डेब्यु खेलमै सात विकेट लिएर स्कटल्याण्डका चार्ली क्यासलले बनाए कीर्तिमान

डेब्यु खेलमै सात विकेट लिएर स्कटल्याण्डका चार्ली क्यासलले बनाए कीर्तिमान

काठमाडौं : आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत स्कटल्याण्डका फास्ट बलर चार्ली क्यासलले कीर्तिमानी सात विकेट लिएका छन्।

अहिलेसम्म एक दिवसीय विश्वकपमा कसैले पनि सात विकेल लिन सकेको थिएन। यसअघि दक्षिण अफ्रिकाका कागिसो रबाडाले जुलाई २०१५ मा एकदिवसीयमा डेब्यु गर्दा ६ विकेट लिएका थिए।

क्यासललाई १५ जुलाईमा ओमान विरुद्धको स्कटल्याण्ड टोलीमा क्रिस सुले व्यक्तिगत कारणले अनुपलब्ध हुने भएपछि उनको स्थानमा समावेश गरिएको थियो।

क्यासलले आफ्नो अन्तर्राष्ट्रिय करियरको शानदार सुरुवात गरेका छन्। बाह्रौं ओभरमा मात्र बलिङका लागि जिम्मेवारी पाएका उनले पहिलो बलमै जीशान मसूदलाई एलबीडब्लू आउट गरेका थिए।

लगत्तै अर्को बलमा अयान खानलाई बोल्ड गरे। ह्याट्रिकको अवसर गुमाए पनि उनले सोही ओभरको चौथो बलमा खालिद केललाई क्याच आउट गराए।

टिमको चौधौं र आफ्नो दोस्रो ओभरमा उनले शोएब खानलाई क्याच आउट गराए। यो बेलासम्म उनले १.३ ओभरमा मात्र एक रन दिएर चार विकेट लिएका थिए।

मेहरान खान उनको पाँचौं शिकार बने। त्यसपछि उनले प्रतीक अठावलेलाई आउट गर्दै रबाडा र वेस्ट इन्डिजका फिडेल एडवर्ड्सको कीर्तिमानी बराबर पुर्याए। रबाडा र एडवर्ड्स डेब्यु एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा छ विकेट लिने दुई मात्र बलर हुन्।

त्यसपछि उनले बिलाल खानको विकेट लिए र सात विकेट लिएर कीर्तिमान तोडे।

क्यासलले ५.४ ओभरमा २१ रन खर्चिएर सात विकेट लिएसँगै ओमानले २१.४ ओभरमा ९१ रनमा समेटियो। जुन लक्ष्य स्कटल्यान्डले १७.२ ओभरमा दुई विकेट खर्चिएर पूरा गर्यो।

नेपाल समेत समावेश रहेको लिग २ को अहिले ओमान, नामिबिया र स्कटल्यान्डबीचको खेल जारी छ।

लिग-२ को अहिलेसम्मको अंक तालिका अनुसार क्यानडा सबै चार खेल खेल्दै पहिलो स्थानमा रहँदा छ मध्ये चार खेल जितेर नामिबिया दोस्रो स्थानमा छ।

समान छ खेलमा तीनमा जित निकालेको स्कटल्यान्ड तेस्रो हुँदा चारमध्ये दुईमा जित निकालेको नेदरल्यान्ड चौथो स्थानमा छ। चारमध्ये एक खेल मात्र जितेको नेपाल पाँचौं स्थानमा छ।

समान तीन-तीन खेलेका कुनै पनि जित निकाल्न नसकेका ओमान र यूएई क्रमश: छैटौं र सातौं स्थानमा छन्। अमेरिकाले भने लिग-२ को अहिलेसम्म एक खेल पनि खेलेको छैन।

साउन ७, २०८१ मंगलबार १३:२६:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।