राष्ट्र बैंकले सहकारी सञ्चालकको सम्पत्तिबाट पाँच लाखसम्मका बचतकर्ताको रकम फिर्ता गन सहजीकरण गर्ने

राष्ट्र बैंकले सहकारी सञ्चालकको सम्पत्तिबाट पाँच लाखसम्मका बचतकर्ताको रकम फिर्ता गन सहजीकरण गर्ने

काठमाडौं : नेपाल राष्ट्र बैंकले सहकारीका सञ्चालकको नाममा रहेको सम्पत्तिबाट पाँच लाखसम्मका बचतकर्ताको रकम फिर्ता गर्न सहजीकरण गर्ने भएको छ।

चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजकि गर्दै गभर्नर महाप्रसाद अधिकारीले समस्याग्रस्त सहकारीका सञ्चालकबाट पाँच लाखसम्मका बचतकर्ताको रकम फिर्ता गर्न सहजीकरण गर्ने बताएका हुन्।

उनले भने, ‘नेपाल सरकारको २०८१/८२ को बजेट वक्तव्यमा उल्लेख भएको बचत तथा ऋण सहकारी संस्थामा देखिएको समस्या समाधानका लागि समस्गाग्रस्त सहकारीका सञ्चालक र एकाघरको परिवारको सदस्यको नाममा रहेको सम्पत्तिको धितोको सुरक्षणमा ५ लाख रुपैयाँसम्मका बचतकर्ता सदस्यको रकम फिर्ता गर्ने व्यवस्था कार्यान्वयनको लागि नेपाल सरकारलाई सहजीकरण गरिनेछ।’

यस्तै राष्ट्र बैंकले बचत तथा ऋण सहकारी संस्थाको नियमन तथा सुपरिवेक्षणका लागि छुट्टै संयन्त्रको निर्माणका लागि आवश्यक कानुन बनाउन नेपाल सरकारसँग समन्वय गर्ने नीति समेत लिएको छ।

समयमा नै पुँजीगत खर्च गरेर अर्थतन्त्रको उत्पादन क्षमता वृद्धिका साथै निर्माण व्यवसायीहरूको भुक्तानी विवाद र बचत तथा ऋण सहकारी संस्थाहरूमा देखिएको समस्या समाधान भए आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने गभर्नर अधिकारीको विश्वास छ।

उनका अनुसार आन्तरिक आर्थिक गतिविधिमा सुधार, बचत तथा ऋण सहकारी संस्थामा रहेको समस्याको समाधान र सरकारको बाँकी भुक्तानीहरुको फस्र्याैट हुन सकेमा कर्जा असुली सहज हुने देखिन्छ।

साउन १०, २०८१ शुक्रबार १४:१२:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।