दुई पूर्वराष्ट्रपति : एमालेभित्र भाग मागेर सक्रिय हुन थालेकी विद्यादेवी अनि शान्त रामवरण

दुई पूर्वराष्ट्रपति : एमालेभित्र भाग मागेर सक्रिय हुन थालेकी विद्यादेवी अनि शान्त रामवरण

काठमाडौं : मुलुकमा १६ वर्षअघि मात्रै २४० वर्षीय शाहवंशीय राजतन्त्र हटेर गणतन्त्र आयो। राजाको सट्टा राष्ट्रपतिले राष्ट्रप्रमुखको स्थान लिए। अनि ८ साउन, २०६५ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रतिस्थापनमा डा रामवरण यादव राष्ट्रप्रमुख बने। नेपाली कांग्रेसबाट निर्वाचित उनले गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिका रूपमा आफ्नो नाम दर्ज गराए। 

उनी राष्ट्रपति भएकैबेला मुलुकले संविधान पायो। आफ्नो कार्यकाल भरी कम विवादित छवि बनाएका उनी ७ वर्षपछि राष्ट्रपतिबाट विदा भए। 

०६५ मै शीतलनिवास प्रवेश गरेपछि तत्कालीन कांग्रेस महामन्त्री समेत रहेका यादवले पार्टी सदस्यता त्यागेका थिए। ०७२ मा शीतलनिवास छोडेपछि आजसम्म पनि उनी कांग्रेस कार्यालय सानेपासम्म गएका छैनन्। यदाकदा सामाजिक संस्थाले गरेका कार्यक्रमहरूमा देखिने उनी मुलत: राजनीतिक गतिविधिबाट परै छन्। 

राष्ट्रपतिको कुर्सीमा छँदासमेत कांग्रेसभित्रको आन्तरिक गतिविधिमा उस्तोधेरै सक्रियता नदेखाएका उनी अहिलेसम्म पनि कांग्रेसको गतिविधिमा सक्रिय छैनन्। वीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला लगायतका दिवंगत नेताहरूको स्मृति कार्यक्रममा भने छिटपुट उनलाई देखिने गरेको छ। 

राष्ट्रप्रमुखहरू पदबाट विदा भएपछि अभिभावक बन्नुपर्ने तर्क गर्दै शीतलनिवास छोडेका उनी बेलाबखत संविधान र देशको चिन्ता गरिरहन्छन्। ०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई/दुईपटक संसद विघटन गरेको बेला पूर्वराष्ट्रपति यादवले त्यसलाई संविधानमाथि प्रहार भनेका थिए। 

आजभोलि केही सार्वजनिक कार्यक्रमहरूमा युवाशक्तिको विदेश पलायन, राजनीतिक अस्थिरता लगायतका विषयमा उनको चिन्ता र चासो रहेको अभिव्यक्तिमार्फत व्यक्त हुने गरेको छ। 

बरू यसबीचमा उनी चिकित्सकीय पेशामै फर्किने चर्चा चलेको थियो। यादव चिकित्सक पनि थिए। तर, उनले राजनीतिमा फर्किने कुनै संकेत सम्म देखाएका छैनन्। 

यादवपछि राष्ट्रपति बनिन् तत्कालीन एमाले नेत्री विद्यादेवी भण्डारी। संविधान जारी भएपछि राष्ट्रपति बनेकी उनी पनि ७ वर्षसम्मै शीतलनिवास रहिन्। तर, उनले यसबीचमा राष्ट्रपतिको दुई कार्यकाल गुजारिन्। 

०७९ को फागुनमा राष्ट्रपतिबाट विदा भएका भण्डारी अहिले एमालेको सक्रिय राजनीतिमा फर्किने साइत कुरेर बसिरहेकी छन्। राष्ट्रपति हुनुअघि उपाध्यक्ष रहेकी उनले गएको वैशाख १ मा पार्टी सदस्यता नवीकरण गरेको चर्चा छ। 

त्यसयता पनि पछिल्लो समय राजनीतिक भेटघाटमा सक्रिय छिन्। राष्ट्रपतिको कार्यकाल सकिएपछि भण्डारी बुढानीलकण्ठ भंगालमा रहेको निजी निवासमा बस्दै आएकी छन्। त्यसपछि उनले आफ्नै निवासमा राजनीतिक भेटघाट गर्ने गरेकी छिन्। यसबाट पनि उनी राजनीतिमा आउँ चाहेको पुस्टि हुन्छ। 

त्यसो त पूर्वराष्ट्रपति राजनीतिमा फर्किनै नहुने भने होइन। एकाथरि विश्लेषकहरू पूर्वराष्ट्रपति जस्तो सम्मानित व्यक्तित्व पुनः राजनीतिमा फर्किएर राष्ट्रपति जस्तो संस्थाकै अपमान हुने काम गर्नु हुँदैन भन्ने पक्षमा छन् भने अर्काथरि संविधानले पूर्वराष्ट्रपतिलाई राजनीतिमा फर्कन बन्देज नलगाएको तर्क गर्छन्। 
 
तर, पूर्व राष्ट्रपति भण्डारीले पार्टीभित्र भाग खोज्न समेत थालिसकेकी छिन्।

कांग्रेस-एमाले गठबन्धनबाट बनेको ओली नेतृत्वको सरकारमा भण्डारीले ईश्वर पोखरेल मार्फत पृथ्वी सुब्बा गुरुङ, गोकुल बास्कोटा र योगेश भट्टराईलाई मन्त्री बनाउन ओलीलाई सूची बुझाएकी थिइन्। तर, यी मध्ये अहिले गुरुङ मात्र मन्त्री बनेका छन्। 

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी शीतलनिवासमै रहँदा त्यहींबाटै एमालेको एउटा गुट संचालन गरिरहेको कतिपयले आरोप लगाउने गरेका थिए। उनकै जोडबलमा मन्त्री नियुक्तिदेखि अन्य निकायमा नियुक्तिको चलखेल हुने गरेको एमालेकै नेताहरु स्वीकार्ने गर्छन्।

अहिले भने खासगरी गोकुल बास्कोटा, कर्ण थापा, विनोद ढकाल, काशीनाथ अधिकारी, आनन्द पोखरेललगायतका नेताहरू भण्डारीलाई पार्टीमा ल्याउन लामो समयदेखि सक्रिय रहँदै आएको बताइन्छ। उनलाई साझा नेता बनाएर एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकीकरण गर्ने र वाम आन्दोलनलाई बलियो बनाउने रणनीतिक उद्देश्यसमेत यसमा गाँसिएको कतिपयले सार्वजनिक रूपमा बताउँदै आएका छन्। 

भण्डारी पनि वाम आन्दोलनलाई ०७४ को अवस्थामा पुर्याउने शर्तमा पार्टीको जिम्मेवारी लिन तयार रहेको बताइन्छ । 

तर, एमाले अध्यक्ष ओली भने यसलाई स्विकार्न तयार छैनन्। 

उनी बेलाबेला एमालेलाई कमजोर बनाउन सकिन्छ कि भनेर हल्ला चलाएको भन्दै त्यसको खण्डन गर्छन्। 

जबकि भण्डारीले यसबीचमा एमाले उपाध्यक्ष विष्णु पौडेलसँगको भेट, गएको जेठमा भएको राष्ट्रिय महिला भेलामा प्रमुख अतिथिको रूपमा सम्बोधन, पूर्व राष्ट्रपतिको रूपमा एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा सक्रिय राजनीतिमा फर्कने ५० प्रतिशत सम्भावना भएको बताउनु लगायतका कुराले उनी एमालेमा फर्किन खोजेको देखिन्छ नै। उनी एमालेमा फर्किएपछि ओलीको उत्तराधिकारी हुनेजस्तो पनि देखिन्छ। 

त्यसो त भण्डारीले १० औं महाधिवेशनलाई लक्षित गरेर अलग्गै समूह खडा गर्ने प्रशस्त प्रयास गरेकी थिइन। तर ओलीको चाहना, परामर्श र प्रस्तावमा दुवै पटक राष्ट्रपति बनेपछि उनले राजनीतिक बहसलाई विट मारेकी थिइन्। 

एमाले निकट स्रोतहरूका अनुसार भण्डारी निकट भविष्यमै राजनीतिमा आउन  मन नगरेकी भने होइनन्। तर, पार्टीभित्र उनीनिकट मानिने अध्यक्ष ओली हावी भइरहेको बेला भण्डारीको पोजिशन के हुने भन्ने बारेमा प्रश्न उठेपछि उनी मौन छिन्। 

पूर्वराजा ज्ञानेन्द्रको पनि सत्तामा आउने जोडबल 
सत्ताबाट सहज रूपमा विदा भएका पूर्वराजा ज्ञानेन्द्र पनि मौन बस्न भने सकेका छैनन्। उनी पनि सकेसम्म सत्तामा आउँ कोसिस गरिरहेकै छन्। त्यसका लागि कहिले कमल थापा त कहिले राजेन्द्र लिङ्देनहरू प्रयोग गरिएको देखिन्छ। 

गएको महाधिवेशनबाट राप्रपाको अध्यक्ष्यमा हारेपछि कमल थापाले एउटा अन्तर्वार्तामा पूर्वराजा ज्ञानेन्द्रले आफूहरूलाई चुनाव लड्नको लागि एकपटक २ करोड दिएको खुलाएका थिए। त्यसयता मेडिकल व्यवसायी दुर्गा प्रसाई ज्ञानेन्द्रलाई सत्तामा फर्काउने भन्दै हिँडिरहेको देखिन्छ। कतिपयले यसलाई पहिला कमल थापालाई जस्तै अहिले प्रसाईलाई दरबारबाटै सहयोग मिलेको टिप्पणी गर्छन्। 

त्यतिमात्र हैन, पूर्वराजाको हैसियतमा ज्ञानेन्द्र अहिले देशका विभिन्न ठाउँहरू घुमिरहेका छन्। त्यसक्रममा उनले सुनसरी र जुम्लाका छुट्टाछुट्टै कार्यक्रमहरूमा देशमा अब परिवर्तन खोज्ने बेला आएको भन्दै व्यवस्थामाथिको सांकेतिक प्रहार गरेका थिए। 

त्यसपछि एमाले अध्यक्ष ओली, माओवादी अध्यक्ष प्रचण्ड लगायतले पूर्वराजालाई आफ्नो ठाउँमा बस्न र सत्तामा आउने भए चुनाव लड्न आउनु भन्दै चेतावनी समेत दिएका थिए।  

साउन ९, २०८१ बिहीबार २१:४८:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।