नाम जस्तै विचित्र छ गुल्मीको ‘विचित्र गुफा’ (फोटो फिचर)

नाम जस्तै विचित्र छ गुल्मीको ‘विचित्र गुफा’ (फोटो फिचर)

बुटवल : पर्यटकीय सम्भावना बोकेको गुल्मीको विचित्र गुफामा पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकहरूको रोजाइमा परेको छ।

गुल्मी सदरमुकाम तम्घासबाट १८ किलोमिटर मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास-सिमलटारी सडक खण्डको राङदल चौरबाट ३० मिनेटको पैदल दुरीमा गुफा पुग्न सकिन्छ।

धुर्कोट गाउँपालिका-५ बस्तुस्थित विचित्र गुफाको पछिल्लो एक वर्षमा आन्तरिक र बाह्य गरी तीन लाख भन्दा बढीले अवलोकन गरिसकेको गुफाका प्रदर्शक भानुभक्त भण्डारीले जानकारी दिए।

उनका अनुसार ०८० चैतमा मात्र १७ जनाको फ्रान्सेली नागरिकहरूको टोली र १२ जनाको बेल्जियम, स्पेनका पर्यटक गुफा हेर्न पुगेका थिए। विचित्र गुफा कुल १८५ मिटर रहेको छ।

गुफाभित्र पारदर्शी ढुंंगा, शिवलिंग, गाइका थुन र निकै कलिला चट्टानहरू रहेका छन्। अहिले विचित्र गुफा जाने धेरै सहज भएको उनको भनाइ छ। गुफा परिसरभित्र पनि धेरै भौतिक संरचना तयार भएका छन्। रेलिङ सहितको सिढि गाउँपालिकाको लगानीमा तयार भएको छ।

त्यस्तै टाढाबाट आउने पर्यटकहरूलाई लक्षित गरेर पर्यटन सूचना केन्द्र निर्माणको काम पनि अन्तिम तयारीमा पुगेको छ। २०४५ सालमा ढेंडु लखेट्दै जाने क्रममा पत्ता लागेको त्यस गुफा महत्वपूर्ण राष्ट्रिय सम्पदाका रूपमा स्थापित हुन पुगेको भए पनि अझै यसको प्रचारप्रसार जरुरी रहेको भण्डारीले बताए।

हाल गुफा क्षेत्रमा कच्ची बाटो, नजिकै पिननिक जानेहरूका लागि प्रतिक्षालयका साथमा शौचालयहरू निर्माण गरिएको धुर्कोट गाउँपालिका-५ का वडाध्यक्ष केशव भण्डारीले बताए। बर्खाको समयमा पनि गुफा अवलोकनका लागि दैनिक १ सय भन्दा बढी पुग्ने गरेका छन्।

गुफामा एकै पटक पाँच सय जना अट्ने भव्य ठाउँ छ। त्यसलाई सभाहल समेत भनिन्छ। गुफाभित्र भएका शिवलिंग सहितको मन्दिर, राम र कृष्णको प्रतीक, विभिन्न नागहरूको आकृति, गोपीकृष्ण, जटायुलगायतका आकृतिले गुफालाई अझ मनमोहक बनाएका छन्।

सभाहलमाथि सिलिङमा कलात्मक बुट्टाले भरिएका आकृति छन्। बुट्टाहरूको बीचमा रातोमाटोले पोतेर सफा गरेको मण्डप समेत छ। ती आकृतिलाई नरसिंहवतार, कच्छ्यावतार, गोपीकृष्ण, जटायु, शिवलिंग लगायत नामाकरण गरिएको छ।

गुफाभित्रका विभिन्न आकृतिहरू, कलात्मक वस्तुहरू, धार्मिक आस्था जगाउने मनमोहक दृष्यहरूले विचित्र गुफा साँच्चिकै विचित्र रहेको छ। गुफाभित्र सानाठूला गरी ११ वटा धार्मिक ग्रन्थमा आधारित कक्षहरू छन्।

साउन ९, २०८१ बिहीबार १३:२२:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।