पूर्वमन्त्री महतोले ५ हजार घूस दिएर काम गराएको भन्ने अभिव्यक्तिमा सभामुखको रुलिङको माग
काठमाडौं : नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले पूर्वमन्त्री तथा सांसद वीरेन्द्र महतोले ५ हजार रुपैयाँ घूस दिएर काम गराएको भन्ने अभिव्यक्तिमा रुलिङको माग गरेका छन्।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले सभामुख देवराज घिमिरेसँग रुलिङको माग गरे।
उनले भने, ‘यही साउन ६ गतेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिँदै गर्दा एक नाम पूर्व मन्त्री तथा सांसद महतोले आफूले ५ हजार रुपैयाँ घूसमा आफ्नो छोराको काम भयो भन्ने अभिव्यक्ति राख्नुभएको थियो। गृहमन्त्री र प्रधानमन्त्रीउपर रुलिङ गर्नका लागि र आगामी तीन दिनभित्र जानकारी गराउन अनुरोध गर्दछु।’
उनले पाँच हजार घुस दिएको विषय नजरअन्दाज गर्न मिल्छ भन्दै प्रश्न गरे।
'प्रधानमन्त्रीले हिजो बोल्दा पनि कुरा आएन। यो ५ हजार घुस खायो भन्दै गर्दा नजरअन्दाज गर्न मिल्छ?,' उनले भने।
साउन ७, २०८१ मंगलबार १४:४८:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।