कांग्रेसलाई केही व्यक्तिले बदनाम गरे, पार्टी सिद्धान्तविहीन भयो : सुजाता कोइराला

कांग्रेसलाई केही व्यक्तिले बदनाम गरे, पार्टी सिद्धान्तविहीन भयो : सुजाता कोइराला

काठमाडौं : नेपाली कांग्रेसकी नेतृ एवं पूर्वमन्त्री सुजाता कोइरालाले कांग्रेसलाई एक तहका नेता तथा कार्यकताहरूले बद्नाम गरिरहेको टिप्पणी गरेकी छिन्।

कांग्रेस अहिले सिद्धान्तविहीन जस्तै भएको भन्दै वीपी कोइरालाको सिद्धान्त आत्मसाथ गरेमात्र संगठन जोगाउन सकिने पनि बताइन्।

शनिबार काठमाडौंमा आयोजित ४२औं वीपी स्मृति सप्ताहका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ कोइरालाले पुर्खाहरूले संघर्ष गरेर जन्माएको पार्टीलाई एक तहका मानिसहरूले बद्नाम गर्न खोजिरहेकाले यसमा सजग हुनुपर्ने धारणा राखिन्।

‘गणेशमान सिंह, सुवर्णशमशेर, किशुनजी जस्ता नेताहरूले जन्माएर गर्भिलो इतिहास बनाएको कांग्रेसलाई एक तहका मान्छेहरूले बद्नाम गर्न खोजिरहेका छन्,’ उनले भनिन्, ‘कांग्रेस आज सिद्धान्तविहीन भएको छ। पार्टी बचाउन ढिला भइसकेको छ।’

सिद्धान्तविना राजीतिक पार्टी बाँच्न नसक्ने बताएकी कोइरालाले कांग्रेस अहिले त्यही अवस्थामा पुगेको बताइन्। डा. शेखर कोइरालाले वीपीको सिद्धान्तलाई आत्मसाथ गरिरहेको उल्लेख गर्दै उनले सबैले उनलाई समर्थन गर्नुपर्ने बताइन्।

‘वीपीले परिकल्पना गर्नुभएको राष्ट्रियता, प्रजातन्त्र, समाजवाद केही पनि नरहेको अवस्थामा शेखरले केही हदसम्म त्यो प्रयास गर्नुभएको छ’, उनको भनाइ थियो।

केही दिनअघि मात्र नेतृ कोइराला विशालनगरस्थित डा.शेखरको सचिवालयमा पुगेर भावी सभापतिका रुपमा डा.शेखरलाई अघि बढाउनुपर्ने बताएकी थिइन्।

साउन ११, २०८१ शनिबार १२:२९:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।