मर्मतका लागि उडेको प्लेनमा नियम मिचेर परिवार लग्दा तीनै जनाले गुमाए ज्यान

काठमाडौँ : बुधवार सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाको ज्यान गयो जसमा एकै परिवारका तीन जना परे। विमान मर्मतका लागि पोखरा जान उडेको थियो। त्यसैले विमानमा अधिकांश कर्मचारीहरू नै रहे पनि सौर्य एयरलाइन्सका प्राविधिक मनुराज शर्मा भने उनकी श्रीमती प्रिजा खतिवडा र ४ वर्षीय छोरा अधिराज शर्मा समेत थिए।

प्रिजा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सहायक कम्प्युटर अपरेटर थिइन्। नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार मर्मतका लागि उडेको विमानमा कर्मचारीबाहेक अन्य यात्रु राख्न मिल्दैन । तर शर्मा परिवारसहित पोखरा जान खोज्दा दुर्घटनामा पर्दा तीनै जनाको ज्यान गयो।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ह्याङगर भएकाले सो विमान मर्मतका लागि त्यता लैजान प्राविधिक समूहसहित विमान बिहान ११ बजेर ११ मिनेटमा उडे पनि त्यसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको परिसर समेत पार गर्न सकेन।

भुलका अनुसार सो विमानको इन्जिनको अवधि २०२५ अप्रिल १७ सम्म थियो। उडानको अवधि भने एक सय १९ घण्टा थियो। उडान समय सकिएको तीन दिनपछि समेत मर्मतका लागि उडाउनु सामान्य प्रचलन रहेको भुलले दाबी गरे।

यस अगाडि मर्मतका लागि विदेश लैजाने गरे पनि पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेसँगै ह्याङगर रहेकाले आवश्यक प्राविधिक नेपालमै बोलाएर यतै मर्मत गर्ने गरिएको छ। बुधवार उडेको विमान पनि मर्मतकै लागी उडेको देखियो।

यस्तो उडानमा मर्मतमा संलग्न कर्मचारी बाहेक अन्य यात्रु लैजान नपाइने भुलले उकेरालाई बताए। तर सो उडानमा एक नाबालक र एक महिला गैर कर्मचारी समेत थिए। एकाएक विमान ढुन्मुनिदै खसेर आगो लागेको थियो।

ढिस्कोमा रहेको कन्टेनरमा प्लेन ठोकिदा पाइलट त्यसै झर्दा उनी बाँच्न सफल भए। तर चालक दलका एक सदस्यसहित १८ जना रहेको भाग कन्टेनरसहित सिधा तल चौरमा पुग्दा दनदन आगो लागिसकेको थियो। उद्धार टोली दमकलसहित पुगेर आगो निभाए पनि १८ जनाको जीवित उद्धार हुन सकेन।

कहिले बनेको थियो प्लेन ?

दुर्घटनामा विमान सन् २००३ अप्रिल १० मा बनेको देखिन्छ। प्रारम्भमा यो एटलान्टिक कोस्ट एयरलाइन्सले उडाएको थियो। एक वर्षपछि इन्डिपेन्डेन्स एयरले उडायो। सन् २००७ मा आरिक एयर. २००८ मा साउथ अफ्रिका एक्सप्रेसले उडाउन सुरु गरेको यो विमान सन् २०१७ मार्च १४ मा सौर्य एयरलाइन्सले किनेर नेपालमा उडाइरहेको थियो।

साउन ८, २०८१ बुधबार १७:२०:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।