इथियोपियाको पहिरोमा पुरिएका २२९ जनाको शव निकालियो, अझै कयौं बेपत्ता

इथियोपियाको पहिरोमा पुरिएका २२९ जनाको शव निकालियो, अझै कयौं बेपत्ता

एजेन्सी : इथियोपियाको गोफामा लगातारको वर्षापछि आएको पहिरोमा पुरिएका मध्ये २२९ जनाको शव निकालिएको छ।

गोफाको पहाडी क्षेत्रमा आइतबार विहानैदेखि परेको भारी वर्षापछि आइतबार साँझ र सोमबार बिहान दुईवटा पहिरो खसेको थियो।

पहिरोमा पुरिएर पनि बाँचेका १० जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको गोफा क्षेत्रका प्रशासक डग्मावी आयलेलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

सोमबार प्रहरी अधिकारी र आसपासका मानिसहरू खोजी तथा उद्धार कार्यमा जुटेका बेला दोस्रो पटक पहिरो खसेपछि उनीहरू पनि पुरिएका थिए।

डग्मावी आयलेले भने, ‘हामी अझै खोजको क्रममै छौँ।’

स्थानीय प्रशासनले अन्य केही मानिसहरू पनि बेपत्ता रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने बताएको छ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा सयौं मानिस घटनास्थलमा जम्मा भई  फसेका मानिसको खोजीमा लागिरहेको देख्न सकिन्छ।

गोफा दक्षिणी इथियोपिया राज्यको हिस्सा हो। यो राजधानी अदिस अबाबाबाट ३२० किलोमिटर दक्षिण-पश्चिममा अवस्थित छ।

साउन ८, २०८१ बुधबार ०८:०३:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।