सौर्य जहाज दुर्घटना : बाबु-आमासहित अस्ताए चार वर्षे बालक

सौर्य जहाज दुर्घटना : बाबु-आमासहित अस्ताए चार वर्षे बालक

काठमाडौं : बुधबार सौर्य एयरलाइन्सको विमान दुर्घटनामा विमानमा सवार मृत्यु हुनेमा एकै परिवारका तीनजना रहेको पाइएको छ। दुर्घटनामा सौर्य एयरलाइन्सका प्राविधिक मनुराज शर्मा, उनकी श्रीमती प्रिजा खतिवडा र ४ वर्षीय छोरा अधिराज शर्माले ज्यान गुमाए।

प्रिजा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सहायक कम्प्युटर अपरेटर रहेको मन्त्रालयका प्रवक्ता नवीनराज सिंहले जानकारी दिए।

उनका अनुसार पोखरा उडेको सो विमानमा ऊर्जा मन्त्रालयकी कर्मचारी खतिवडा र उनको नाबालक छोरा रहेको र श्रीमान्सहित तीनै जनाको मृत्यु भएको हो। 

सौर्य एयरलाइन्सले विवरणमा खतिवडा र उनका छोरालाई पनि कम्पनीकै कर्मचारीको रुपमा देखाए पनि उनीहरू यात्रु रहेको खुलेको छ। 

यसअघि नागरिक उड्डयन प्राधिकरणले विमान दुर्घटनामा मृत्यु हुनेहरूको सूची सार्वजनिक गर्दा अधिराज शर्मा (बालक)को नाम पनि रहेको छ। 

बुधबार बिहान ११ बजेर ११ मिनेटमा काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको ९एन-एएमई कलसाइन रहेको विमान उड्ने बित्तिकै दाहिनेतिर मोडिएर पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त भएको हो।

विमानमा सवार १९ जनामध्ये १८ जनाको शव संकलन गरिएको र एक जनालाई जीवितै उद्धार गरिएको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ।  

यो पनि:-

साउन ८, २०८१ बुधबार १५:४५:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।