेको तथ्य पत्ता लागेपछि सो औषधिको बिक्रीमा प्रतिबन्ध लगाइएको हो। सो औषधिमा प्रतिबन्ध लागेपछि गिद्धलाई बाँच्नका लागि वातावरण मिलेको भुसाल बताउँछन्।

नेपाल पंक्षी संरक्षण संघले राजमार्ग सर्वेक्षण गरेर प्रत्येक वर्ष राजमार्ग वरपर गिद्धको तथ्याङ्क भने संकलन गर्दै आएको छ।

सन् २०२२ मा मध्य पहाडमा २५३ र तराई क्षेत्रमा २५२ गिद्ध भेटिँदा सन् २०२३ मा गरेको राजमार्ग सर्वेक्षण अनुसार ३८५ भेटिएका थिए। जसमध्ये मध्य पहाडमा डंगर गिद्ध ६८, सानो खैरो ५, हिमाली ७९, सेता १३, सुन गिद्ध १७, हाडखोर गिद्ध ४ वटा फेला परेका थिए।

त्यस्तै तराई क्षेत्रमा डंगर १७४, सानो खैरो ७ वटा, हिमाली गिद्ध १३ वटा, सेता गिद्ध १ वटा, सुन गिद्ध २ वटा, राज गिद्ध २ वटा फेला परेका थिए। राज गिद्ध मंगोलियाबाट बसाईसराई गरी जाडोमा आउने गर्दछ।

नेपाल पंक्षी संरक्षण संघ बुटवल फिल्ड कार्यालयका परियोजना अधिकृत दिलिप चन्द ठकुरीले राजमार्गमा गरिएको सर्वेक्षण अनुसार सन् २०२४ मा गरिएको राजमार्ग सर्वेक्षण अनुसार ७८२ वटा गिद्ध फेला परेको बताए। जस मध्ये मध्य पहाडमा ५६३ वटा, पूर्व पश्चिम राजमार्ग २१९ वटा रहेका थिए ।

मध्य पहाडि क्षेत्रमा डंगर गिद्ध १४२, सानो खैरो गिद्ध १, हिमाली गिद्ध ३३२, सेता गिद्ध ४०, सुन गिद्ध ३९ वटा, हाडखोर गिद्ध ९ वटा फेला परेको उनले बताए । त्यस्तै महेन्द्र राजमार्गमा गरिएको सर्वेक्षणमा डंगर गिद्ध १९६, सानो खैरो गिद्ध ३, हिमाली १७, सेतो गिद्ध १, सुन गिद्ध २ वटा फेला परेका छन्।

संघले सन् २०२३ मा तराईको नारायणगढ बाट गड्डाचौकी सम्म पुगेर सर्वेक्षण गरिएको थियो। मध्य पहाडमा भने डडेलधुरा हुँदै अक्षाम, सुर्खेत, रुकुम, दाङश, रोल्पा, प्युठान, अर्घाखाँची, स्याङजा, पोखरा हुँदै मुग्लिन सम्म पुगेर सर्वेक्षण गरिएको थियो।

सन् २०२२ मा मेचीबाट महाकाली सम्मको तराईमा सर्वेक्षण गरिएको थियो। सन् २०२४ मा पनि काकडभित्तादेखि गड्डा चौकीसम्म पुगेर गिद्ध सर्वेक्षण गरिएको संघले जनाएको छ।

नेपाल पंक्षी संरक्षण संघ बुटवल फिल्ड कार्यालयका परियोजना अधिकृत दिलिप चन्द ठकुरीले सन् २०२४ मा गरिएको राजमार्ग सर्वेक्षण अनुसार ७८२ वटा गिद्ध फेला परेको बताए। जसमध्ये मध्य पहाडमा ५६३ वटा, पूर्व पश्चिम राजमार्ग २१९ वटा रहेका थिए।

मध्य पहाडी क्षेत्रमा डंगर गिद्ध १४२, सानो खैरो गिद्ध १, हिमाली गिद्ध ३३२, सेता गिद्ध ४०, सुन गिद्ध ३९ वटा, हाडखोर गिद्ध ९ वटा फेला परेको उनको भनाइ छ।

त्यस्तै महेन्द्र राजमार्गमा गरिएको सर्वेक्षणमा डंगर गिद्ध १९६, सानो खैरो गिद्ध ३, हिमाली १७, सेतो गिद्ध १, सुन गिद्ध २ वटा फेला परेका छन्।

गिद्ध एक सातासम्म पनि नखाई बस्न सक्ने प्राणी हो। नेपालमा नौ प्रजातिका गिद्ध पाइन्छन्। जसमध्ये छ प्रजातिका गिद्ध रैथाने नेपाली हुन्। उनीहरूले नेपालमै गुँड बनाउँछन् भने ३ प्रजातिका गिद्ध बाहिरबाट आउने गर्दछन्।

गिद्ध विज्ञ भुसालका अनुसार डंगर, सानो खैरो र सुन गिद्धले ठूला रुखहरूमा गुड लगाउँछ भने हिमाली, हाडखोर र सेतो गिद्धले पहरामा गुड लगाउने गर्दछ।

लामो ठुडे गिद्ध, राज गिद्धि र खैरे गिद्ध बाहिर बाट आउने गर्दछन्। गिद्धले स्वस्थ मानिसले भन्दा ८ गुणा बढी टाढासम्म देख्न सक्छ भने सुङ्ग्ने  क्षमता पनि बढी हुने हुन्छ।

एउटा गिद्धले न्यूनतम पनि एक वर्षमा १५० केजी सिनो खान्छ। अफ्रिका गरिएको एक अध्ययन अनुसार एउटा गिद्धले करिव ११ हजार अमेरिकी डलर मूल्य बराबरको सिनो सफाइमा योगदान पुर्याएको थियो।

आहाराका लागि जटायु रेष्टुरेन्ट
नेपालमा गिद्धलाई आहार दिनकै लागि दाङमा दुई, रुपन्देही, नवलपरासी, कास्की र कैलालीमा एक/एक गरी छ वटा जटायु रेष्टुरेन्ट सञ्चालनमा छन्। रुपन्देहीको विष्णुपुरामा गैडहवा जटायु रेन्टुरेन्ट छ। त्यहाँ गिद्धहरू आहाराका लागि आउने गर्दछन्।

जटायु रेष्टुरेन्टमा भएका गाइगोरुको प्राकृतिक मृत्युपछि गिद्धलाई आहाराको रूपमा दिने गरिन्छ। गिद्धले मरेका जनावरको सिनो र फालेको मासुजन्य फोहोर खाइ वातावरणलाई प्रदूषित, दुर्गन्धित र रोगमुक्त बनाउने भएकाले यसलाई ‘प्रकृतिको कुचिकार’ भनिएको गिद्धविज्ञ कृष्ण भुसालको भनाइ छ।

‘गिद्धको विशेषता नै सिनोलाई कुशलतापूर्वक छिटो समयमै खानु हो। गिद्धले सिनोको करिब ९० प्रतिशत भाग खान सक्छ भने अन्यले सिनोको ४५ प्रतिशत मात्र खान सक्छ। यो अद्धुत क्षमता अन्य जनावरमा हुँदैन। त्यसैले प्रकृतिमा गिद्ध हुनु र नहुनुले ठुलो प्रभाव राख्छ’, गिद्ध विज्ञ भुसालले थपे।

उनले गिद्धको अभाव भएमा सिनो प्रकृतिमा लामो समय सम्म सड्ने र यसले संक्रमण फैलने बताए। साथै सिनो सड्न लामो समय लाग्ने र त्यस क्रममा सिनोबाट हरितगृह ग्याँस उत्सर्जन हुने उनले बताए।

‘गिद्धले सिनोबाट हुने जमिन, जल र वायु प्रदूषण पनि नियन्त्रण गर्छ। यति मात्र होइन गिद्धले सिनो खाइदिँदा थोरै मात्रामा भए पनि हरितगृह ग्याँस उत्सर्जनमा न्यूनीकरण हुने गर्छ, जसले जलवायु परिवर्तनलाई रोक्न टेवा पुराउँछ’, उनले भने।

नेपाल पंक्षी संरक्षण संघ बुटवल फिल्ड कार्यालयका परियोजना अधिकृत दिलिप चन्द ठकुरीले डाइक्लोफेनेक नामक औषधिको प्रयोग प्रतिबन्ध लगाइए पनि मिन्स सलाइड र पेटोप्रोफिम जस्ता औषधिबाट पनि गिद्धलाई खतरा रहेको बताए।

‘भारतमा यी औषधि प्रतिबन्ध भए पनि नेपालमा भने खुला छ। कतै फेरि यी औषधिले गिद्धको संख्या घटाउने हो कि भन्ने चिन्ता छ’, उनले भने।

औषधि ऐन २०३५ मा पशु उपचारका लागि डाइक्लोफेनेक उत्पादन, प्रयोग, बिक्री बितरण, आयात, निर्यात र भण्डार गरेमा ३ वर्ष कैद वा ५ हजार जरिवाना गर्न सकिने कानूनी व्यवस्था छ। तर, अनुगमन नहुँदा खुला सीमाबाट अवैध रुपमा डाइक्लोफेनेक भित्र्याएर बिक्री गर्ने गरिएको छ।

‘हामीले कतिपय भेटनरीमा हेर्दा यो औषधि देखेका पनि छौँ। यसलाई पूर्ण प्रतिबन्ध कार्यान्वयनमा ल्याउन सरोकारवाला लाग्नुपर्छ’, उनले भने।

प्रकृतिलाई सफा गर्ने भएकाले प्रकृतिको साथीको रूपमा गिद्धलाई संरक्षण गर्नुपर्ने उनले बताए। साथै विद्युतबाट करेन्ट लागेर पनि गिद्धहरू मर्ने गरेको भन्दै विद्युत्लाई पनि व्यवस्थित गर्नुपर्ने उनले बताए।

‘ठूलो चरा भएकाले करेन्ट लागेर पनि अकालमा गिद्ध मरेका छन्। त्यस बाहेक ठूला रुखहरू काटेर मासिदिँदा उनीहरूले बासस्थान स्थानान्तरण गर्न सक्छन्। यसलाई रोक्न सरोकारवाला सबै लाग्नुपर्छ’, उनले भने।

साउन ११, २०८१ शनिबार १४:१३:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।