ललितपुर थैबको एक सुधार गृहका व्यक्तिमा हैजा पुष्टि, दुई जना उपचारमा, तीन जना भागे

ललितपुर थैबको एक सुधार गृहका व्यक्तिमा हैजा पुष्टि, दुई जना उपचारमा, तीन जना भागे

काठमाडौँ : ललितपुर गोदावरी नगरपालिकास्थित थैबको एक सुधार गृह (पुनर्स्थापना केन्द्र) मा बसेका एक जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ। शुक्रवार काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका युवामा हैजाको सङ्क्रमण पुष्टि भएपछि उपचार भइरहेको छ।

टेकु अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले ती युवाको स्वास्थ्य उपचार सुधारोन्मुख छ। बसौलाका अनुसार झाडापखाला लगायतको समस्या भएपछि सुधार गृहमा बस्ने ती युवाको आरडीटी परीक्षण गरिएको थियो।

आरडीटी परीक्षणमा पोजेटिभ देखिएपछि ती युवा टेकु अस्पताल भर्ना भएको र उनको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा दिसाको कल्चर (प्रयोगशाला परीक्षण) गर्दा सोमबार हैजाको सङ्क्रमण पुष्टि भएको रिपोर्ट आएको निर्देशक डा. बसौलाले जानकारी दिए।  यो वर्ष हैजा सङ्क्रमण पुष्टि भएको यो पहिलो घटना भएको अस्पतालले जनाएको छ।

०००

टेकुबाट थैबमा हैजा पुष्टि भएको खबर पाएपछि सोमबार जनस्वास्थ्य कार्यालय,  ललितपुरले स्थानीय तहलगायतसँग समन्वय गरी जिल्लाको र्यापिड रेस्पोन्स टिम (आरआरटी) सो सुधार गृहमा पुगेर खोजपड्ताल गरेको ललितपुर जनस्वास्थ्य कार्यालयका प्रमुख डा. भुवन पौडेलले जानकारी दिए।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी), विश्व स्वास्थ्य सङ्गठन, जनस्वास्थ्य कार्यालय ललितपुरको टिम, गोदावरी नगरपालिकाको स्वास्थ्य शाखा लगायतको टिमले सो सुधार गृहमा कसरी हैजा देखियो भन्ने विषयमा खोज पड्ताल गरी सो सुधार गृहमा बस्ने अन्य व्यक्तिमा पनि आरडीटी परीक्षण गर्यो गरेको उनले बताए।

जनस्वास्थ्य कार्यालय प्रमुख डा. पौडेलका अनुसार आरडीटी परीक्षण गर्दा सो सुधार गृहका अन्य चार जनामा पनि आरडीटी परीक्षणको रिपोर्ट पोजेटिभ देखियो। आरडीटी परीक्षणमा पोजेटिभ देखिएका चार व्यक्तिलाई सोमबार बेलुका नै टेकु अस्पतालमा ल्याएर भर्ना गरियो। ती चारै जनालाई झाडापखाला थियो।

टेकु अस्पताल भर्ना गरिएका चारै जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा दिसाको कल्चर (प्रयोगशाला परीक्षण) गर्न पठाए पनि त्यसको रिपोर्ट आउनै बाँकी रहेको टेकु अस्पतालले जानकारी दिएको छ।

सोमबार भर्ना भएका ५० वर्षे पुरुष पाटनमा रिफर

चार जनामध्ये करिब ५० वर्षका एक जना पुरुषमा झाडापखाला लगायतका कारण स्वास्थ्यमा बढी समस्या देखिएकाले ती  पुरुषलाई सोमबार राती नै टेकु अस्पतालको आइसियुमा भर्ना गरेर उपचार थालिएको टेकु अस्पतालका निर्देशक डा. बसौलाले जानकारी दिए।

स्वास्थ्य परीक्षण गर्दा ती पुरुषको मिर्गौलामा समेत समस्या देखिएकाले ती ५० वर्षे पुरुषलाई भने डाइलाइसिस पनि गर्नुपर्ने हुनसक्ने देखिएकाले मङ्गलवार दिउँसो पाटन अस्पताल रिफर गरिएको टेकु अस्पतालका निर्देशक डा. बसौलाले जानकारी दिए।

ती पुरुषमा झाडापखालाकासाथै झुम्म पर्ने, आलस्य हुने  र शरीरमा पानीको कमी (जल वियोजन) जस्ता लक्षण तथा समस्या समेत देखिएको थियो। हैजा परीक्षणको रिपोर्ट आउन बाँकी रहेकाले ती ५० वर्षे पुरुषको हैजा हो हैन भन्ने पुष्टि भई नसकेको टेकु अस्पतालले जानकारी दिएको छ।

तीन जना बिरामी अस्पतालबाट भागे

हैजाको लक्षण देखिएर टेकु अस्पतालमा सोमबार भर्ना गरिएका बाँकी तीन जनामध्ये ४० र २१ वर्षका दुई जना पुरुषलाई वार्डमा भर्ना गरिएको थियो भने करिब २८ वर्षका एक जना पुरुषलाई आकस्मिक कक्षमा नै भर्ना गरियो।

तर, राती १२-१ बजेतिर आकस्मिक कक्षमा राखेर उपचार गरिएका करिब २८ वर्षका पुरुष भने ट्वाइलेट जान्छु ट्वाइलेटको ढोका नै बन्द गरिदिएर ट्वाइलेटको झ्यालबाट भागे।

वार्डमा भर्ना गरिएका ४० र २१ वर्षका दुई जना पुरुष पनि सोमबार राती नै १ देखि २ बजेको बिचमा भागेका थिए। ती तीनै जना पुरुष हालसम्म सम्पर्कमा नआएको टेकु अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार ती तीनै जना टेकु अस्पतालमा उपचारका लागि भर्ना हुने बेलामा ‘हामीलाई केही भएको छैन, हामीलाई त्यसै समातेर ल्याए’ भन्दै भर्ना हुन मानेका थिएनन्।

औषधी दिने समयमा बिरामी खोज्दा बिरामी नै नदेखिएपछि सोधखोज गरियो। केही बेर खोज्दा पनि बिरामी नदेखिएपछि अस्पतालमा खैलाबैला मच्चिएको थियो।

तर, सुधार गृह (रिह्याभ सेन्टर)लाई फोन गर्दा त्यहाँ पनि टेकु अस्पतालबाट भागेका बिरामी सुधार गृहमा नपुगेको जानकारी पाएको टेकु अस्पतालका निर्देशक डा. बसौलाले जानकारी दिए।

भागेका तीन जनाको पनि कल्चरको रिपोर्ट आउन बाँकी नै रहेकाले उनीहरूमा हैजा थियो वा थिएन भन्ने पुष्टि हुन बाँकी नै रहेको निर्देशक डा. बसौलाले जानकारी दिए। ती तीन युवा हराएको विषयमा इडिसिडीलाई मङ्गलवार बिहानै जानकारी गराएको टेकु अस्पतालले जनाएको छ।

सोमबार नै सो सुधार गृहका भागेका ती तीन र टेकु अस्पतालबाट पाटन अस्पतालमा रिफर गरिएका एक सहित  ६ जनामा आरडीटी परीक्षण गर्दा चार जनामा पोजेटिभ देखिएपछि ती चार जना हैजाको लक्षण देखिएकालाई उपचारका लागि टेकु अस्पताल पठाइएको जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. पौडेलले बताए।

तर, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हैजा हो हैन भन्ने पुष्टिका लागि ती ६ जनाकै नमुना पठाइएको उनले जानकारी दिए।

सुधार गृहमा केहीमा अलिअलि झाडापखालाको समस्या भए पनि खासै समस्या भने नदेखिएको डा. पौडेलले बताए। मङ्गलवार पनि इडिसिडी, विश्व स्वास्थ्य सङ्गठन, जनस्वास्थ्य कार्यालयको टिम, नगरपालिकाको स्वास्थ्य शाखा लगायतको टिमले सो सुधार गृहमा कसरी हैजा देखियो भन्ने विषयमा खोज पड्ताल गरिरहेको डा. पौडेलले जानकारी दिए।

हैजाको सङ्क्रमण देखिएको सो सुधार गृहमा पुगेर ललितपुरको स्वास्थ्य कार्यालय र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) र विश्व स्वास्थ्य सङ्गठनलगायतको टोलीले पानीको नमुना परीक्षणका लागि लिनुका साथै कहाँबाट कसरी हैजा देखियो भन्ने विषयमा खोज पड्ताल गरिरहेको इडिसिडीका एक कर्मचारीले पनि जानकारी दिए।

सुरुमा दुई जना पाटन भर्ना

त्यसो त टेकु अस्पतालमा यी पाँच जना हैजाको लक्षण भएका व्यक्ति पुग्नु अघि समेत सो सुधार गृहमा राखिएका व्यक्तिलाई पखाला लागेपछि सुरुमा दुई जना पुरुषलाई पाटन अस्पताल र एक जना पुरुष टेकु अस्पतालमा गएको जानकारी पाएको जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. पौडेलले बताए।

टेकु अस्पतालमा आएका व्यक्तिको  हैजा पुष्टि भए पनि पाटन गएका दुई जना भने आइसियु चाहिने भएकाले रिफर भएर जावलाखेलको एक निजी अस्पताल (नेपाल क्यान्सर अस्पताल)मा गएको र उनीहरूको दिसाको नमुना परीक्षण गर्न भारत पठाइएकाले रिपोर्ट आउनै बाँकी रहेको जानकारी पाएको जनस्वास्थ्य कार्यालय प्रमुख डा. पौडेलले जानकारी दिए। तर, पाटन अस्पताल हुँदै निजी अस्पतालमा भर्ना भएका ती दुई जना भने सन्चो भएर अस्पतालबाट डिस्चार्ज भएर फर्किएको जानकारी पाएको उनले बताए।

वर्षाको समयमा झाडापखाला तथा हैजाको जोखिम भएकाले पानी उमालेर पिउन चिकित्सकको सुझाव छ। 

साउन ७, २०८१ मंगलबार २२:०७:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।