क्रोएसियाको एक नर्सिङ होममा गोली चल्दा कम्तीमा ६ जनाको मृत्यु

क्रोएसियाको एक नर्सिङ होममा गोली चल्दा कम्तीमा ६ जनाको मृत्यु
आक्रमणपछि घटनास्थलमा क्रोएसियाका आन्तरिक मामिलामन्त्री

एजेन्सी : क्रोएसियाको एक नर्सिङ होममा गोली चल्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ।

आक्रमणपछि देशमा बन्दुक नियन्त्रणमा कडाइको माग उठ्न थालेको छ।

पूर्वी शहर दारुवरमा रहेको एक नर्सिंग होममा भएको गोलीकाण्डमा एक कर्मचारी सहित पाँच जनाको मृत्यु भएको थियो भने अर्का एक जनाको पछि अस्पतालमा मृत्यु भएको थियो।

आक्रमणमा परी कैयौं घाइते भएको र चार जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।

क्रोएसियाली मिडियाका अनुसार आक्रमणकारी हमलापछि घटनास्थलबाट भागेका थिए र पछि क्याफेमा पक्राउ परेका थिए। उनको साथबाट हतियार समेत बरामद भएको छ।

क्रोएसियाका राष्ट्रपति जोरान मिलानोभिकले गोली प्रहारबाट आफू स्तब्ध भएको बताएका छन्। उनले देशमा बन्दुकसम्बन्धी नियम ‘अझै कडा’ बनाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

‘यो एक गम्भीर चेतावनी हो र सबै संस्थाहरूलाई समाजमा हिंसा रोक्नको लागि थप कार्य गर्न आह्वान हो’, राष्ट्रपति मिलानोभिकले सामाजिक सञ्जालमा पोस्टमा लेखे।

प्रधानमन्त्री एन्ड्रेज प्लेन्कोभिकले यसलाई ‘भयानक आक्रमण’को संज्ञा दिँदै पीडितहरूप्रति समवेदना व्यक्त गरे।

स्थानीय मिडियाबाट प्राप्त अपुष्ट रिपोर्टहरू अनुसार आक्रमणकारी एक पूर्व सैनिक हुन्।

साउन ७, २०८१ मंगलबार १०:४१:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।