मनमोहन कलेजलाई सम्बन्धन दिन सांसद पाण्डेले संसदबाटै सुरु गरे लबिङ

मनमोहन कलेजलाई सम्बन्धन दिन सांसद पाण्डेले संसदबाटै सुरु गरे लबिङ

काठमाडौँ : एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले रोकिएको मनमोहन मेमोरियल कलेज तथा शिक्षण अस्पतालको सम्बन्धन खुलाउन प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरेका छन्। प्रतिनिधि सभामा बोल्दै उनले मेडिकल कलेजको सम्बन्ध रोक्दा नेपाली विध्यार्थीहरु विदेश जान बाध्य भएको भन्दै मनमोहनको सम्बन्धन खुलाउन आग्रह गरेका हुन्।

मनमोहन मेडिकल कलेज एमालेका नेताहरूको लगानी रहेको कलेज हो। सो कलेजले सम्बन्धनको प्रक्रिया अगाडि बढाएकोमा डा गोविन्द केसीको अनसनका कारण रोकिएको थियो।

पाण्डेले संसद्मा सम्बन्धन रोकिएका मेडिकल कलेजको सम्बन्ध खुलाउने पक्षमा वकालत गर्दै यस पक्षमा विशेष पहलका लागि प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका थिए।

नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडको नाममा सो मेडिकल कलेजमा एमालेमा सम्बन्ध नेताहरूले लगानी गरेका थिए। एमालेका नेता, चिकित्सक र स्वास्थ्यकर्मी मिलेर एक लाखदेखि १० लाखसम्मको लगानीमा नेपाल स्वास्थ्य सेवा सहकारी स्थापना गरेको थियो।

एमाले विभाजित भएर एकीकृत समाजवादीको गठन भएपछि मेडिकल कलेजको लगानीकर्ताहरू अहिले दुवै दलमा छन्। पाण्डे अहिले एकीकृत समाजवादीमा रहेका छन्।

२०६८ मा कलेजले एमबीबीबएस सम्बन्धनका लागि त्रिभुवन विश्वविद्यालयमा निवेदन दिएको थियो। सरकारबाट आशय पत्र पाए पनि पछि स्वीकृति पाएन। काठमाडौँ उपत्यकामा थप मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने मागसहित डा केसी अनसनमा बसेपछि सम्बन्धन प्रक्रिया रोकिएको थियो।

साउन ७, २०८१ मंगलबार १५:४३:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।