पूर्वमन्त्रीले बिचौलियालाई ५ हजार घूस दिएर काम गराएको घटनामा छानबिन गर्न प्रहरीलाई निर्देशन

पूर्वमन्त्रीले बिचौलियालाई ५ हजार घूस दिएर काम गराएको घटनामा छानबिन गर्न प्रहरीलाई निर्देशन

काठमाडौं : गृहमन्त्री रमेश लेखकले कर्मचारीलाई ५ हजार रुपैयाँ घूस दिएर काम गराएको भनेका पूर्वमन्त्री तथा सांसद् वीरेन्द्र महतोका सम्बन्धमा छानबिन गर्न प्रहरीलाई निर्देशन दिएका छन्।

मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै गृहमन्त्री लेखकले सांसद महतोले आफ्नो छोराको प्रमाणपत्र प्रमाणित गर्न बिचौलियालाई ५ हजार घूस दिनु परेको घटनाबारे तत्काल छानबिन गर्न प्रहरीलाई निर्देशन दिइएको जानकारी गराए।

‘व्यक्तिगत रूपमा पनि मैले उहाँलाई सोधेर त्यो मान्छे चिनाउन सहयोग गर्न आग्रह गरेको छु,’ उनले भने, ‘प्रहरीलाई उक्त घटनाको तत्काल छानबिन गर्न आवश्यक निर्देशन दिइसकिएको छ र यो विषय सरकारले अत्यन्त गम्भीरतापूर्वक लिएको छ।’

साउन ६ गतेको प्रतिनिधि सभाको बैठकमा जनता समाजवादी पार्टीका सांसद वीरेन्द्र महतोले आफूले छोराको शैक्षिक प्रमाणपत्र ‘इक्युभ्यालेन्ट’ बनाउन बिचौलियालाई ५ हजार रुपैयाँ घूस दिएर काम गराएको बताएका थिए। 

त्यसअघि आजकै बैठकमा कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले पूर्वमन्त्री महतोले ५ हजार रुपैयाँ घूस दिएर काम गराएको भन्ने अभिव्यक्ति नजरअन्दाज गर्न नमिल्ने भन्दै सभामुखको रुलिङको माग गरेका थिए। 

साउन ७, २०८१ मंगलबार १५:४३:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।