बङ्गलादेशलाई हराउँदै भारत महिला एसिया कपको फाइनलमा

बङ्गलादेशलाई हराउँदै भारत महिला एसिया कपको फाइनलमा

काठमाडौँ : भारतले बङ्गलादेशलाई १० विकेटले पराजित गर्दै महिला एसिया कप २०२४ को फाइनलमा प्रवेश गरेको छ।  

टस जितेर पहिले ब्याटिङ गरेको बङ्गलादेशले २० ओभरमा ८ विकेट गुमाएर ८० रन मात्र बनाएको थियो।  ८१ रनको जवाफमा भारतीय ओपनरहरूले लक्ष्य ११ ओभरमा पूरा गर्दै नवौँ पटक महिला एसिया कपको फाइनलमा पुगेका हुन्। उत्कृष्ट बलिङका लागि रेणुका सिंह ठाकुर प्लेयर अफ द म्याच घोषित भइन्। 

बङ्गलादेशकी कप्तान निगार सुल्तानाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेकी थिइन्। बङ्गलादेशलाई सुरुदेखि नै भारतीय बलरले ठुलो धक्का दिएका थिए। फास्ट बलर रेनुका सिंह ठाकुरले बङ्गलादेशको टप अर्डरलाई लगातार पेभिलियन पठाए र टोलीको स्कोर २१÷३ मा पुर्याइन्। 

त्यसपछि भारतीय स्पिनरहरूले आफ्नो क्षमता देखाउँदै बङ्गलादेशी ब्याट्सम्यानलाई हाबी हुन दिएनन्। आफ्नो टोलीका लागि कप्तान निगार सुल्तानाले सर्वाधिक ३२ रन बनाएकी थिइन् भने शोर्ना अख्तरले १९ रनको अविजित इनिङ्स खेल्दै टोलीलाई ८० रनमा पुर्याएकी थिइन्।  

भारतका लागि रेणुका सिंह ठाकुर र राधा यादवले ३–३ विकेट लिए भने पूजा वस्त्रकार र दीप्ति शर्माले १–१ विकेट लिए। भारतलाई फाइनलमा पुग्न ८१ रनको लक्ष्य थियो। ओपनिङमा आएका स्मृति मन्धाना र शेफाली वर्माले ११ ओभरमा लक्ष्य पूरा गर्दै बंगलादेशसँगको ६ वर्ष पुरानो हिसाब बराबर गरिन्। 

एसिया कप २०१८ को फाइनलमा बङ्गलादेशले भारतीय टोलीलाई हराएको थियो। एसिया कपको नकआउट खेलमा बङ्गलादेशलाई हराउँदै भारतीय टोलीले हिसाब बराबरी गरेको हो। 

भारतका लागि  स्मृति मन्धानाले ३९ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै ५५ रनको उत्कृष्ट अर्धशतकीय पारी खेलेकी थिइन् भने शेफाली वर्माले मात्र २ चौका सहित २६ रन बनाएकी थिइन्। दोस्रो सेमिफाइनल खेल आज आयोजक श्रीलङ्का र पाकिस्तानबिच हुनेछ। 

साउन १०, २०८१ शुक्रबार २२:०२:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।