चार वर्ष अगाडि चरासँग ठोक्किँदा दुर्घटनाबाट जोगिएको सौर्यको विमान बुधवार जोगिन सकेन, इन्जिनको अवधि २०२५ सम्म

चार वर्ष अगाडि चरासँग ठोक्किँदा दुर्घटनाबाट जोगिएको सौर्यको विमान बुधवार जोगिन सकेन, इन्जिनको अवधि २०२५ सम्म

काठमाडौँ : मर्मतका लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुग्न उडान भरे लगत्तै खसेर दुर्घटनामा परेको सौर्य एयरलाइन्स चार वर्ष अगाडि दुर्घटनामा परेर जोगिएको थियो।

चार वर्ष अगाडि ५२ जना यात्रु लिएर काठमाडौँबाट विराटनगरका लागि उडे लगत्तै विमानमा चरा ठोक्किएको थियो। चरा ठोकिँदा विमानको दायाँतर्फको इन्जिनको दुई वटा ब्लेडमा असर परे पनि विमान विराटनगर पुग्यो।

विमान विराटनगरमै ग्राउण्डेड गरियो। विमान उडे लगत्तै बिहान ८:४५ बजे चरा ठोक्किएको थियो। तर पाइलटले टावरलाई जानकारी गराएनन्। रनवेमा मरेको चरा फेला परेकाले विमानमा चरा ठोक्किएको खुलेको थियो।

इन्जिनको अवधि २०२५ अप्रिल १७ सम्म

बुधवार दुर्घटनामा परेको विमान मर्मतका लागि प्राविधिक टिमसहित पोखराका लागि उडेको थियो। बिहान ११ बजेर ११ मिनेटमा धावनमार्ग छाडेर केहीमाथि पुगे लगत्तै विमान सिधै तल जोतिएको थियो। नियमित परीक्षण र मर्मतका लागि जान लागेको विमानमा चालक दलका दुई सदस्य, १५ जना एयरलाइन्सको कर्मचारी र दुई जना एयरलाइन्सका कर्मचारीको परिवारका सदस्य थिए।

मर्मतका लागि जान लागेको विमानमा यति धेरै यात्रु किन राखिएको थियो त्यो अझै खुलेको छैन। मर्मतका लागि जाँदा प्राविधिक मात्र राख्ने गरिएकोमा प्राविधिकको परिवारका सदस्यलाई समेत राखिएको थियो। यात्रुहरूको लग सिटमा सौर्य एयरलाइन्सका प्राविधिक मनुराज शर्मासँगै उनकी श्रीमती प्रिजा खतिवडा र ४ वर्षीय छोरा अधिराज शर्मालाई समेत एयरलाइन्सको कर्मचारीको रूपमा उल्लेख छ।

नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले उकेरासँग मर्मतका लागि उडान भरेको विमानमा प्राविधिकबाहेक अन्य यात्रु राख्ने नियम विपरीत भएको बताए।

सो विमानबारे उकेराले पाएको प्राविधिक विवरणमा विमान सन् २००३ अप्रिल १० मा बनेको देखिन्छ। प्रारम्भमा यो एटलान्टिक कोस्ट एयरलाइन्सले उडाएको थियो। एक वर्षपछि इन्डिपेन्डेन्स एयरले उडायो। सन् २००७ मा आरिक एयर. २००८ मा साउथ अफ्रिका एक्सप्रेसले उडाउन सुरु गरेको यो विमान सन् २०१७ मार्च १४ मा सौर्य एयरलाइन्सले किनेर नेपालमा उडाइरहेको थियो।

सो विमानको एयरवर्थनेस रिभ्यु सर्टिफिकेट २०२४ अप्रिल २६ मा सर्टिफिकेट जारी भएको देखिन्छ। त्यसको अवधि २०२५ अप्रिल १७ सम्म थियो। भुलका अनुसार सो विमानको उडानको अवधि एक सय १९ घण्टा बाँकी थियो।

यस अगाडि विमान मर्मतका लागि विदेश लैजाने गरे पनि पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेसँगै त्यहाँ  ह्याङगरको सुविधा रहेकाले पछिल्लो समय आवश्यक प्राविधिक विदेशबाट मगाएर यतै मर्मत गर्ने गरिएको उनले जानकारी दिए।

सरकारले बनायो समिति

विमान कसरी दुर्घटनामा पर्यो? यही थाहा पाउन बुधबारै मन्त्रिपरिषद् बैठकले ४५ दिनभित्र प्रतिवेदन पेस गर्न छानबिन आयोग  गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। 

उनका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक रतिशचन्द्रलाल सुमनको संयोजकत्वमा गठन हुने आयोगका सदस्यहरूमा नेपाल वायुसेवा निगमका क्याप्टेन दीपुराज ज्वारचन, पुल्चोक क्याम्पसका प्राध्यापक डा. सुदीप भट्टराई, श्री एयरलाइन्सका कर्मचारी सञ्जय अधिकारी, नागरिक उड्डयन प्राधिकरणका एअर ट्राफिक कन्ट्रोल अफिसर मुकेश डंगोल रहेका छन्।

यस अगाडिका विमान दुर्घटनाको छानबिनको अधिकांश निष्कर्षमा विमान चालकलाई दोष देखाउँदै प्रतिवेदन बुझाउने गरिएको थियो। बुधबारको दुर्घटनामा सहायक पाइलटको निधन भयो। तर मुख्य पाइलट मनिषरत्न शाक्यको ज्यान जोगिएको छ। उनी उपचाररत छन्।

यो पनि:-

साउन ८, २०८१ बुधबार २०:१२:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।