सर्वोच्चको अन्तरिम आदेशमा पद जोगिएका भुवनको उपलब्धि : बोर्ड अध्यक्षका रूपमा प्रेमिकासँग १२ पटक विदेश भ्रमण
काठमाडौँ : भुवन केसी २०७९ साउन ९ मा चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त हुँदा दुई वर्षीय कार्यकालमा नेपालको फिल्म क्षेत्रको कायापलटै हुने जस्तै दाबी गरे।
४० वर्षदेखि फिल्म क्षेत्रमा काम गरेको, फिल्मकर्मीको मर्म बुझेको लगायतका दाबी गरेका उनको अध्यक्षको कार्यकाल सकिनै लाग्दा उपलब्धिभन्दा विवादको सङ्ख्याको जित भयो। केसी बुधवारबाट बोर्ड अध्यक्षबाट बिदा हुँदै गर्दा उनको कार्यकालमा भएका एउटा पनि सम्झना लायक काम देखिँदैन।
बोर्ड अध्यक्षका रूपमा बिचौलियाको प्रोत्साहन, समस्यामा परेका फिल्मकर्मीको समस्या समाधान गर्न रकम बार्गेनिङ जस्ता विकृतिको त चाङ नै बनाए उनले दुई वर्षको अवधिमा।
मानव तस्करीमा जोडिएको संस्थालाई फाइदा हुनेगरि बोर्डको पैसामा विदेशमा नाम मात्रको फिल्म महोत्सव आयोजना गर्ने, पत्रकारका आवरणमा रहेका विवादित पात्रहरू संलग्न संस्थालाई विदेशमा नेपाली चलचित्रको विकासको आवरणमा ‘मानव तस्करीमा सहयोग पुग्ने’ कार्यक्रमको स्वीकृति दिने जस्ता काम गरेर कार्यकाल बिताए उनले।
नेपाली फिल्मकर्मीलाई सुटिङमा समस्या परेको भन्दै दोलखा पुगेर बन्दै गरेको सुटिङ स्थलको निरीक्षण गरेर फर्किएका उनले आफ्नो कार्यकालभरि फिल्म सिटी निर्माणका लागि उल्लेख्य काम गर्न सकेनन्।
नेपालमा प्रदर्शन हुने नेपाली तथा विदेशी भाषाका फिल्मको व्यापार पारदर्शी बनाउन करिब ४ करोड लगानीमा बक्स अफिस प्रणालीको स्थापना भयो। पहिलो वर्ष त उनले वर्षभरि रिलिज भएका नेपाली र विदेशी फिल्मको व्यापार सार्वजनिक गरेका पनि थिए।
तर पारदर्शिता मन नपराउने केही निर्माताहरू रिसाएकै आधारमा उनले बक्स अफिसको प्रतिवेदन गोप्य राखे। गत आर्थिक वर्ष सकिएपछि विवरण सार्वजनिक गरेको बोर्डले यस पटक विवरण सार्वजनिक गरेन।
विवरण सार्वजनिक हुँदा फुई लगाउँदै मेरो फिल्मले यति कमायो भन्ने निर्माता अनि कर छल्न पल्किएका निर्माता दुवै मारमा परेका थिए। निर्माता समेत रहेका केसी पनि बदनियत रहेका निर्माताहरूकै पक्षमा लागेर दैनिक भएको व्यापार सार्वजनिक गर्दा समेत फरक नपर्ने बक्स अफिसको विवरण लुकाउनतिरै लागे।
भुवनकै पालामा चलचित्र विकास बोर्डले ‘नेपाली सिनेमा फेस्ट २०२३’को आयोजना गरेको थियो। विवादित सूर्य कर्पोरेसनको सहकार्यमा ‘टेकिङ नेपाली सिनेमा टु दि वर्ल्ड’ नारा दिएर दुबईमा भएको सिनेमा फेस्टिभल नाम मात्रको भयो। यो आयोजक संस्था कलाको नाममा मानव तस्करीमा जोडिएको थियो। वैदेशिक रोजगारको आवरणमा ठगी गरेको आरोप समेत खेपेको संस्थालाई भुवनले बोर्डको साझेदार बनाएर सरकारी कोष खर्च गरे।
उनी बोर्ड अध्यक्ष नियुक्त हुने बित्तिकै उनको शैक्षिक योग्यताको विवाद आएको थियो। नियुक्ति खारेजीको माग गर्दै सर्वोच्चमा रिट पनि पर्यो। न्यायाधीश डा. आनन्दमोहन भट्टराई र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले मुद्दाको अन्तिम किनारा नलागेसम्म काम गर्न रोक नलगाउन आदेश दियो। उनको अवकाश पक्का भइसक्दा पनि अन्तरिम आदेशमै अड्किएको छ उनको योग्यता।
फिल्मले उठाएको कथामा तत्कालीन सञ्चारमन्त्री रेखा शर्मालाई चित्त नबुझ्दा फिल्म ‘प्रकाश’ का अभिनेता प्रदीप खड्काले राष्ट्रिय पुरस्कार पाएनन्। फिल्म ‘प्रकाश’उत्कृष्ट फिल्ममा समावेश भएपछि सो क्याटोगरीको पुरस्कारै हटायो।
प्रदीपकै अर्को फिल्म ‘प्रेम गीत ३’ को हिन्दी डब नेपालमा प्रदर्शन गर्दा विदेशी फिल्मको क्याटगरीमा प्रदर्शन गराउने उनको प्रयास सफल भने भएन। तर नेपाली फिल्मको विकासमा सघाउने उनको दाबी र नियत भने सार्वजनिक भयो।
२०२६ सालको चलचित्र ऐन संशोधन गर्न प्रयास गरे पनि बोर्डलाई स्वायत्त संस्थाको सट्टा सञ्चार मन्त्रालयको शाखा समान अधिकार दिने उल्लेख भएपछि उनी चलचित्रकर्मीकै तारोमा परे।
उनलाई बोर्ड अध्यक्ष बनाउने रणनीति अनुसारै नेपाली कांग्रेसका प्रवेश गराएर अध्यक्ष बनाउनसम्म लबिइङ गरेका निर शाह नै उनको विपक्षमा उभिने अवस्थासम्म आयो।
फिल्म फेस्टिभलका नाममा १२ पटक विदेश
उनको सबैभन्दा ठुलो व्यक्तिगत उपलब्धि विदेशमा नेपाली फिल्मको प्रमोसनको बहानामा पटक-पटक बोर्डको पैसामा विदेश भ्रमण देखियो। अधिकांश भ्रमणमा उनी प्रेमिकासँगै गएका थिए।
कार्यकाल सकिन लाग्दा पनि उनी ‘नेपाली फिल्म फेस्टिभल-२०२४’ को लागि बेलायत पुगेका छन्। यो उनको १२ औँ विदेश भ्रमण हो।
दुई वर्षमा केसी बोर्ड अध्यक्षको हैसियतमा बेलायतमा मात्रै तीन पटक पुगे। विदेशमा हुने फिल्म फेस्टिभलमा बोर्ड आफैले दुई लाखदेखि पाँच लाख रुपैयाँसम्म आर्थिक सहयोग गर्दै आएको छ।
यसअघि उनी गत माघमा नेशनल डेल्फिक काउन्सिल नामको गैह्र सिने संस्थाले बेलायतमा आयोजना गरेको सेमिनारमा सहभागी हुन पुगेका थिए। सो संस्थाले कार्यक्रममा सहभागी हुन कलाकारहरूसँग पैसा मागेको भन्दै बोर्डकै सदस्यले आरोप लगाए पनि केसीलाई त्यसले केही फरक परेन। उनी लाजै नमानी गए।
उनी दुई पटक अमेरिका पुगे। अमेरिकास्थित कोलोराडोको डेनवरमा भएको पाँचौँ ‘एटा एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड -२०२२’, छैटौँ ‘एटा एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड -२०२३’ दुबैमा सहभागी भए। एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्डको नाममा अमेरिकामा भएको कार्यक्रममा पनि उनी सहभागी भए।
जापानमा गत माघको अन्तिममा आयोजन गरेको ‘एमएमएस अवार्ड-२०२४’को कार्यक्रममा प्रेमीका जिया केसी बोकेर पुगे। उनी दुई पटक भारतको मुम्बई पुगे।
२०७९ फागुनको पहिलो साता दुबईमा तीन दिवसीय ‘नेपाल सिनेमा फेस्टा-२०२३’ आयोजनामा सहभागी भए। बोर्डका तर्फबाट ५० लाख रुपैयाँ खर्च गरेर एउटा निजी कम्पनीसँग केसीले अवार्ड कार्यक्रम गराएको भनेर उनी विवादमा तानिएका थिए।
साउन ८, २०८१ मंगलबार १७:२६:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।