सरकारसँग चित्त दुखाउँदै बोर्डबाट बिदाइ भए भुवन केसी

सरकारसँग चित्त दुखाउँदै बोर्डबाट बिदाइ भए भुवन केसी

काठमाडौं :पछिल्लो समय राजनीतिक दलले आफ्ना कार्यकर्ता भर्ती केन्द्रजस्तै बनाउँदै आएको संस्थानमध्ये एक हो, चलचित्र विकास बोर्ड। सरकार बद्लिएपछि आफूनिकट व्यक्तिलाई बोर्डको अध्यक्ष बनाउने चलन बढ्दै गएको पाइन्छ। यसैक्रममा दुई वर्षअघि कांग्रेसको तर्फबाट चलचित्र विकास बोर्डको अध्यक्ष बनेका भुवन केसीले आफ्नो कार्यकाल सक्काएर बिदाइ भए। 
 
भुवन अध्यक्ष नियुक्त हुँदा कांग्रेस-माओवादी गठबन्धनले सरकार चलाइरहेको थियो। तर, भुवनले आफ्नो कार्यकाल सुरू भएपछि अधिकांश समय भने सूचना तथा सञ्चार प्रविधि मन्त्री तथा सरकारको प्रवक्ता रेखा शर्मासँग काम गर्नुपर्यो। सूचना तथा सञ्चार प्रविधि मन्त्रालय अन्तर्गत बोर्ड चल्दै आएको छ। 

तर, माओवादी नेतृ शर्माले भुवनको कुरालाई छेउ टुप्पै गनिनन्। अध्यक्ष्यबाट विदा हुँदैगर्दा केसीले बिहीबार गुनासो पोखे। बोर्डमा प्रवेश गर्दा निकै उत्साहित बनेका भुवनले बाहिरिदा सरकारले आश्वासन मात्रै दिएको तर कुनै काम नगरिदिएको गुनासो बताए। निकै भावुक मुन्द्रामा रहेका केसीले सरकार नेपाली फिल्म क्षेत्रप्रति गम्भीर हुनुपर्ने बताए।

उनले बाहिरिदै गर्दा भने, ‘नेपाली चलचित्र यहाँसम्म आइपुग्दा सरकारले चाहिँ के गर्यो त? नेपाली चलचित्र क्षेत्रले यहाँसम्म आइपुग्नुको योगदान सरकारको योगदान शून्यजस्तो लाग्छ। चलचित्र क्षेत्र यहाँसम्म आइपुग्नुलाई सरकारको महत्व प्रभावकारी छैन।’

उनले विदेशी फिल्मसँग नेपाली फिल्म प्रतिस्पर्धा गर्नसक्ने भएता पनि सरकारले सहयोग नगरेको गुनासो पोखे। 

उनले भने, ‘यदि सरकारले चाहेको भए चलचित्र क्षेत्र आज विदेशीसँग प्रतिस्पर्धा गर्न सक्थ्यौं, अहिले पनि गरिरहेका छौं। तर त्यसका लागि केही निर्माता, कलाकार, निर्देशकहरूले घर-खेत बेचेर यहाँसम्म ल्याएका हुन्।’

भुवनले ६ महिनाअघिबाट पुरानो चलचित्र ऐन २०२६ परिवर्तन गर्दै बोर्डलाई स्वायत्त बनाउनुपर्नेमा जोड दिएका थिए। तत्कालीन सञ्चारमन्त्री  शर्माले बोर्डको कार्यक्रममा आफूले छलफल गरिरहेको र पहल गर्छु भन्ने आश्वासन दिएकी थिइन्। तर, उनले यसबारेमा पर्याप्त चासो दिइनन्। 

उनले मन्त्री शर्माप्रति लक्षित गर्दै भने, ‘एउटा स्टुडियो बनाउन सकेको छैन। सबै कलाकारहरूले मन्त्रीहरूलाई सुझाव सल्लाह दिएका हौं। तर, त्यो कुरा कुनै मन्त्रीले उठाउन सकेनन्।’

भुवनले बोर्डमा प्रवेश गर्दैगर्दा आफूले ४० वर्षअघिदेखि फिल्म क्षेत्रमै समय बिताएको र चलचित्रकर्मीको दुख पिडा बुझेको भनेका थिए। तर, उनले बोलेको अधिकांश कुरा २ वर्षे कार्यकालमा पुरा गरेनन्। 

आफूले बोलेको कुरा पुरा नभएपछि केसीले कुनै स्वार्थमा अध्यक्ष नबनेको दाबी गर्दै आफूले सक्दो प्रयास गरेको बताए। उनले बोर्डमा आफू नरहेता पनि अबको दिनमा जे–जस्तो अवस्थामा भएपनि नेपाली चलचित्रलाई अगाडि बढाउन सधैं तत्पर रहने बताए। 

बिदाइ कार्यक्रममा उनलाई माला र ठुलो फोटोसहित बोर्डका कर्मचारी तथा फिल्मकर्मीहरूले बिदाइ गरेका थिए। 

साउन ९, २०८१ बिहीबार १९:२४:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।