तिनाउ नदीमा पौडी खेल्ने क्रममा एक बालकको मृत्यु, अर्का एक बेपत्ता

तिनाउ नदीमा पौडी खेल्ने क्रममा एक बालकको मृत्यु, अर्का एक बेपत्ता
फाइल तस्बिर

बुटवल : बुटवलको तिनाउ नदीमा पौडी खेल्ने क्रममा एक जनाको मृत्यु भएको छ। एक जना बेपत्ता भएका छन्।

बुटवल-११ बुद्धनगरमा बागलुङको बरेङ गाउँपालिका-४ घर भई बुद्धनगर बस्ने १२ वर्षका विवश खत्री र रूपन्देहीको सैनामैना नगरपालिकाका-८ वर्षका विप्रन पाण्डेलाई तिनाउले शुक्रबार साँझ बगाएको थियो।

विवसको शव फेला परे पनि पाण्डेको अवस्था भने अझै पत्ता लागेको छैन। 

तिनाउ नदीमा पौडी खेल्न गएका तीन जनामध्ये दुई जनालाई नदीले बगाएको देखेपछि सँगै गएका अर्का बालकले आफन्तलाई खबर गरेका थिए।

तिनाउ नदीमा बगेका दुवै बालक दिदीबहिनीका छोराहरू भएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता मनोहर भट्टले बेपत्ता पाण्डेको खोजी भइरहेको बताए।

साउन ११, २०८१ शनिबार ०८:१०:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।