पुनर्जन्म पाएको विमान : दुर्घटनामा परेर थन्किएको तारा एयरको विमानको रोचक क्यानडा यात्रा

पुनर्जन्म पाएको विमान : दुर्घटनामा परेर थन्किएको तारा एयरको विमानको रोचक क्यानडा यात्रा
तस्बिर : ट्विनेटरवर्ड डटकम

काठमाडौँ : यो कथा हो एउटा विमानको जुन नेपालमा दुर्घटनामा परेपछि बारीमा अलपत्र छाडियो। टुक्राटुक्रा बनाइयो। अहिले त्यही दुर्घटनाग्रस्त विमानले पुनर्जन्म पाएर विदेशी आकाशमा उडिरहेको छ। 

तारा एयरको रुपमा सञ्चालनमा रहेको विमानतत्कालीन शाही नेपाल वायुसेवा निगमले 9N-ABM नाममा दर्ता गरेको यो ट्विनअटर विमान २०३२ मा नेपाल आइपुगेको थियो। तर यसको यात्रा सुरु भएको थियो अमेरिकाबाट, जहाँ यो N302EH नामले चिनिन्थ्यो।

विमानले नेपालमा केही वर्ष उड्यो। तर २०६५ पुस ९ मा काठमाडौँमा धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेपछि विमान लामो समयसम्म प्रयोगविहीन अवस्थामा रह्यो।

करिब एक दशकपछि, २०६८ मा तारा एयरले यो विमानलाई नयाँ जीवन दिने प्रयास गर्यो। पूर्ण ओभरहल पश्चात्, विमानले २०६९ वैशाख २८ मा सफल परीक्षण उडान भर्यो।

सिमिकोटमा धावनमार्गबाट चिप्लिएर क्षतिग्रस्त भएको विमान।तर, विमानको दुर्भाग्य टरेको थिएन। २०७४ मंसिर १२ मा सिमिकोट विमानस्थलबाट उड्ने क्रममा यसले फेरि गम्भीर दुर्घटना भोग्यो। त्यो दुर्घटनापछि लगभग विमानको आयु समाप्त भए समान अवस्था भएको थियो। 

विमान सुर्खेतका लागि उड्नेक्रममा धावनमार्गमा चिप्लिएर दुर्घटनामा परेको थियो। विमानमा चालक दलका तीन सदस्य र १३ यात्रुसहित १६ जना थिए। विमानको अगाडिको भाग ठोक्किएकाले दुई पाइलटसहित पाँच जना घाइते भएका थिए।

यद्यपि, एउटा अप्रत्याशित मोड आयो। एक क्यानेडियन कम्पनीले क्षतिग्रस्त विमानलाई किन्ने निर्णय गर्यो। काठमाडौँ समेत ल्याउन नसकेर बारीमै थन्किएको विमान ताराले फलामको मुल्यमा बेच्यो।

अत्यन्त कठिन परिस्थितिमा, विमानलाई टुक्रा-टुक्रा पारेर नेपालगन्ज लगियो र त्यहाँबाट समुद्री मार्ग हुँदै क्यानडा पठाइयो।

२०७५ फागुन ७ मा विमान आधिकारिक रूपमा क्यानडा पुग्यो। त्यहाँ यसलाई पूर्ण रूपमा पुनर्निर्माण गरियो र नयाँ पहिचान दिइयो C-GIQE।

अन्ततः, २०७६ फागुन ६ मा यो विमान हार्बर एयर लिमिटेडको स्वामित्वमा आयो र C-GHHA को रूपमा दर्ता भएर अहिले पनि मजाले उडिरहेको छ। 

साउन १०, २०८१ शुक्रबार १८:१८:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।