ज्योति विकास बैंकद्वारा ३ वटा सामाजिक उत्तरदायित्त्वका कार्यक्रमका लागि सम्झौता

ज्योति विकास बैंकद्वारा ३ वटा सामाजिक उत्तरदायित्त्वका कार्यक्रमका लागि सम्झौता

काठमाडौं : ज्योति विकास बैंकले १६ औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्त्वको निम्ति स्थापित 'हाम्रो विकास प्रवर्द्धन कोष' मार्फत ३ वटा विविध कार्यक्रमहरूको सम्झौता गरेको छ। 

बैंकले शारीरिक तवरले फरक बालबालिकाहरूलाई कृत्रिम हात प्रदान गर्न ई-नेबल नेपालसँग सहकार्य गर्न सम्झौता गरेको छ। 

सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल तथा ई-नेबल नेपालका अध्यक्ष सुरेन्द्र श्रेष्ठले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे। 

यस सहकार्यको माध्यमबाट बैंकले १६ जना बालबालिकाहरूलाई थ्रीडी  प्रिन्टेड कृत्रिम हात प्रदान गर्नेछ। 

प्रदान गरिने कृत्रिम हातहरूले बालबालिकाहरूलाई सामान्य दिनचर्यामा सहयोग पुर्याउनुका साथै बालबालिकाको मनोबल र आत्मविश्वासलाई पनि उच्च राख्न सहयोग गर्ने विश्वास बैंकले राखेको छ।

बैंकले राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्यमा 'न्यानो नानी' परियोजना-५ लाई निरन्तरता दिने घोषणा गरेको छ। 

हाइपोथर्मियाको कारण नवजात शिशुहरूको जीवन जोखिममा पर्ने गरेको दृष्टान्तलाई हृदयङ्गम गर्दै उक्त जोखिमलाई न्यूनीकरण गर्ने महत्वपूर्ण १० वटा जीवनरक्षक चिकित्सा उपकरण न्यानो नानी बेबी वार्मर मेसिन बनाई, आवश्यकता भएका विभिन्न स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टरमा जडान गर्न बैंकले सहयोग गर्ने सम्झौता भएको हो। 

बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल तथा राष्ट्रिय आविष्कार केन्द्रका महाप्रबन्धक संजय झाले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे। 

बैंकले राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्यमा हालसम्म विभिन्न चरणहरू मार्फत देशका विभिन्न अस्पताल, स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टरहरूमा ४५ वटा बेवी वार्मर जडान गरि सकेको छ।

आफ्नो वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्त्व कार्यक्रम मार्फत स्वावलम्बन नेपाल संस्थासँगको सहकार्यमा संस्थामा अभिभावक विहीन बालबालिकाको आंशिक भएपनि अभिभावकत्व निर्वाह गर्ने, डेस्क-बेञ्च प्रदान गर्ने प्रतिबद्धता सहितको सम्झौता गरेको बैंकले जनाएको छ। 

साउन ९, २०८१ बिहीबार २२:०४:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।