फिल्ममा बुवाको मात्र रोल आउन थालेपछि सरोजले भने- 'एक जमानामा म पनि हिरोको रोल गर्थेँ'

फिल्ममा बुवाको मात्र रोल आउन थालेपछि सरोजले भने- 'एक जमानामा म पनि हिरोको रोल गर्थेँ'

काठमाडौं : ५० को दशक आसपासतिर अभिनेता सरोज खनालले छानी-छानी फिल्म खेल्न पाउने अवस्था थियो। फिल्म क्षेत्रमा राम्रै भइरहेको बेला एक्कासि अमेरिका हानिएका उनी एक दशकपछि नेपाल फर्किए। त्यसयता खेलेका सबैजसो फिल्ममा बुवाको भूमिकामा थन्किएका छन् सरोज। 

अझ अहिले त जुन फिल्म हातमा आयो त्यही फिल्म खेल्नुपर्ने अवस्था छ उनको। थोरै बजेटमा बनेको फिल्म होस् या महँगो, नयाँ निर्देशक हुन् या कलाकार सबैसँग मिलेर फिल्म खेल्नुपर्ने अवस्था छ। 

त्यो समयमा निर्देशक तथा सहायकलाई थर्काउँदै फिल्ममा अभिनय गरेका सरोज अहिले भने खुम्चिए। उनलाई अभिनेतामा लिएर फिल्म बनाउने निर्माता छैनन्।

यही साउन २५ गतेबाट हलमा लाग्ने फिल्म ‘नम्बरी सुन’को ट्रेलर रिलिज कार्यक्रममा उनले आफ्नो पिडा पोखे। नेपाली फिल्म क्षेत्रमा गुटबन्दी रहेको उनको आरोप छ।  

‘नेपाली फिल्म क्षेत्रमा गुटबन्दी छ,‘ उनले भने, ‘केही निर्देशकले, केही प्रोडक्शन कम्पनीले केही कलाकारसँग मात्र काम गर्ने चलन चल्दै आएको छ। यसैले हाम्रो हातमा त जस्ता-जस्ता फिल्म पर्छन्, ती फिल्मलाई न्याय दिने कोशिश गर्ने हो।’

छेउमा रहेको गौरव पहारीलाई हेर्दै उनले कुनै समय उनका बुबा मेरो बुबाको भुमिकामा अभिनय गर्नुहुन्थ्यो र अहिले समय परिवर्तन भएको बताए। अहिले गौरवको बुबा भएर अभिनय गर्नुपरेको छ भन्दै पुराना दिन सम्झिए। 

‘म पहिले हिरो खेल्थेँ, अहिले पनि सोही भूमिका खेल्छु भनेर हुँदैन,’ उनले छेउमै रहेका गौरवलाई हेर्दै भने, ‘समय अनुसार जस्तो भूमिका आउँछ, त्यही अनुसार काम गर्छु।’

नेपाली फिल्मकर्मीमा राजु गिरीले थोरै बजेटमा जस्तो पायो त्यस्तै फिल्म निर्माण गर्छ भन्ने आरोप लाग्दै आएको छ। 

राजुकै यही महिना मात्रै २ फिल्म प्रदर्शनमा आउँदैछ। साउन ११ गते ‘ईश्वर’ प्रदर्शनमा आउँदैछ भने २५ गते यही ‘नम्बरी सुन’। उनले नम्बरी सुनमा अभिनय गरेका छन्। 

गौरबका बुबाको भुमिकामा अभिनय गरेका सरोजको चित्त दुखाई ठुलो ब्यानरको फिल्ममा काम गर्न नपाउनु हो। उनी आफैले गत वर्ष फिल्म ‘बगान’ प्रदर्शनमा आएको थियो। जुन फिल्मले लगानी ठिकै गरेको थियो। 

त्यसपछि उनले अर्को फिल्ममा निर्देशन गर्ने अवसर पाएका छैनन्। 

साउन ८, २०८१ बुधबार १९:१५:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।