परिवारको असन्तुष्टिकै बिच सौर्य विमान दुर्घटनामा मारिएकाको शव बुझाइयो

परिवारको असन्तुष्टिकै बिच सौर्य विमान दुर्घटनामा मारिएकाको शव बुझाइयो

काठमाडौँ : सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएका १८ जनामध्ये पाँच जनाको परिवारले शव बुझेका छन्। शुक्रवार विमान दुर्घटनामा मारिएकाका परिवारका सदस्यले क्षतिपूर्ति अनि बिमा रकम लगायतका विषयमा प्रस्ट नभई शव नबुझ्ने बताउँदै आएका थिए। तर आफन्तको असन्तुष्टिकैबीच अस्पतालले शव जिम्मा लगाएको हो।   

विमान दुर्घटनामा मारिएका एक बालकसहित १८ जनाकै पोस्टमार्टम शुक्रवार सकिएको थियो। पोस्टमार्टम सकिएसँगै शवको पहिचान समेत भए पनि आफन्तले शव बुझ्न मानेका थिएनन्।  

अहिलेसम्म को–पाइलट सुशान्त कटुवाल, इन्जिनियर उद्धव पुरी, अश्विन निरौलाको शव आफन्तले बुझेको अस्पतालले जनाएको छ। बाँकी केही आफन्तले भने बिमा रकम सुनिश्चितता लगायतको माग गर्दै शव बुझ्न अस्वीकार गरेका छन्। 

मर्मतका लागि पोखरा जान त्रिभुवन विमानस्थलबाट विमान उडे लगत्तै धावनमार्गको छेउमा घिसारिँदै विमान खाल्डोमा खसेको थियो। १९ जना रहेको विमानमा पाइलटको ज्यान जोगियो। उनी उपचारकैक्रममा रहेका छन्। 

मर्मतका लागि जाने विमानमा आवश्यक प्राविधिक मात्रै जानुपर्नेमा कर्मचारी र कर्मचारीको परिवारका सदस्यसहित उडेका थिए। उनीहरू विमानमा जाँदा सुरक्षा प्रणाली अनुसार बोर्डिङ पास नलिई सिधै विमान चढेको समेत खुलेको छ। 

विमान दुर्घटनाबारे छानबिन गर्न सरकारले आयोग गठन समेत गरिसकेको छ।  

साउन १०, २०८१ शुक्रबार २१:५४:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।