माओवादी अध्यक्ष प्रचण्डले पदाधिकारी बैठकमा भने : गठबन्धन बदलियो, अब जनतामा जानुपर्छ

माओवादी अध्यक्ष प्रचण्डले पदाधिकारी बैठकमा भने : गठबन्धन बदलियो, अब जनतामा जानुपर्छ

काठमाडौँ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता समीकरण बदलिएर प्रतिपक्षी बेन्चमा पुग्नुलाई जनतामा जाने ऐतिहासिक अवसरको रूपमा व्याख्या गरेका छन्। 

शुक्रवार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टी पदाधिकारी बैठकमा उनले सरकारको नेतृत्व गर्दा भ्रष्टाचारका विरुद्धमा सुशासनका पक्षमा, जनतालाई सेवा प्रवाह गर्ने कुरामा राम्रो पहलकदमी लिँदालिँदै सरकारबाट बाहिरिनु परेको कारण जनतासँगको टुटेको कडीलाई सुदृढ गर्ने ऐतिहासिक अवसर प्राप्त भएको तर्क गरेका थिए। 

पार्टी प्रवक्ता अग्नि सापकोटाका अनुसार उनले सरकारमा रहँदा भ्रष्टाचारका विरुद्धमा सुशासनका पक्षमा, जनतालाई सेवा प्रवाह गर्ने कुरामा निकै राम्रो पहलकदमी लिँदालिँदै समीकरण बदलिएको दाबी गरेका थिए। 

सरकारमा रहँदा कहीँ न कहीँ जनतासँगको कडी टुटेको र अब त्यसलाई सुदृढ गर्ने  ऐतिहासिक अवसर प्राप्त भएको उनले व्याख्या गरेका थिए। 

गत मंसिर ४ को निर्वाचनपछि गठबन्धन बदल्दै माओवादी निरन्तर सरकारमा थियो। निर्वाचन अगाडि पनि कांग्रेस नेतृत्वको सरकारमा माओवादी सहभागी थियो। निर्वाचनमा नेपाली कांग्रेससहितका दलहरूसँग गठबन्धन गरेर निर्वाचनमा सहभागी भएको माओवादीको पार्टी सङ्गठन निरन्तर खस्कँदै गएको छ भने हरेक निर्वाचनमा प्राप्त मत समेत खस्कँदै छ। 

गत निर्वाचनमा उसले राष्ट्रिय स्वतन्त्र पार्टी हाराहारीमा मत पाएको थियो। शुक्रवारको बैठकमा प्रचण्डले जनस्तरमा पार्टी सङ्गठन विस्तार लगायतका पक्षमा केन्द्रित हुन निर्देशन समेत दिएका थिए। 

शुक्रवारको बैठकमा उनीसँगै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्निप्रसाद सापकोटा, उपमहासचिव वर्षमान पुन, सचिव राम कार्की, हितराज पाण्डे र चक्रपाणि खनालले आफ्नो धारणा राखेका थिए। बैठक शनिवार समेत बस्नेछ। 

साउन १०, २०८१ शुक्रबार २१:३८:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।