धावनमार्ग छाडे लगत्तै ‘मट्याङ्ग्रा लागेको चरा’ जसरी ढुन्मुनिदै झर्‍यो सौर्यको विमान

धावनमार्ग छाडे लगत्तै ‘मट्याङ्ग्रा लागेको चरा’ जसरी ढुन्मुनिदै झर्‍यो सौर्यको विमान

काठमाडौँ : चालक दलका सदस्यसहित १९ जनासहित पोखरा उडेको सौर्य एयरलाइन्सको विमानले धावनमार्ग छाडेर आकाशतिर सोझिएको मात्रै थियो ढुन्मुनिदै विमानस्थलको उत्तर-पूर्वतिर झर्यो। ९ एन–एएमई सीआरजे-७ कल साइनको जहाज पहिला विमानस्थल नजिकको ढिस्कोमा रहेको कन्टेनरमा ठोकिएर इन्जिनसहित यात्रु रहेको मूल भाग सडक नजिकैको चौरमा पुगेका थियो।

सो कन्टेनरमा एयर डायनेस्टीको हेलिकप्टरका इन्जिनहरू रहेका थिए। प्लेनले आफूसँगै कन्टेनरलाई समेत घिसारेर लगेको थियो। दुर्घटनामा परेको विमान ११ बजेर ११ मिनेटमा धावनमार्ग छाडेको थियो।

ढिस्कोमा ठोकिँदा त्यतै झरेका विमानमा पाइलट बाँचे अन्य तीन जना घाइते अवस्थामा फेला परे। तर उनीहरूको पनि ज्यान भने जोगिन सकेन। बाँकी भने मूल भागमा लागेको आगलागीका कारण जीवितै उद्धार हुन सम्भव भएन। प्रारम्भमा उद्धारका लागि दमकलसहितको उद्धार टोली मूल विमानस्थलबाटै प्रवेश गरेका थिए।

तर, विमानमा आगलागी भएको भाग तल चौरमा पुगेको थियो। पेप्सीकोलाको सडक नजिकै दनदनी आगो लागेको थियो। पहिल्यै उद्धार टोली पेप्सीकोलातिरबाट गएका भए क्षति कम हुन सक्थ्यो।

दमकल अनि एम्बुलेन्सहरू पनि मूल विमानस्थलतिरै गएका थिए। घाइतेको उद्धार गर्न पेप्सीकोला क्षेत्र सहज हुने भएपछि उनीहरू फर्किएर कोटेश्वरहुँदै पेप्सीकोला क्षेत्रमा गएका थिए।

विमान मर्मतका लागि पोखरा उडेको बताइएको छ। विमानमा रहेका यात्रुहरू सौर्य एयरलाइन्सकै कर्मचारी रहेको बताइएको छ।

कहिले बनेको थियो प्लेन ?

दुर्घटनामा परेको विमान सन् २००३ अप्रिल १० मा बनेको देखिन्छ। प्रारम्भमा यो एटलान्टिक कोस्ट एयरलाइन्सले उडाएको थियो। एक वर्षपछि इन्डिपेन्डेन्स एयरले उडायो। सन् २००७ मा आरिक एयर. २००८ मा साउथ अफ्रिका एक्सप्रेसले उडाउन सुरु गरेको यो विमान सन् २०१७ मार्च १४ मा सौर्य एयरलाइन्सले किनेर नेपालमा उडाइरहेको थियो।

साउन ८, २०८१ बुधबार १४:१२:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।