नेपाल बसाइको आधाभन्दा बढी समय गण्डकीमा बिताउँछन् पर्यटक : पुरुषको खर्च बसाइमा बढी, खानपिनमा महिला अगाडि

नेपाल बसाइको आधाभन्दा बढी समय गण्डकीमा बिताउँछन् पर्यटक : पुरुषको खर्च बसाइमा बढी, खानपिनमा महिला अगाडि

काठमाडौं : गण्डकी प्रदेशको भ्रमण गर्ने पर्यटकले नेपाल बसाइको आधा भन्दा बढी समय गण्डकी प्रदेशमा बिताउने गरेको पाइएको छ।

गण्डकी प्रदेश भ्रमण गर्ने पर्यटकहरूको नेपालमा औसत बसाई अवधि २२ दिन रहने गरेकोमा गण्डकी प्रदेशमा औसत बसाई अवधि १२ दिन रहेको पाइएको नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयले जनाएको छ।

राष्ट्र बैंकको पोखरा कार्यालयले ‘गण्डकी प्रदेश भ्रमण गर्ने विदेशी पर्यटकहरूको बसाई तथा खर्चको प्रवृत्ति’ विषयमा अनुसन्धान गरि सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो तथ्य देखिएको हो।

अध्ययनमा पुरुष पर्यटकहरूको तुलनामा महिला पर्यटकको औसत बसाई अवधि उच्च रहेको पाइएको छ। नेपाल भ्रमण गर्ने महिला पर्यटकहरूले औसतमा २५ दिन र पुरुष पर्यटकहरूले औसतमा २० दिन भ्रमण गर्ने गरेको पाइएको छ। गण्डकी प्रदेशमा औसत बसाई अवधि पुरुष पर्यटकहरूको ११ दिन र महिला पर्यटकहरूको १३ दिन रहेको छ।

गण्डकी प्रदेशका विभिन्न ६ जिल्लाबाट नमूना संकलन गरिएकोमा मनाङ जिल्लामा भेटिएका पर्यटकहरूको गण्डकी प्रदेशमा औसत बसाई अवधि सबै भन्दा धेरै (१८ दिन) र गोरखा जिल्लामा भेटिएका पर्यटकहरूको गण्डकी प्रदेशमा औसत बसाई अवधि सबै भन्दा न्यून (४ दिन) रहेको छ।

अध्ययनमा पर्यटकको आगमनको संख्या, पर्यटन पूर्वाधारको विकास तथा पर्यटकीय गतिविधिका आधारमा कास्की, मुस्ताङ, मनाङ, म्याग्दी, गोरखा र नवलपरासी (पूर्व) गरी ६ जिल्लालाई समावेश गरिएको थियो। यसरी छनौट भएका जिल्लाहरूबाट र्यान्डम स्याम्पलिङ नमुनाका आधारमा चार सय जनामा यो अध्ययन गरिएको हो।

अध्ययनका अनुसार विश्वका ४१ देशका पर्यटकहरूले गण्डकी प्रदेश भ्रमण गरेकोमा त्यसमध्ये सबैभन्दा बढी भारत, फ्रान्स, अमेरिका, बेलायत र अष्ट्रेलिया रहेको पाइएको छ।

गण्डकी प्रदेशमा साहसिक क्रियाकलापमा संलग्न हुन ४०.१८ प्रतिशत पर्यटक आउने गरेका छन् भने सबैभन्दा कम २.९८ प्रतिशत पर्यटकहरू व्यापारिक प्रयोजनका लागि आउने गरेको प्रतिवेदनमा उल्लेख छ।

प्रदेशमा पहिलो पटक आउने पर्यटकहरू ६८ प्रतिशत छन् भने ३२ प्रतिशत पर्यटक एकपटक भन्दा बढी पटक आउने गरेको पाइएको छ।

खर्चको अवस्था
अध्ययनमा समावेश पर्यटकहरूको औसत दैनिक खर्च आठ हजार ३५५.२९ रुपैयाँ (अमेरिकी डलर ६२.८९) रहेको पाइएको छ।

प्याकेज लिएर गण्डकी प्रदेश घुम्न आउने पर्यटकको औसत खर्च दैनिक ११ हजार ८६६.०९ रुपैयाँ (अमेरिकी डलर ८९.३१) रहेको पाइएको छ।

त्यसैगरी स्वतः स्फुर्त रूपमा खर्च गर्ने गरी गण्डकी प्रदेश भ्रमण गर्न आउने पर्यटकहरूको दैनिक औसत खर्च सात हजार २१७.३१ रुपैयाँ (अमेरिकी डलर ५४.३२) रहेको पाइएको छ।

त्यसमध्ये सबैभन्दा बढी खर्च खानामा २८.२२ प्रतिशत, बसाइमा २७.६ प्रतिशत, यातायात खर्चमा २१.७ प्रतिशत र मनोरञ्जनमा १२.३ प्रतिशत देखिएको छ।

लिङ्गका आधारमा खर्चको प्रवृत्ति सम्बन्धमा विश्लेषण गर्दा पुरुष पर्यटकको बसाई खर्च, धार्मिक खर्च र अन्य खर्च महिला पर्यटकको तुलनामा बढी पाइयो। पुरुषले बसाइमा सबैभन्दा बढी २८.८७ प्रतिशत खर्च गरेको देखियो। त्यसपछि खानपिनमा २७.९ प्रतिशत, यातायातमा २१ प्रतिशत खर्च छ।

साथै, महिला पर्यटकहरूको खानपिन खर्च, यातायात खर्च, मनोरञ्जन खर्च र किनमेल खर्च पुरुष पर्यटकको तुलनामा बढी रहेको देखियो। पुरुषको तुलनामा महिलाले खानपिनमा बढी खर्च गरेको देखिएको छ। तथ्याङ्क अनुसार महिलाले खानपिनमा २८.५५ प्रतिशत खर्च गरेका छन्। त्यसपछि बसाइमा २६ प्रतिशत खर्च गर्छन्।

अध्ययनमा संलग्न पर्यटकहरूमध्ये नगदको माध्यमबाट ९४.९३ प्रतिशत पर्यटकले, कार्डको माध्यमबाट ४.९७ प्रतिशत पर्यटकले र मोबाइल वालेटको माध्यमबाट ०.१० प्रतिशत पर्यटकले विभिन्न खर्चका लागि भुक्तानी गर्ने गरेको पाइएको छ।

साउन १०, २०८१ शुक्रबार ११:०४:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।