कांग्रेस सचेतक थिङले मन्त्रिपरिषद समावेशी नभएको विषय उठाएपछि रास्वपा सांसदले टेबुल ठोके

कांग्रेस सचेतक थिङले मन्त्रिपरिषद समावेशी नभएको विषय उठाएपछि रास्वपा सांसदले टेबुल ठोके

काठमाडौं : नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले प्रतिनिधि सभा बैठकमा समानुपातिक समावेशीताको विषय उठाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी सांसदहरूले टेबुल ठोकेर समर्थन गरेका छन्।  

मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संविधानअनुसार ३३ महिला मन्त्री हुनुपर्नेमा त्यो व्यवस्था लागू नभएको भन्दै संविधान कहिले लागू गर्ने हो भनेर प्रश्न गरिन्। मन्त्रिपरिषद् निर्माण गर्दा संविधान कुल्चिनेक्रम जारी रहेको उनको भनाइ छ। 

'मैले पढेको मनुस्मृतिमा यत्र नस्र्यस्य पुज्यन्ते रमन्ते तत्र देवता भन्ने थियो। यहाँ त यत्र पुरस्य पुज्यन्ते रमन्ते तत्र देवता जस्तो भयो,' उनले भनिन्, 'यो किन मैले भनिरहेको छु भने जुनसुकै मन्त्रिमण्डलमा पनि संविधानलाई कुल्चिएर ३३ प्रतिशत महिला मन्त्रिपरिषद्मा कहिले पनि देख्न नपाउने भयो। सायद पुरुषहरू नै प्रमुखमा भएर होला महिलाहरू मन्त्रीमा सिफारिस भएनन्।' 

उनले यति भनेपछि संसद्मा रास्वपाका अधिकांश सांसदले टेबुल ठोकेर समर्थन गरे। 

उनले अगाडि भनिन्, ‘मेरो उदाहरण प्रतिनिधि पात्र मात्र हो। म कानुनमा स्नातक गरेकी छु, सोसोलोजीमा स्नातकोत्तर गरेकी छु तर, म कहिल्यै मन्त्री बन्न योग्य भइँन।’

त्यसअघि असार ३० गतेको प्रतिनिधि सभा बैठकमा रास्वपाका सांसदद्वय तोसिमा कार्की र सोविता गौतमले मन्त्रिपरिषद्मा दलित, महिला लगायतको प्रतिनिधित्व किन नभएको भन्दै प्रश्न गरेका थिए। 

साउन ७, २०८१ मंगलबार १५:०८:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।