विश्व खेलकुदको महाकुम्भ ‘पेरिस ओलम्पिक २०२४’ आजदेखि, एक सय २८ वर्षको इतिहास तोडिँदै

विश्व खेलकुदको महाकुम्भ ‘पेरिस ओलम्पिक २०२४’ आजदेखि, एक सय २८ वर्षको इतिहास तोडिँदै

काठमाडौं : विश्व खेलकुदको महाकुम्भ ‘पेरिस ओलम्पिक २०२४’ आजदेखि सुरु हुँदैछ।

प्रतियोगिताको औपचारिक उद्घाटन आज हुने भएपनि फुटबल लगायतका केही खेलहरु भने यसअघि नै सुरु भइसकेका छन्।

फ्रान्सको राजधानी पेरिसमा शुक्रबार हुने उद्घाटन समारोहको तयारी पूरा भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

पेरिस ओलम्पिकमा एक सय २८ वर्ष पुरानो कीर्तिमान तोडिन लागेको छ। ओलम्पिक इतिहासमा एक सय २८ वर्षदेखि उद्घाटन समारोह रंगशालामा मात्रै हुने गरेकोमा यसपटक भने रंगशालामा नभई नदीको किनारमा उद्घाटन समारोह हुन लागेको हो।

आधुनिक ओलम्पिक १८९६ मा सुरू भएयता उद्घाटन समारोह रंगशालामा गर्ने चलन थियो।

सामान्यतया, खेलाडीहरू परम्परागत रूपमा मार्च गरेर स्टेडियममा प्रवेश गर्छन्। तर, पेरिस ओलम्पिकमा, सहभागी १० हजार पाँच खेलाडीहरू सीन नदीमा छ किलोमिटरको परेडमा ९० भन्दा बढी डुङ्गाहरूमा सवार हुनेछन्।

यस अवधिमा सेन नदीको किनारमा हजारौं दर्शकहरू उपस्थित हुनेछन्। यसबाहेक चर्चित गायिका लेडी गागा र सेलिन डियोनले उद्घाटन समारोहमा आफ्नो प्रस्तुति दिनेछन्।

पेरिस ओलम्पिकमा नेपालमा चार खेलका सात खेलाडीले प्रतिस्पर्धा गर्ने छन्।

एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, पौडीमा डुवाना लामा र एलेक्जेन्डर शाह, टेबलटेनिसका स्यान्टु श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल र जुडोकी मनिता श्रेष्ठ प्रधानले ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्दैछन्।

टेबलटेनिसका स्यान्टुले छनोट चरण पार गरेर पेरिस ओलम्पिक खेल्दा बाँकी ६ खेलाडीले वाइल्ड कार्डमार्फत ओलम्पिकमा सहभागिता जनाउन लागेका हुन्।

साउन १०, २०८१ शुक्रबार ११:२९:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।