एसिसी महिला एसिया कपमा नेपालको उपलब्धि : युएईलाई हराउनु, पाकिस्तान-भारतसँग टिक्नु

एसिसी महिला एसिया कपमा नेपालको उपलब्धि : युएईलाई हराउनु, पाकिस्तान-भारतसँग टिक्नु

काठमाडौँ : एसीसी महिला एसिया कपमा नेपाल भारतसँग ८२ रनले पराजित भएसँगै समूह चरणबाटै बाहिरियो। समूह ए मा रहेको नेपालले तेस्रो खेल मङ्गलवार भारतसँग खेलेको थियो।

भारतले १ सय ७९ रनको लक्ष्य दिएकोमा नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९६ रन मात्र बनायो। भारतसँगको खेलमा रन बन्न सकेन। तर पुरै ओभर नेपाली ब्याटर मैदानमा टिक्न सफल भए।

नेपालका लागि सीता राना मगरले २२ बलमा ३ चौकासहित १८ रन बनाएकी थिइन्। यो नै नेपालको ठुलो व्यक्तिगत स्कोर थियो।

कप्तान इन्दु बर्माले १८ बलमा २ चौकासहित १४ र रुबिना क्षेत्रीले १६ बलमा २ चौका र १ छक्कासहित १५ रन बनाएका थिए। अन्य खेलाडी दोहोरो अंकमा नि पुग्न सकेनन्।

भारतको दीप्ति शर्माले ३, अरुणधिता रेड्डी र राधा यादवले २-२ विकेट लिएकोमा रेनुका सिंहले १ विकेट लिइन्।

श्रीलङ्काको राङगिरी दम्बुला अन्तर्राष्ट्रिय रङ्गशालामा भएको खेलमा भारतले  टस जितेर ब्याटिङ रोज्यो। भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ७८ रन बनाएको थियो।  

ओपनर शेफाली बर्माले ४८ बलमा १२ चौका र १ छक्कासहित सर्वाधिक ८१ रन बनाएकी थिइन्।  ओपनर दयालन हेमलथाले ४२ बलमा ५ चौका र १ छक्कासहित ४७ रन बनाइन्।

नेपालको सीता राना मगरले  २ विकेट लिभदा कविता जोशीले १ विकेट लिइन्।  

नेपालसहित समूह ए मा युएई, भारत र पाकिस्तान थियो। नेपालले पहिलो खेलमा युएईलाई ६ विकेटले हराएर एसिया कपमै पहिलो जित निकालेको थियो। दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको थियो।

तीनवटै खेल जितेर ६ अंकसहित भारत समूहको शीर्ष स्थानमा रहेर सेमिफाइनलमा प्रवेश गर्यो।

पाकिस्तानलाई सात विकेटले हराएको भारतले युएईलाई ७८ रनले हराएको थियो। पाकिस्तानले नेपाल र युएइलाई हराउँदै चार अंकसहित समूह चरणमा दोस्रो भएर सेमिफाइनल प्रवेश गर्यो।

नेपालले एक खेल जितेर दुई अङ्कसाथ समूह चरणमा तेस्रो स्थानमा रह्यो। युएइले सबै खेल गुमाएर समूह चरणको पुछारमा रह्यो।

साउन ८, २०८१ बुधबार ००:०७:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।