संसदीय समितिको सभापतिसँग झगडा गरेर सन्किँदै बैठकबाट बाहिरिए पूर्व पर्यटनमन्त्री किराँती

संसदीय समितिको सभापतिसँग झगडा गरेर सन्किँदै बैठकबाट बाहिरिए पूर्व पर्यटनमन्त्री किराँती

काठमाडौँ : हवाई दुर्घटनाबारे छलफलका लागि राखिएको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा समिति सभापति राज किशोर यादवसँग विवाद भएपछि पूर्व पर्यटन मन्त्री तथा माओवादी सांसद सुदन किराँती झगडा गर्दै समितिको बैठक छाडेर हिँडे।

बैठकमा उनले भैरहवा र पोखरामात्र होइन तीन वटै एयरपोर्ट चलाउनु पर्छ भनेर ग्लोबल टेन्डरबाट जाऊँ भन्दै क्याबिनेटले गरेको निर्णय कहाँ पुग्यो? भन्दै प्रश्न गरेका थिए। उनले अहिले सरकारमा रहेको जालो कैचीलेमात्र काट्न नसकिने भन्दै’ देश तपाईँ हामीले कम चलाउँछौ, यहाँ अरूले नै चलाउन्न’ भने।

उनी छलफलको विषयभन्दा बाहिर जान थालेपछि समिति सभापति राज किशोर यादवले समय कम छ, विषयमा बोल्नुस् भनेपछि उनी झोक्किँदै राजनीतिक मान्छे, टेक्निकल विषय म जान्दिन सभापतिज्यू भन्दै उठेर विवाद गर्न थाले।

राजकिशोरले समितिमा भएका माननीय सबै राजनीतिक नै भएको जवाफ दिएपछि उनले यति धेरै एजेन्डा किन राख्नुभयो भन्दै सन्किएर बैठक कक्ष नै छाडेर बाहिरिए।

किराँती बाहिरिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवल शमशेर राणाले संसद्मा जति बोल्न पाइन्छ समितिको बैठकमा पनि त्यति बोल्न समय पाउनुपर्ने माग राखेका थिए।

सोही बैठकको छलफलमा सहभागी नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा समिति सदस्य शिशिर खनालले राखेको प्रश्नको जवाफ दिने क्रममा नाम लिँदै तँ भनेर सम्बोधन गरेपछि सभापति यादवले मर्यादामा रहेर बोल्न सचेत गराउनु परेको थियो। सभापति यादवले एटिट्युड र बोल्ने शैली भएन भनेर ध्यानाकर्षण गराएपछि उनले संसदीय अभ्यास थाहा नभएको भन्दै माफी मागेका थिए।

साउन ९, २०८१ बिहीबार १५:३५:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।