इरान सरकारसँग गहिरो सम्बन्ध रहेको भन्दै जर्मनीको ह्याम्बर्ग मस्जिद बन्द

इरान सरकारसँग गहिरो सम्बन्ध रहेको भन्दै जर्मनीको ह्याम्बर्ग मस्जिद बन्द

काठमाडौं : जर्मनीको सबैभन्दा ठूलो र पुरानो ह्याम्बर्ग मस्जिद बन्द गरिएको छ। ‘ब्लु मोजाइक’ नामले विश्वभर प्रसिद्ध यो मस्जिद शिया मुस्लिम संगठनद्वारा सञ्चालित र इरान सरकारसँग गहिरो सम्बन्ध रहेको जर्मन प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार यो संगठनले आतंकवादी संगठन हिजबुल्लाहलाई समर्थन गरेको र इरानमा इस्लामिक क्रान्ति ल्याउने प्रयास गरिरहेको छ। जर्मनीले हिजबुल्लाहलाई आतंकवादी संगठन घोषणा गरी २०२० मा प्रतिबन्ध लगाएको थियो।

बीबीसी रिपोर्टका अनुसार जर्मनीमा प्रहरीले इस्लामिक आतंकवादसँग जोडिएको आशंकामा ५४ स्थानमा छापा मारेको छ। मस्जिदबाहेक मानिसको घरमा पनि छापा मारिएको थियो। यसलाई इस्लामिक कट्टरपन्थीविरुद्धको सबैभन्दा ठूलो कारबाहीका रूपमा उल्लेख गरेका छन्।

इरानले उक्त कदमको आलोचना गर्दै जर्मनीले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ। जर्मन समाचार वेबसाइट ड्युच वेलेका अनुसार जर्मन प्रहरीले बर्लिन, फ्रान्कफर्ट र म्युनिखका तीनवटा प्रमुख मस्जिदमा छापा मारेको हो।

प्रहरीले यी मस्जिदहरूलाई इस्लामिक चरमपन्थीसँग जोडिएको र इरानी सरकारको प्रचारप्रसार गरेको आरोप पनि लगाएको छ।

जर्मनीका घरेलु एजेन्सीहरूका अनुसार इस्लामिक सेन्टर ह्याम्बर्ग (आईजेडएच) को इरानका धेरै मस्जिद र संगठनहरूमा गहिरो प्रभाव छ। सन् १९९३ देखि गुप्तचर एजेन्सीहरूले यसमा नजर राख्दै आएका छन्।

यसैबीच, जर्मनीका गृहमन्त्री न्यान्सी फेसरले यो अभियान कुनै विशेष धर्मको विरुद्धमा नभएर प्रजातन्त्रमा विश्वास नगर्ने र चरमपन्थी संगठनसँग आबद्ध भएकाहरूविरुद्ध भएको बताएकी छन्। न्यान्सी फेसरले उनलाई यहूदी विरोधी भावना भड्काएको आरोप पनि लगाएकी छन्।

इरानको आधिकारिक समाचार एजेन्सी इरनाका अनुसार इरानको विदेश मन्त्रालयले तेहरानस्थित जर्मन राजदूतलाई यस घटनाको बारेमा गुनासो गरेको छ। उनले यसलाई इस्लामोफोबियाको संज्ञा दिँदै गम्भीर परिणामको चेतावनी दिएका छन्।

साउन ९, २०८१ बिहीबार ०८:२०:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।