अभिनेता तथा निर्देशक देशभक्त खनालको हिजोको कुरा : एक हजार ६० रुपैयाँमा एक तोला सुन आउँथ्यो, ३४ सालमा विवाह गर्दा ६ हजार खर्च भयो

अभिनेता तथा निर्देशक देशभक्त खनालको हिजोको कुरा : एक हजार ६० रुपैयाँमा एक तोला सुन आउँथ्यो, ३४ सालमा विवाह गर्दा ६ हजार खर्च भयो

वि.सं.२०१२ सालमा विराटनगर-३ शंकरपुरमा जन्मिएका हुन् अभिनेता तथा निर्देशक देशभक्त खनाल। तीन दाजुभाइका कान्छो उनी सात वर्षको उमेरदेखि नाटकमा होमिए। दाइ अनि दिदीहरू विद्यालय जाँदा उनी पनि पछि लागेर जान्थे। त्यतिबेला घाम लागेको अवस्थामा रुखको छहारीमा पठाइन्थ्यो भने पानी पर्दा आसपासको गोठमा।

नेपालमा पञ्चायत व्यवस्था लागु हुनुअघि नै धमाधम विद्यालयहरू खुल्न थालिसकेका थिए। आठ साल अघिदेखि नै पढ्नुपर्छ भन्ने चेतना विराटनगरवासीमा भएको उनको अनुभव छ।

उद्योग, कलकारखाना, भारतबाट आएका मजदुरको बीचमा विराटनगरवासी चलाख भइसकेका थिए। राणा शासनदेखि पञ्चायतसम्म वीपी कोइराला, मदन भण्डारी, गिरिजा प्रसाद कोइराला लगायतको छलफलको अखडा विराटनगर नै थियो।

पञ्चायत शासन उचाइमा रहँदा उनले पनि केही समय नेपाली कांग्रेसको भातृ संगठनसँग नजिक भएर आन्दोलनमा होमिए। जागिर खान छाडेपछि भने त्यो पाटो नै छोडे। हुँदा हुँदा पढाइको क्रममा जागिर बाधक भएपछि उनले जागिर नै छोडिदिए।

जागिर छोडेपछि सञ्चयकोषको पैसा झिक्न काठमाडौं आउँदा उनलाई दीपक आलोकले फिल्म ‘हारजित’मा काम गर्न प्रस्ताव गरे। त्यसपछि उनले नेपाल टेलिभिजनकै ‘भानुभक्त’ नामक टेलिफिल्ममा अभिनय गर्ने मौका पाए।

अहिलेसम्म दर्जनौं फिल्म तथा टेलिफिल्ममा काम गरिसकेका उनी अझै कलाकारिता क्षेत्रमै सक्रिय छन्। उनै कलाकार एवं निर्देशक खनालले उकेराको नियमित स्तम्भ ‘हिजोका कुरा’मा आफ्ना अनुभव यसरी स्मरण गरेः

मुनिम् मास्टरले थर्काएपछि रिसले हिँडे
म विराटनगरको शंकरपुरमा जन्मिएको। त्यतिबेला शङ्करपुर भन्ने गरिन्थ्यो। महानगरपालिका भएपछि नाम फेरियो। मैले थाहा पाउँदा नै विराटनगर नगरपालिका काठमाडौंपछिको ठूलो शहर थियो। त्यतिबेला राजनीतिक दलका शीर्ष नेताको जन्मथलोदेखि भेटघाटका हिसाबले पनि विराटनगर केन्द्र थियो। भारतको सिमाना र भारतबाट नेपाल आउजाउमा सहज भएको हुनाले पनि विराटनगर विकसित थियो।

म १२ सालमा जन्मिए। मैले थाहा पाउँदा नै मेरो घर छेवैमा जनता हाइस्कुल थियो। पछि नाम फेरेर नमुना माध्यमिक विद्यालय भयो। त्यो स्कुलमा पढ्ने विद्यार्थीहरू निकै थिए। त्यतिबेलाका अभिभावकहरूमा छोराछोरी पढाउनुपर्छ भन्ने चेतना थियो। त्यो बेला नै शहरमा हुर्किएको हुनाले पनि होला पढ्नमा रोकटोक थिएन।

मान्छेहरू भन्छन् नि, ‘हामीले पढ्न पाएनौँ, दिएनन्।’ तर त्यो होइन। पढ्न रहर गर्ने र मन गर्नेले पढ्नका लागि स्कुल थियो त्यतिबेला पनि। म भन्दा अघिका दाजु दिदीहरू स्कुल पढ्न जानुहुन्थ्यो। म नाम नलेखाए पनि स्कुल जान्थेँ। त्यतिबेला सिसु (नर्सरी) कक्षालाई बच्चा क्लास भन्थेँ। त्यही बच्चा क्लासमा म ४ वर्षको उमेरमा पुगेँ। घर नजिकै भएको हुनाले पाटी बोक्ने कुँदिहाल्थे।

त्यतिबेला स्कुलमा लेखा र पढाउने शिक्षकलाई मुनिम् मास्टर भन्ने गरिन्थ्यो। अहिले त त्यो नाम कसैले भनेको सुन्दिन। त्यतिबेला स्कुलमा लेखा र कक्षामा पढाउने एउटै शिक्षकलाई मुनिम् मास्टर भन्ने चलन थियो। ती मास्टरलाई कसले स्कुलमा भर्ना गरेको छ, कसले छैन भन्ने सबै जानकार हुन्थ्यो।

२/३ दिन लगातार स्कुल गएपछि ती मास्टरले ‘ओए किन आइस्, कि गइहाल् कि नाम लेखाएर आइज’ भनेर थर्काए। ती मास्टरले थर्काएको मलाई अहिले पनि झलझली सम्झना आउँछ। मास्टरले थर्काएपछि म रिसले चुर भएर त्यहाँबाट गएँ।

रुखमुनिको पढाइ
त्यतिबेला विद्यालय जाँदा घरबाटै बोरा बोकेर जानुपर्थ्यो। त्यहि बोरा ओछ्याएर बस्ने अनि खुला ठाउँमा पढ्ने। विद्यालयको छेउछाउ बरपिपलको रुखहरू थियो। पानी पर्यो भने सारदाभक्त श्रेष्ठको गोठमा पढ्न पुग्थ्यौँ।

पछि चाहिँ चारैतिर खुला तर छाना भएको घरमा पढ्न थालियो। बुवाले पढ्नुपर्छ भनेर जोड गरेपछि पढ्नु बाध्यता पनि थियो त्यतिबेला। शहरमा जन्मिएकाले होला, बुवाले पढाउनमै बढी जोड दिनुहुन्थ्यो। गाउँकै विद्यालयबाट २७ सालमा एसएलसी दिएपछि महेन्द्र मोरङ कलेजमा पढे।

त्यतिबेला महेन्द्र मोरङ कलेज थियो, पछि नाम फेरेर महेन्द्र बहुमुखी आदर्श केन्द्रीय क्याम्पस भयो। त्यतिबेला पनि कमर्स पढ्ने विद्यार्थी बढी थिए। त्यहि भएर होला कमर्सको डिन कार्यालय नै विराटनगरमा थियो। त्यतिबेला पढ्न पाइँदैनथ्यो भन्ने कुरामा म सहमत छैन। मजाले पाइन्थ्यो।

विराटनगरमा मजदुरै मजदुर
मैले थाहा पाउँदा विराटनगरमा कलकारखाना र मजदुर धेरै थिए। कटन मिल, सुगर मिल, जुट मिल, प्लाई फ्याक्ट्री, कपडा कारखाना लगायत सबै उद्योग कलकारखाना थियो। इन्जिनियरिङ, वर्कसप पनि टन्नै थिए।

म जन्मनुअघि नै जोगबनी र धरानको बाटो बनिसकेको थियो। यो बाटो ब्रिटिस मलाय (मलेसिया)को रेजिमेन्टले खोलेको रहेछ। मैले थाहा पाउँदा ब्रिटिस मलाय रेजिमेन्टको एउटा क्याम्प धरानमा थियो। त्यहाँबाट नेपालीहरू ब्रिटिस आर्मीमा भर्ती हुन्थे।

धेरै कुराको हिसाबले विराटनगर अगाडि थियो। विराटनगर नजिकैसम्म भारतको रेल आउने हुनाले पनि विराटनगरमा मान्छेको चहलपहल थियो। मदजुरहरूको गतिविधि त्यहाँ धेरै थियो। विशेष गरेर तालिम प्राप्त मजदुरहरू छिमेकी मुलुक भारतको कलकत्ता र बंगालका हुन्थे।। भारतमा परेको राजनीतिक प्रभाव नेपालमा छिटो पर्यो। म विराटनगरवासी भएको हुनाले धेरै कुरा मलाई थाहा थियो।

कोइराला भए पनि वीपीले समाजवाद नै लेख्नुहुन्थ्यो। राजनीतिमा देखाउने दात र खाने दात फरक हुन्छ। उहाँको देखाउने दाँत समाजवाद थियो। त्यतिबेला राजनीतिलाई अगाडि बढाउनका लागि मजदुरको सहारा लिने गरिन्थ्यो। किनभने मदजुरहरू समाजवादमा अलिक बढी एक्टिभ हुन्थेँ। उनीहरूमा छलफल हुन्थ्यो। ती मजदुरहरूको संगतमा परेर विराटनगरमा मानिसहरू राजनीतिमा अगाडि आएका हुन्।

त्यतिबेला कतिसम्म एग्रेसिभ हुन्थे भने विराटनगरका युवाहरू, हाम्रो कुरा यति छिटो दिल्लीले सुन्छ तर काठमाडौंले सुन्दैन भन्थेँ। त्यतिसम्म एक्टिभ थियो विराटनगर। म आफै कलेज पढ्दा नेपाल विद्यार्थी संघको सदस्य थिए। यो समयमा मैले वीपी कोइराला, गिरिजा प्रसाद कोइरालादेखि एमालेका नेता मदन भण्डारीसम्मका भाषण सुन्ने मौका पाएको छु।

उनीहरूको कोड नाम हुन्थ्यो, अहिलेको जस्तो प्रष्ट नाममा कसैले पनि भन्दैनथे। धेरैको भाषण गर्ने ठाउँ विराटनगर थियो त्यतिबेला। किनभने जनसंख्या त्यहाँ धेरै थियो। कुनै आन्दोलन या केहि गर्नुपर्दा एक जना दाइ हुनुहुन्थ्यो। उहाँले भनेपछि हामी कुदिहाल्थ्यौँ। त्यो बेलाको माहोल नै त्यस्तै थियो।

भूमिगत जलस्रोत विकास समितिमा जागिरे
राजनीतिमा लाग्दा लाग्दै म भूमिगत जलस्रोत विकास समितिमा जागिरे भए। यसमा मैले ३४ सालबाट जागिर खान सुरु गरेँ। जागिर खान थालेपछि मैले राजनीति छोडेँ। जागिर पनि धेरै समय खाइन। आठ वर्षमा जागिरले पनि अघाएँ।

यो नेपाल सरकारको भए पनि अमेरिका सरकारको सहयोगमा चलेको थियो। त्यतिबेला अहिलेको जस्तो एननीओ वा आईएनजीओले सिधै जनतामा गएर काम गर्न पाउँदैनथ्यो।

नेपाल सरकारमार्फत स्थानीय स्तरमा काम गर्नुपर्थ्यो। उनीहरू कोही पनि सिधै जनताको घरदैलोमा पुग्न बन्देज थियो। अहिले त घरघरमा पुगेर अनेक प्रचार गरिरहेका छन्। त्यतिबेलाको सरकारसँग अमेरिकनहरू डराउथेँ।

खुकुलो गरिएसँगै आईएनजीओको मिसन नै फरक देखियो। स्थानीयको घर-घरमा पुगेका छन्। अनेक बाँडेका छन्। त्यतिबेला यस्तो छाडा थिएनन् आईएनजीओहरू। कडा थियो।

एमबीए पढ्दै गर्दा पटक पटक सरुवा भएपछि पढाइमा असर पर्यो अनि मैले जागिर छोडेँ। त्यतिबेला जागिर बाहेक ४० रुपैया भत्ता आउँथ्यो। त्यतिबेला सुब्बा सरहको तलब त्यही ३७० चानचुन कति थियो। एक हजार तलब पुगेपछि छाडेको हो।

त्यतिबेला यति पैसा छेलोखेलो हुन्थ्यो। ३४ सालमा मेरो विवाह हुँदा तोलाको एक हजार ६० रुपैयाँमा सुन आउँथ्यो। अहिले एक लाख ५० हजार चानचुन पुगेको छ। त्यतिबेला एक महिनाको तलबले आधी तोला सुन आउँथ्यो। मैले ३४ सालमा नै विवाह गर्दा ६ हजार रुपैयाँ खर्च भएको थियो सुन बाहेक।

शहरिया विवाहमा भोजभतेर थालमै
विराटनगरबाट ३४ सालमा दुलही लिन झापाको धुलावारी पुगेका थियौँ। धुलावारी भनेको त्यतिबेला भारतका मान्छेहरू सामान किनमेल गर्न आउने ठाउँ थियो। काठमाडौंमा नपाउने समान त्यहाँ पाइन्थ्यो। त्यो ठाउँमा मेरो विवाह भयो।

आमाबुवाको गरगहना भएकाले त्यतिबेला मेरो विवाहमा गरगहनामा खर्च भएन। त्यतिबेलाको मूल्याङ्कन अनुसार मेरो विवाह खर्च ६ हजार भएको थियो। सुनकै हिसाब गर्ने हो भने करिब छ तोला थियो। बस चल्थ्यो त्यतिबेला। बसमा नै जन्ती लिएर गइयो। निकै विकसित नै भइसकेको थियो नि!

हाम्रोमा बारीको पाटामा बसेर टपरीमा भोज भतेर खाने चलन थिएन। किनभने शहरमा थालमा नै दिने चलन थियो। मैले अघि नै भनिहाले नि! विराटनगर त्यतिबेला नै विकसित थियो, जतिबेला मैले थाहा पाएँ। पाहुनाहरूलाई थालमा नै भोज भतेर दिने चलन थियो। आलीको डिलमा बसेर टपरीमा भतेर खाएको धनकुटा जाँदा हो, त्यो पनि साथीको बिहेमा।

कला यात्राको पहिलो खुड्किलो नाटक
सात वर्षको हुँदा नै मैले नाटक खेल्न थालिसकेको थिएँ। वि.सं. २०१९ सालमा जनता स्कुलको १० औं वार्षिक उत्सवमा मैले पहिलो पटक नाटक गरेको थिएँ दुर्गा सुवेदी र राजानन्द कार्कीको निर्देशनमा। त्यसपछि लगातार गरियो। त्यतिबेला अहिलेको जस्तो आधुनिक नाटकघर थिएनन्। बासले बारेको, स्कुलको अगाडि। यस्तै–यस्तै ठाउँमा नाटक गर्नुपर्थ्यो।

मेरो टोलमा हिमकला मन्दिर भन्ने नाट्य समूह थियो। त्यतिबेला यो संस्थामा माधव सापकोटा, माधव निरौला लगायतका अग्रजहरू हुनुुहन्थ्यो। म त्यहि समूहमा आबद्ध भएँ। त्यसपछि भानुभक्त मोरङ सांस्कृतिक समूहतर्फ लागे।

स्कुलबाट नै अभिनय यात्रा गरिसकेकाले कलेजसम्म पुग्दा म आफैँले नाटक लेख्ने र  निर्देशन गर्ने भइसकेको थिएँ। मैले यस कलेजको वार्षिक उत्सवमा आफैँले लेखेको नाटक मञ्चन गरे। त्यो २८ सालतिरको कुरा हो।

मेरो पहिलो नाटक ‘गोरखा भर्ती’ भन्ने थियो। त्यसरी नाटकमा मैले आफूलाई अगाडि बढाएको हुँ। अहिलेको जस्तो सहज त त्यो समयमा थिएन। तर पनि त्यहि वर्ष तीन वटा नाटक मञ्चन गरिएको थियो।

काठमाडौंको त्यो यात्रा 
म २८ सालको मंसिरमा काठमाडौं आउँदा सिरहा र धनुषाको बोर्डरको कमला नदीबाहेक सबैतिर पुल बनिसकेको थियो। कमला नदीमा पुल नबन्दा विराटनगरबाट त्यहाँसम्म उताको बसले ल्याउँथ्यो अनि त्यहाँबाट काठमाडौंसम्म यताको गाडीले लैजान्थ्यो।

त्यतिबेला नदी तर्दा छुट्टै कट्टु बोकेर आउनुपर्थ्यो। नदी पार गर्दा लगाएको कपडा भिजिहाल्थ्यो। झोला हातभन्दा माथि उचाल्दै उचाल्दै नदी पार गर्नुपर्थ्यो। नदी पार गरेपछि अर्को बसमा चढेर जनकपुरको गंगासागरमा लैजान्थ्यो। त्यहाँ एक रात राखेर भोलिपल्ट बिहानै ४ बजेबाट गाडी हुइक्याउँथ्यो। काठमाडौं आइपुग्दा रातको नौ बजिसकेको हुन्थ्यो। त्यतिबेलाको बसपार्क खिचापोखरीमा थियो।

खिचापोखरी बसपार्कमा आनन्दकन्द नामको लज थियो। त्यहीँ बसियो। काठमाडौं प्रवेश चाहिँ त्रिभुवन राजपथबाट हुन्थ्यो। मुग्लिङबाट नारायणगढको बाटो बनेकै थिएन। दोस्रो पटक काठमाडौंबाट घर फर्किँदा मुग्लिनको बाटो भएर गएको हो। त्यो दिन पहिलो पटक मुग्लिङबाट नारायणगढ बाटो खुलेको थियो।

सञ्चयकोषको पैसा झिक्न आउँदा फिल्मको अफर 
जागिर नखाने भनेर सञ्चय कोषको पैसा झिक्न काठमाडौं आएको थिएँ। यहाँ आउने बित्तिकै सबै काम भएन। सञ्चय कोषबाट निवेदन दिएर बाहिर निस्किँदै थिए एक जना दीपक आलोक भन्ने मित्रसँग भेट भयो। उहाँले ‘हारजित’ नामक फिल्म बनाउँदै हुनुहुँदो रहेछ। ल तपाइसँग भेट भइहाल्यो, तपाईंलाई एउटा घच्चीको रोल छ, खेल्नुपर्छ भन्नुभयो।

मेरो काठमाडौंमा बस्ने ठेगान थिएन। सबै कुराको बेलिबिस्तार लगाएपछि म उनकै डेरामा बसेँ। त्यसको तीन दिनपछि सुन्दरीजलमा बसियो। अहिले म्युजियम भएको ठाउँमा पहिला जेल थियो। त्यसको ठ्याक्कै अगाडि फिल्मका लागि आफूहरूले कल्पना गरे अनुसारको बार्दलीको घर पाइयो। त्यही घरमा हामीले पहिलो पटक सुटिङ गरेका थियौँ।

सूर्यनाथ शर्माको नेगेटिभ र मेरो पोजेटिभ भूमिका थियो फिल्ममा। त्यतिबेला सूर्यनाथ शर्मा र देशभक्त खनालको तगडा भूमिका भनेर प्रचार पनि गरिएको थियो। त्यो युनिट यति रमाइलो थियो कि कुनै नगरौँ। सुटिङ सकिएकै पत्तो पाइएन।

यो फिल्म खेलेपछि विराटनगर फर्किए। फिल्म पर्दामा आएपछि मेरो चर्चा भयो। त्यसपछि फेरि काठमाडौं आएर टेलिफिल्म ‘गुरुआमा नेपालकी’मा अभिनय गरियो अनि ‘भानुभक्त’ लगायत अन्य फिल्म टेलिफिल्ममा अभिनय गरे। मैले फिल्म तथा टेलिफिल्ममा सहायक निर्देशकको भूमिकामा काम गरेँ।

त्यतिबेला दश कक्षासम्मका स्कुलका किताबको कथा, गीतलाई अभिनयमार्फत टेलिफिल्म निर्माण गर्नुपर्ने हुन्थ्यो। ४५ सालतिर ‘बदला’भन्ने फिल्म निर्माण गरिएको थियो। त्यो चाही प्रदर्शनमा आउन सकेन। खै के भयो कुन्नी। अहिलेसम्म मैले दर्जनौं फिल्म तथा टेलिफिल्ममा काम गरिसकेको छु।

साउन १०, २०८१ बिहीबार १४:३२:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।