ग्लोबल ग्रुप र नेपाल लाइफ इन्स्योरेन्सबीच लगानी सम्झौता, छिट्टै आईपीओ निकाल्ने तयारी

ग्लोबल ग्रुप र नेपाल लाइफ इन्स्योरेन्सबीच लगानी सम्झौता, छिट्टै आईपीओ निकाल्ने तयारी

काठमाडौं : प्रतिष्ठित शैक्षिक संस्था प्रोफेसनल एजुकेटर्स लिमिटेड (ग्लोबल ग्रुप) र बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सबीच इक्विटी लगानी सम्झौता सम्पन्न भएको छ।

साउन ६ गते गुरुपूर्णिमाका दिन काठमाडौंको एक होटलमा भएको कार्यक्रममा प्रोफेसनल एजुकेटर्स लिमिटेडका तर्फबाट अध्यक्ष डा. खगेन्द्रप्रसाद ओझा र नेपाल लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले इक्विटी लगानी सम्झौतामा हस्ताक्षर गरे।

कार्यक्रममा ओझा र पराजुलीसहित नेपाल लाइफ इन्स्योरेन्सका अध्यक्ष गोविन्दलाल सङ्घाई, वरिष्ठ सञ्चालक तथा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल तथा दुवै प्रतिष्ठित कम्पनीका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृतहरू, वरिष्ठ अधिकृतहरू, चार्टर्ड एकाउन्टेन्टहरू तथा कानुनी सल्लाहकारहरूको उपस्थिति रहेको थियो।

लगानीका क्षेत्रमा नेपालमा पहिलो पटक संस्थागतरूपमा यस किसिमको अभूतपूर्व सहकार्य हुँदै मुलुकको शैक्षिक इतिहासमा नयाँ आयामको थालनी भएको ग्लोबल ग्रुपको दाबी छ। शैक्षिक प्रवर्धनमुखी कदम र नयाँ प्रयोगका माध्यमबाट प्रोफेसनल एजुकेटर्स लिमिटेडले आफ्नो आगामी यात्रा क्रममा शिक्षा क्षेत्रको दिगो संस्थागत संरचना खडा गर्दै अगाडि बढ्ने लक्ष्य लिएको छ।

प्रोफेसनल एजुकेटर्स लिमिटेडले निकट भविष्यमा नै सर्वसाधारणका लागि लगानीको अवसर प्रदान गर्ने गरी प्राथमिक सार्वजनिक निस्काशन (आईपीओ) जारी गर्न धितोपत्रको सूचीकरणसम्बन्धी प्रक्रियासमेत अगाडि बढाउने भएको छ।

यस किसिमका अग्रगामी पहलकदमीबाट शैक्षिक क्षेत्रमा नव उन्नयन हँुदै काँचुली फेरिने अपेक्षाका साथ दुवै पक्षबाट सहकार्यका साथ अघि बढ्ने प्रण गरिएको छ। साथै, नेपालको निजी क्षेत्रबाट सेवा प्रदान गरिएको शैक्षिक क्षेत्रको संस्थागत विकासमा यस किसिमको सहकार्यबाट समृद्धिको नयाँ अध्याय सुरु भएको विश्लेषण गरिएको छ।

साउन ८, २०८१ बुधबार १०:५२:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।