रोजगारीका लागि नेपाल आउनेमा चिनियाँ नागरिक सबैभन्दा बढी
काठमाडौं : नेपालमा रोजगारीका लागि चिनियाँ नागरिकले सबैभन्दा बढी श्रम स्वीकृति लिएका छन्।
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार नेपालमा काम गर्नका लागि ९६ देशका नागरिकले श्रम स्वीकृति लिएका छन्। जसमध्ये सबैभन्दा धेरै चीनका रहेका छन्।
नेपालमा सञ्चालन भएका आयोजनाहरूले पाँच प्रतिशत मात्र विदेशी कामदार राख्न सकिने प्रावधान श्रम ऐनमा छ। नेपालमा रहेका एयरलाइन्स, इलेक्ट्रोनिक कम्पनी, खानेपानी, नहर तथा हाइड्रोपावर कम्पनीमा धेरै विदेशी कार्यरत छन्।
नेपालमा रहेका रोजगारदातामध्ये सबैभन्दा बढी विदेशीलाई काठमाडौं-तराई-मधेश द्रुतमार्गमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले रोजगारी दिएको छ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा रोजगारी खोज्दै नेपाल आउने विदेशी श्रमिकको संख्या भने घटेको छ। श्रम स्वीकृति लिने विदेशीको संख्या गत वर्ष भन्दा १० प्रतिशतले घटेको विभागको तथ्यांकमा उल्लेख छ।
सरकारबाट श्रम स्वीकृति लिने विदेशीको संख्या अघिल्लो आर्थिक वर्षभन्दा ३ सय ९ जना कम देखिएको तथ्याङ्कमा उल्लेख छ।
अघिल्लो आर्थिक वर्षमा नवीकरण र नयाँ गरी २ हजार नौ सय ९४ विदेशीले श्रम स्वीकृति लिएकोमा गत वर्षको सो अवधिमा नयाँ श्रमस्वीकृति र सोको नवीकरण गर्नेको संख्या २ हजार ६८५ रहेको छ।
यसमध्ये पनि विदेशी महिला कामदारको संख्या ३४९ रहेको तथ्यांकले देखाएको छ। २०७९/८० मा २ हजार नौ सय ९४ जनाले स्वीकृति लिएको विभागले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ।
गत आर्थिक वर्षमा भने एक हजार २० नयाँ आवेदकलाई श्रम स्वीकृति दिइएको थियो भने एक हजार ६६५ जनाको श्रमस्वीकृति नवीकरण गरिएको थियो।
पोलि चाङ्दा इन्जिनियरिङ कम्पनी, कञ्चनपुर-कमला रोड प्रोजेक्ट, चाइना ओभरसिज इन्जिनियरिङ, साञ्जेन खोला हाइड्रोपावर, हुवासिन नारायणी सिमेन्ट, होङ्सी शिवम् सिमेन्ट, हिमालय एयरलाइन्स, ब्रिटिश स्कुल, लिंकन स्कुल, हुवावे टेक्नोलोजीजस्ता सेवा क्षेत्रमा विदेशी नागरिक कार्यरत छन्।
साउन ८, २०८१ मंगलबार १२:१०:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।