अस्पतालबाट भागेका तीनमध्ये दुई जनामा हैजा पुष्टि, संक्रमितको संख्या चार पुग्यो

अस्पतालबाट भागेका तीनमध्ये दुई जनामा हैजा पुष्टि, संक्रमितको संख्या चार पुग्यो

काठमाडौं : ललितपुर गोदावरी नगरपालिकास्थित थैबको एक सुधार गृहमा बसेका थप तीन जनामा हैजा संक्रमण पुष्टि भएको छ।

काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका चारमध्ये तीन जनामा हैजाको सङ्क्रमण पुष्टि भएसँगै हैजा संक्रमितको संख्या चार पुगेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को इपिडिमियोलोजी तथा महामारी व्यवस्थापन शाखाका प्रमुख डा. मुकेश पौडेलले जानकारी दिए।

शुक्रबार काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका करिब १६ वर्षका युवामा हैजाको सङ्क्रमण पुष्टि भएको थियो। ती युवा अस्पतालमा नै उपचाररत रहेको र स्वास्थ्यमा सुधार भएकाले डिस्चार्जको तयारी रहेको टेकु अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले जानकारी दिए।

तर, सोमबार हैजाको लक्षण देखिएर टेकु अस्पतालमा सोमबार भर्ना गरिएका चार जनामध्ये तीन जना भागेका थिए। भागेका तीन जनामध्ये करिब ४० र २१ वर्षका दुई जनामा हैजा संक्रमण पुष्टि भएको इडिसिडी प्रमुख डा. पौडेलले बताए।

सुधार गृहले डा. पौडेलललाई दिएको जानकारी अनुसार भागेका तीन जना घर गएका थिए। उनीहरूलाई पुनः सुधार गृहमा फर्काउने तयारी भइरहेको छ।

सोमबार टेकु अस्पतालमा भर्ना भएका चार मध्ये करिब ५० वर्षका व्यक्तिमा पनि हैजाको संक्रमण पुष्टि भएको थियो। ५० वर्षका ती पुरुषमा झाडापखाला लगायतका कारण स्वास्थ्यमा बढी समस्या देखिएकाले सोमबार राती नै टेकु अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो।

हैजा संक्रमण पुष्टि भएका ती ५० वर्षीय पुरुषको स्वास्थ्य परीक्षण गर्दा मिर्गौलामा समेत समस्या देखिएको थियो। उनको डाइलाइसिस पनि गर्नुपर्ने हुनसक्ने देखिएकाले मंगलबार पाटन अस्पताल रिफर गरिएको टेकु अस्पतालका निर्देशक डा. बसौलाले बताए।

वर्षाको समयमा झाडापखाला तथा हैजाको जोखिम भएकाले पानी उमालेर पिउन चिकित्सकको सुझाव छ। हैजा संक्रमित व्यक्तिबाट अन्य व्यक्तिमा सर्ने जोखिम हुने भएकाले ती भागेका व्यक्तिलाई कन्ट्रयाक टे«सिङ गरेर खोज्ने प्रयास भइरहेको इडिसिडीका निर्देशक डा. यदुचन्द्र घिमिरेले जानकारी दिए।

अस्पतालबाटै टाप 
हैजाको लक्षण देखिएर टेकु अस्पतालमा सोमबार भर्ना गरिएका तीन जनामध्ये ४० र २१ वर्षका दुई जना पुरुषलाई वार्डमा र करिब २८ वर्षका एक जना पुरुषलाई आकस्मिक कक्षमा भर्ना गरिएको थियो।

तर, राती १२-१ बजेतिर आकस्मिक कक्षमा राखेर उपचार गरिएका करिब २८ वर्षका पुरुष ट्वाइलेट गएको समयमा झ्यालबाट भागे। वार्डमा भर्ना गरिएका ४० र २१ वर्षका दुई जना पुरुष पनि सोमबार राती नै १ देखि २ बजेको बीचमा भागेका थिए।

भागेका तीनै ४० र २१ वर्षका व्यक्तिमा बिहीबार हैजा संक्रमण पुष्टि हुँदा २८ वर्षका व्यक्तिमा भने हैजा देखिएन।

सुधार गृहमा केहीमा अलिअलि झाडापखालाको समस्या भए पनि खासै समस्या भने नदेखिएको डा. पौडेलले जानकारी दिएका छन्।

उनका अनुसार मंगलबार इडिसिडी, विश्व स्वास्थ्य सङ्गठन, जनस्वास्थ्य कार्यालयको टिम, नगरपालिकाको स्वास्थ्य शाखा लगायतको टिमले सुधार गृहको निरीक्षण गरेको थियो।

हैजाको सङ्क्रमण देखिएको सो सुधार गृहमा पुगेर ललितपुरको स्वास्थ्य कार्यालय र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) र विश्व स्वास्थ्य सङ्गठनलगायतको टोलीले परीक्षणका लागि पानीको नमूना लिएको छ।

डा. बसौलाका अनुसार झाडापखाला लगायतको समस्या भएपछि सुधार गृहमा बस्ने ती व्यक्तिमा आरडीटी परीक्षण गरिएको थियो। आरडीटी परीक्षणमा पोजेटिभ देखिएपछि ती व्यक्तिलाई टेकु अस्पताल भर्ना भएको र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा दिसाको कल्चर (प्रयोगशाला परीक्षण) गर्दा हैजाको सङ्क्रमण पुष्टि भएको रिपोर्ट आएको हो।

यो वर्ष हैजा सङ्क्रमण पुष्टि भएको यो पहिलो घटना भएको टेकु अस्पतालले जनाएको छ।

साउन १०, २०८१ शुक्रबार ०९:०८:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।