कानूनसहित ६ वटा समितिका बैठक बस्दै

कानूनसहित ६ वटा समितिका बैठक बस्दै

काठमाडौं : संघीय संसदका ६ संसदीय समितिका बैठक आज बस्दै छन्।

बिहीबार कानून, न्याय तथा मानवअधिकार, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, महिला तथा सामाजिक मामिला, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि र सार्वजनिक लेखा समितिको बैठक बस्न लागेको संघीय संसद सचिवालयले जनाएको छ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ। 

बैठकमा युरोपियन युनियनको सुरक्षा सूची तथा नागरिक उड्डयन, नेपाल वायु सेवा निगमको कोरिया उडान अनुमति, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन तथा निजगढ विमानस्थल निर्माणको हालसम्मको कार्यप्रगति र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भाडामा रहेका पसलहरूको सम्झौता सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ।

यस्तै, महिला तथा सामाजिक मामिला समितिको विहान ११ बजे बस्ने बैठकमा नेपालमा बालबालिकाको शैक्षिक विकासमा युनेस्कोले खेल्दै आएको भूमिकाका विषयमा छलफल हुनेछ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे सिंहदरबार बस्दैछ। बैठकमा उपभोग्य वस्तु तथा सेवाको मूल्यवृद्धि, बजार अनुगमनको अवस्था, उपभोक्ता हक संरक्षण र प्रवर्द्धन  सम्बन्धमा देखिएका समस्या र सुझाव सम्बन्धमा छलफल हुनेछ।

कानून, न्याय तथा मानवअधिकार समितिको बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल गर्ने कार्यक्रम छ।

यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ। आजको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल गरिने तयारी छ।

सार्वजनिक लेखा समितिको बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्नेछ।

साउन ९, २०८१ बिहीबार ०८:१३:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।