मन्त्रिपरिषद्मा ३३ प्रतिशत महिला सहभागिता हुनैपर्छ : परराष्ट्रमन्त्री आरजु

मन्त्रिपरिषद्मा ३३ प्रतिशत महिला सहभागिता हुनैपर्छ : परराष्ट्रमन्त्री आरजु

काठमाडौं : परराष्ट्रमन्त्री आरजु राणा देउवाले मन्त्रिमण्डलमा ३३ प्रतिशत महिलाको सहभागिताको हुनुपर्ने बताएकी छन्। 

बिहीबार काठमाडौंमा एक कार्यक्रममा उनले संसदमा मात्र ३३ प्रतिशत पुगेर नहुने भन्दै सुधारको क्रममा मन्त्रिमण्डलमा पनि ३३ प्रतिशत पुग्नुपर्ने कुरामा जोड दिनुपर्ने बताइन्। 

उनले भनिन्, ‘मन्त्रिमण्डलमा महिलाहरूको उपस्थिति न्यून भयो भन्ने कुरा उठेको छ। अहिले हामी संसदमा प्रतिनिधि गरेर ३३ प्रतिशत पुगेका छौं। अब अर्को सुधार गर्ने क्रममा मन्त्रिमण्डलमै पनि ३३ प्रतिशत पुग्नुपर्छ भन्ने आवाज उठाउनुपर्छ। यस बारेमा छलफल भइरहेको छ।’

उनले वर्तमान सरकारले आफ्नो काममा महिला कर्मचारीको प्रतिनिधित्व हुनैपर्ने कुरालाई प्राथमिकतामा राखेको बताइन्। 

उनले भनिन्, ‘अहिलेको सरकारले एउटा मुख्य एजेण्डा भनेको संविधान संशोधन गर्ने र संविधानको मूल मर्मलाई परिवर्तन नगरिकन अझ राम्रो कसरी बनाउने भन्ने कुरामा सरकारले पहल गर्छ। यही पहलकदमीमा नै हरेक सरकारको काममा महिला कर्मचारीको प्रतिनिधित्व हुनैपर्छ भन्ने एउटा कुरा पास भएको छ।’ 

देशमा उठेका हरेक मुद्दाहरूमा सरकार र प्रतिनिधि सभाले गम्भीर भएर हेर्ने पनि उनको दाबी छ। 

साउन ९, २०८१ बिहीबार १८:००:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।