लुम्बिनी केबलकारमा भदौसम्म मर्निङ अफर, हरेक सोमबार बिहान टिकटमा ५० प्रतिशत छुट

लुम्बिनी केबलकारमा भदौसम्म मर्निङ अफर, हरेक सोमबार बिहान टिकटमा ५० प्रतिशत छुट

बुटवल : लुम्बिनी केबलकारले साउन १४ देखि भदौ मसान्तसम्म सोमबार टिकट दर आधा सस्तो हुने गरी ‘मर्निङ अफर’ ल्याएको छ।

साउन १४ गतेदेखि भदौ मसान्तसम्मका ८ वटा सोमबारका दिन बिहान साढे ८ बजेदेखि १२ बजेसम्म टिकट खरिदमा साधारण टिकट दरमा ५० प्रतिशत छुट सहित मर्निङ अफर ल्याइएको केबलकारका अपरेसन म्यानेजर डीएन कायस्थ सैंजूले जानकारी दिए।

केबलकारको साधारण टिकट दर एक हजार रुपैयाँ छ। यो अफर अनुसार पर्यटक र भक्तजनहरूले केबलकारको दुईतर्फी यात्राका लागि ५ सय रुपैयाँ मात्र तिर्नुपर्ने छ।

‘बिहान साढे ८ बजेदेखि १२ बजेसम्म टिकट खरिद गर्दा मात्र छुट अफर लागू हुन्छ तर टिकट लिएकाहरू १२ बजेदेखि साँझसम्म आफू अनुकूल समयमा केबलकार चढ्न पाउँछन्’, अपरेसन म्यानेजर कायस्थले भने।

सो बाहेक अन्य समयमा भने पुरानै टिकट दर कायम गरिएको छ। यो अफरले आम सर्वसाधारणलाई सस्तो शुल्कमा केबलकार यात्रा तथा प्रख्यात शक्ति पीठ कामाख्या मन्दिर र सय वर्षदेखि पूजाआजा हुँदै आएको दुर्गा माता मन्दिर दर्शन तथा साउनभर जलार्पण गर्ने अवसर मिल्ने कम्पनीले जनाएको छ।

साउन महिनामा वसन्तपुरको टप स्टेसनमा महादेव शिवलाई जलार्पण गर्ने व्यवस्थासमेत रहेको कम्पनीले जनाएको छ। मर्निङ अफर भारतीय पर्यटकमा पनि लागु हुने र उनीहरूले ५ सय रुपैयाँ भारुमा टिकट खरिद गर्न सक्ने छन्।

केबलकारको टप स्टेशनमा बनेको कामाख्या देवीको मन्दिर र सय वर्षदेखि पूजाआजा हुँदै आएको दुर्गा माता मन्दिर हिन्दु धर्मावलम्बीहरूका लागि विशिष्ट आकर्षण बनेको छ। मन्दिरको दर्शन गर्न भारतको उत्तर प्रदेशका विभिन्न शहरबाट समेत उल्लेख्य मात्रामा पर्यटकहरू आउने संख्या बढ्दो क्रममा रहेको म्यानेजर  प्रज्वल घिमिरेले बताए।

टप स्टेशनमा जिपलाइन, स्काइ साइक्लिङ, आधुनिक पिङ, बाल उद्यान, वर पिपल चौपारी, पोखरी लगायतका धार्मिक संरचनाहरू रहेका छन्। केबलकारले प्रत्येक टिकट शुल्कको २ प्रतिशत रकम सेवा शुल्कबापत बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकालाई दिँदै आएको छ।

साउन ११, २०८१ शनिबार १२:४०:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।