चीन पुगेर राष्ट्रिय सभा उपाध्यक्ष घिमिरे भनिन्- नेपाल एक चीन नीतिप्रति दृढ छ

चीन पुगेर राष्ट्रिय सभा उपाध्यक्ष घिमिरे भनिन्- नेपाल एक चीन नीतिप्रति दृढ छ

काठमाडौं : राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले नेपाल एक चीन नीतिप्रति दृढ रहेको बताएकी छिन्।

चीनको युनान प्रान्तको कुन्मिङमा आयोजित ८ औं चीन–दक्षिण एसिया प्रदर्शनीमा मंगलबार सम्बोधन गर्दै उपाध्यक्ष घिमिरेले नेपाल एक चीन नीतिप्रति सधैं दृढ रहेको बताइन्। 

नेपालमा पञ्चशिलको सिद्धान्तमा आधारित विदेश नीति सञ्चालनमा रही आएको उल्लेख गर्दै उपाध्यक्ष घिमिरेले चीन नेपालबीच दौत्य-सम्बन्ध कायम भएपश्चात् चीन–नेपाल सम्बन्ध नयाँ उचाइमा पुगेको पनि बताइन्।

‘व्यापार, सुरक्षा, सेवा, विकास र प्रविधिमा चीनले हासिल गरेका उपलब्धिहरूबाट नेपाल पनि प्रत्यक्ष वा परोक्षरुपमा लाभान्वित हुँदै आएको छ,’ उनले भनिन्, ‘हामी एक चीन नीति प्रति दृढ छौं, आपसी व्यापार, लगानी, ज्ञान र सीप आदान–प्रदान यस प्रकारका प्रदर्शनीहरूबाट अझै विस्तार हुने कुरामा विश्वस्त छु।’

उनले चीनले नेपालका बहुआयमिक क्षेत्रहरूमा महत्वपूर्ण सहयोग पुर्याउँदै आएको चर्चा गर्दै चीन एक महत्वपूर्ण व्यापार साझेदार मुलुकको रुपमा रहेको बताइन्। 

चीनले विद्युतीय गाडी र ब्याट्री उत्पादनमा हासिल गरेको प्रगतिले पृथ्वीको तापक्रम स्थिर राख्न मद्दत पुगेको भन्दै उनले चीनको यस प्रगतिले नेपालको यातायात क्षेत्रसमेत लाभान्वित भएको जिकिर गरिन्। 

साउन ७, २०८१ मंगलबार १६:३६:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।