कबिर सिंहका साहिदको झल्को दिने 'आउट ल : दफा २१९' को सुशीलको लुक्स

कबिर सिंहका साहिदको झल्को दिने 'आउट ल : दफा २१९' को सुशीलको लुक्स

काठमाडौँ : रक्सी, चुरोट अनि सन्काहा पात्रको कथामा बनेको भारतीय फिल्म कबिर सिंहलाई युवा पुस्ताले खुब मन पराए। तर अति हिंसात्मक दृश्यका कारण फिल्म समीक्षकहरूको तारोमा परे सन्दीप रेडी भाङगा। तर उनले समीक्षकहरूको आलोचनालाई वास्ता नगरी थप हिंसात्मक फिल्म बनाए ’एनिमल’।

भारतमा गतिलो व्यापार गर्ने फिल्मी ट्रेन्ड नेपालमा अनुसरण हुनु सामान्य हुने नै भयो। नेपालमा पनि त्यही फ्लेवरका फिल्म निर्माण भए अगस्त्य त्यसैको नमुना थियो। असोज ३ मा रिलिज हुने नेपाली फिल्म ‘आउट ल : दफा २१९’ को ट्यागै अति हिंसात्मक राखिएको छ जसमा सुशील श्रेष्ठलाई एक्सन स्टारको ट्याग दिँदै लुक्स समेत टिजरमै कबिर सिंहका साहिद कपुरको कपी गरिएको देखिन्छ।

टिजरमा सुशीलको रिसाहा रूप देखाउँदा राखिएका भिज्योल सटहरू कुनै कबिर सिंहको झल्को दिन्छ त कुनैले एनिमलको। यसले निर्देशक विक्की महर्जनले भाङगाको फिल्म धेरै मिहेनत गरेर हेरेझैँ देखिन्छ। फिल्मको लेखन समेत उनैले गरेका हुन्।

फिल्ममा सुशीलसँगै नरेश पौडेल, शिक्षा सङ्ग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुन, विशाल पहारी लगायतका कलाकारले समेत अभिनय गरेका छन्। तर टिजरमा सुशील नै हाबी छन्।

साउन ७, २०८१ मंगलबार १६:४६:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।