सौर्य एयरलाइन्सका अध्यक्षको शङ्कास्पद पृष्ठभूमि : सुपारी तस्करीबाट उदय, अवैध रकममा राजश्वको अनुसन्धानमा

सौर्य एयरलाइन्सका अध्यक्षको शङ्कास्पद पृष्ठभूमि : सुपारी तस्करीबाट उदय, अवैध रकममा राजश्वको अनुसन्धानमा
स्वास्थ्य तथा पर्यटन क्षेत्रमा योगदान पुर्याएको भन्दै पोखरेललाई सम्मान गर्दै एमाले अध्यक्ष केपी ओली। कार्यक्रम एमालेको पर्यटन विभागले आयोजना गरेको थियो।

काठमाडौँ : बुधवार दुर्घटनामा परेको सौर्य एयरलाइन्समा मृत्यु हुने १८ मध्ये दुई जना गैर कर्मचारी थिए। नागरिक उड्डयन प्राधिकरणका अनुसार दुई जना कर्मचारीको परिवारको सदस्य बाहेक बाँकी सबै एयरलाइन्सकै कर्मचारी हुन्। 

विमानमा एयरलाइन्समा प्राविधिक मनुराज शर्मा श्रीमती प्रिजा खतिवडा र छोरा अधिराजसँगै पोखरा जाँदै थिए। यी तीनै जनाको मृत्यु भयो।  

नियमित मर्मत परीक्षणका लागि पोखरा उडेको विमानमा रहेका १९ जनामध्ये पाँच जना र विभागीय प्रमुखहरू नै थिए।  चिफ अफ अप्रेसन समेत रहेका क्याप्टेन मनिष रत्न शाक्य बाहेक अन्यको मृत्यु भयो। 

जहाजमा  रहेकामध्ये सागरकुमार आचार्य एयरलाइन्सका चिफ अफ सेप्टी हुन्। दिलीप बर्मा चिफ अफ क्वालिटी एसुरेन्स,अश्विनकुमार निरौला सीएएमओ, यज्ञप्रसाद पौडेल मर्मत व्यवस्थापक पदमा कार्यरत थिए। यी मध्ये क्याप्टेन उपचाररत छन्। अन्यको दुर्घटनामा ज्यान गयो। 

दुर्घटनामा मृत्यु भएका सुशान्त कटुवाल को पाइलट थिए। श्याम विन्दुरकार लामो समयदेखि विमान मर्मतमा संलग्न थिए। डेढ वर्ष अगाडि अवकाश पाएका उनी एयरलाइन्सको अनुरोधमा पुन जिम्मेवारीमा फर्किएका थिए। 

बुधवारको दुर्घटनामा व्यवस्थापन समूहका १० जनामध्ये पाँच जना परे। १८ जनाको मृत्यु भयो। तर बिहीबारसम्म पनि एयरलाइन्सले औपचारिक रूपमा कुनै जानकारी सार्वजनिक गरेको छैन। 

सुपारी तस्करीदेखि एयरलाइन्ससम्म

१० वर्ष अगाडिबाट सुरुवात भएको यो एयरलाइन्सको अध्यक्ष हुन दीपक पोखरेल। झापाका उनको पारिवारिक आर्थिक पृष्ठभूमि विमान सेवा सञ्चालन गर्ने हैसियतको हैन। उनी एयरलाइन्स अगाडि उल्लेख्य नाफा हुने कुनै व्यवसायमा संलग्न पनि देखिन्नन्। तल्लो तहबाट सरकारी नोकरी सुरु गरेका उनी राजीनामा दिएको केही समयमै एयरलाइन्स सञ्चालकको रूपमा सौर्यबाट उदाए। पछि उनले ओमसाई पाथीभरा अस्पताल समेत सञ्चालन गरे। 

नेपालमा उत्पादित कृषि सामाग्री भारतमा निर्यात गर्दा भन्सार नलाग्ने नीतिलाई तस्करीमा बदल्न एक समूहले झापाको काँकडभिट्टा नाकाको दुरुपयोग गरे। 

उनीहरूले विदेशबाट सुपारी निर्यात गरेर नेपाली उत्पादक भन्दै भारत निर्यात गरे। सुपारी तस्करीमा रहेको मार्जिनका कारण झापाका कहलिएका व्यापारीहरू समेत यसमा जोडिए। सुपारी तस्करी विस्तार भएर मरीचसम्म पनि पुगेको थियो। पोखरेल पनि सुपारी तस्करीमा जोडिएका थिए। 

उनको शङ्कास्पद गतिविधि यत्तिमै रोकिएको छैन। विमान सञ्चालनको आवरणमा उनी आपराधिक गतिविधिमा सक्रिय त छैनन्? दुई वर्ष अगाडिको घटनाले उनीसँगै सौर्य एयरलाइन्सकै गतिविधिलाई अनुसन्धानको दायरामा ल्यायो।  

सौर्य एयरलाइन्सभित्रै चाउचाउको कार्टुनमा राखिएको ५० लाख रुपैयाँसहित एयरलाइन्सकी कर्मचारी रेशा शाक्य पोखरेल पक्राउ परिन्। उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा पक्राउ परेकी थिइन्। 

शनिवार दिउँसो विराटनगरबाट एयरलाइन्सको उडान नम्बर एसएयु ७२४ मा स्रोत नखुलेको रकम फेला परेको थियो। भद्रपुर लेखिएको रातो रङ्गको ब्यागमा करेन्ट चाउचाउको कार्टुनभित्र ५० लाख रुपैयाँ भेटिएको थियो।  

प्रहरीले पोखरेललाई नियन्त्रणमा लिएर पैसाको स्रोतबारे सोधपुछ गर्दा उनले खुलाउन सकिनन्। अनि प्रहरीले उनलाई राजश्व अनुसन्धान विभागमा बुझायो। 

प्रहरीले सौर्य एयरलाइन्सका विराटनगरका स्टेसन म्यानेजर प्रकाश पौडेललाई समेत पक्राउ गरेको थियो सो घटनामा। उनलाई प्रहरीले राजश्व अनुसन्धान विभाग बुझायो।  तर रकमको स्रोत भने खुल्न सकेन। 

विभागले शाक्य र पौडेल दुबैलाई धरौटीमा हिरासतमुक्त गर्दै अनुसन्धान अगाडि बढायो। विभागका स्रोतका अनुसार सो अनुसन्धान सल्टाउन पोखरेलले विभागमा दबाब बढाएका थिए। उनले एयरलाइन्सको लेटरप्याडमा सो रकम एयरलाइन्सको भएको दाबी गर्दै पत्र पठाएका थिए।

तर रकमको वैधानिक स्रोत खुलाउन सकेनन् नै त्यसरी चाउचाउको प्याकेटमा लुकाएर पैसा ल्याउनुको प्रयोजन समेत खुलाउन नसकेपछि उनको प्रयास सफल भएन। दुई वर्षदेखि यो मुद्दा राजश्वव अनुसन्धान विभागमा विचाराधिन छ। अनुसन्धान टुंगिएको छैन।  

साउन १०, २०८१ शुक्रबार १६:३६:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।