संसदीय समितिको बैठकमा क्यानमा महानिर्देशकले सांसद शिशिर खनाललाई तँ भन्दै सम्बोधन गरे

संसदीय समितिको बैठकमा क्यानमा महानिर्देशकले सांसद शिशिर खनाललाई तँ भन्दै सम्बोधन गरे

काठमाडौँ : अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सांसदहरूले उठाएको विषयमा जवाफ दिनेक्रममा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाललाई तँ भन्दै सम्बोधन गरे।

बुधवार दुर्घटनामा परेको सौर्य एयरलाइन्स लगायत हवाई दुर्घटनाको विषयमा समितिले राखेको छलफलमा उनी पर्यटनमन्त्री बद्री पाण्डेसहित समितिको बैठकमा सहभागी भएका थिए।

खनालले कानुनको अभावमा क्यानले दुई वटा काम गरिरहेको र यसमा कन्फ्लिक्ट अफ इन्ट्रेस्ट पनि छ भन्ने गरिएको र हवाई सुरक्षामा क्यानको नेतृत्वमा दोषी छ भन्ने देखिएको भन्दै दुर्घटनाको नैतिक जिम्मेवारी कसले लिने? भन्दै प्रश्न गरेका थिए।

उत्तर दिनेक्रममा उनले’ शिशिर खनालले जे भने’ भन्दै उत्तर दिन थालेपछि समितिका सभापति राज किशोर यादवले संसदीय समितिमा आफ्ना कुरा राख्दा मर्यादासहित उत्तर दिनु भन्दै आपत्ति जनाएका थिए। उनले’ जुन एटिट्युडका साथ माननीय सांसदको नाम लिएर भन्नुभयो त्यो मर्यादित भएन। उठेको प्रश्नको जवाफ दिनुस्’ भनेपछि उनले आफू प्राविधिक व्यक्ति भएको र समितिमा कसरी बोल्नुपर्छ भन्नेबारे आफूलाई जानकारी नभएको भन्दै माफी मागेका थिए।

उनले बैठकमा क्यानमाथि लाग्ने गरेको आरोपमा सत्ययता नभएको भन्दै भएका हवाई दुर्घटनाको सबै जिम्मेवारी आफूले लिने बताएका थिए। सुरक्षा र नियमनमा प्राधिकरणबाट कुनै त्रुटि नभएको उनले दाबी गरेका थिए। 

साउन ९, २०८१ बिहीबार १५:१४:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।