पहिलोपटक बागमती सरकारको नेतृत्वमा पुग्यो कांग्रेस, बहादुरसिंह लामा मुख्यमन्त्री नियुक्त

पहिलोपटक बागमती सरकारको नेतृत्वमा पुग्यो कांग्रेस, बहादुरसिंह लामा मुख्यमन्त्री नियुक्त

काठमाडौं : बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त भएका छन्।

मंगलबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ (२) अनुसार मंगलबार लामालाई मुख्यमन्त्रीमा नियुक्त गरे।

लामालाई कांग्रेसका ३७ र एमालेका २७ सांसदको समर्थन रहेको छ।

उनको भोलि ११ बजे प्रदेश प्रमुख कार्यालयमा शपथ हुनेछ। 

मुख्यमन्त्री लामाले भोलि नै कांग्रेसबाट सात र एमालेका ६ गरी १३ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेको कांग्रेस संसदीय दलका सचेतक गोविन्दप्रसाद लम्सालले बताए । 

उनी बागमतीको पाँचौं मुख्यमन्त्री हुन्। गत ०७९ चैत २६ मा उनले बागमती सरकारमा आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन्। 

योसँगै नेपाली कांग्रेसले बागमती सरकारको पहिलोपटक नेतृत्व गर्ने अवसर पाएको छ।

२०७९ मंसिरमा भएको चुनावमा कांग्रेस पहिलो दल भएपनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेसँग तालमेलमा नयाँ सरकार बनाएसँगै बागमतीमा माओवादीका शालिकराम जम्कट्टेल २५ पुस २०७९ मा मुख्यमन्त्री नियुक्त भएपछि कांग्रेस प्रतिपक्षमा पुगेको थियो।

साउन ७, २०८१ मंगलबार १८:३४:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।