पर्सनल केयर प्रोडक्टहरूमा भेटियो घातक रसायन

पर्सनल केयर प्रोडक्टहरूमा भेटियो घातक रसायन

बुटवल : नेपालमा आयात, बिक्री वितरण तथा प्रयोग भैरहेका व्यक्तिगत सुरक्षाका सामग्रीहरूमा (पर्सनल केयर प्रोडक्ट) घातक रसायन प्रयोग हुने गरेको भेटिएको छ।

जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्र (सिफेड)ले गरेको अनुसन्धान बाट ह्यान्डवास, माउथ वास, बडिवास, दन्त मन्जन लगायतका वस्तुमा घातक इन्डोक्राइन डिस्रप्टिङ केमिकलहरू (रसायन) प्रयोग हुने गरेको भेटिएको हो।

सिफडले काठमाडौं, भक्तपुर, ललितपुरका सुपरमार्केट, डिपार्टमेन्टल स्टोर र औषधि पसलहरूबाट खरीद गरी ३० वटा नमूना परीक्षणका लागि दक्षिण कोरिया स्थित वोन्जिन इन्स्टिच्युट अफ अकुपेशनल एन्ड इन्भाइरनमेन्टल हेल्थमा पठाएको थियो।

परीक्षण पश्चात ३० वटा नमूना मध्ये १२ वटा नमुनामा घातक रासायन भेटिएको हो। सिफडले एन्टिभाइरस वाइप्स ३ वटा, बेवि वाइप्स २ वटा, डिओडोरेन्ट (सेन्टजस्तै) ३, टुथ पेष्ट ७ वटा, वेबि वास ५ वटा, फेमिन वास २ वटा, हेन्ड वास ४ वटा र माउथ वास ४ वटा गरी ३० वटा विभिन्न वस्तुहरू परीक्षणका लागि पठाएको थियो।

३० वटा व्यक्तिगत सुरक्षाका सामग्रीका नमुनाहरू मध्ये ४० प्रतिशत १२ वटामा मिथाइल पाराबेन, १० प्रतिशत ३ वटामा प्रोपाइल पाराबेन, ३.३ प्रतिशत १ वटामा ब्यूटाइल पाराबेन, ६.७ प्रतिशत २ वटामा ट्राइक्लोसान र ६.७ प्रतिशत २ वटामा ट्राइक्लोकार्बन रसायनहरू पाइएको छ।

त्यसमध्ये नेपालमा आयात, बिक्री र प्रयोग गरिने बच्चाको कोडोमो टुथपेस्टमा ४३.८५ माइक्रोग्राम पर ग्राम ब्यूटायल पाराबेन पाइएको छ। त्यस्तै बच्चाकै कोडोमो किड्स माउथवासमा मिथाइल पाराबेन १०३९.३ माईक्रोग्राम पर ग्राम उच्च स्तरमा पाइएको छ।

त्यस्तै ह्यान्ड वासमा ६६०.१ माइक्रोग्राम पर ग्राम रसायन पाइएको छ। त्यस्तै डिओडोरेन्टमा १.११ माइक्रोग्राम पर ग्राम ट्राइक्लोसान फेला परेको छ।

त्यस्तै फेमिन वाशमा ०.०३ माइक्रोग्राम पर ग्राम र ह्यान्डवासमा ०.०४ माइक्रोग्राम पर ग्राम ट्राइक्लोकार्बन जस्ता हरमोन उत्पादनमा गडबडी ल्याउन सक्ने रसायनहरू फेला परेको सेफडका कार्यकारी निर्देशक एवं वातावरण वैज्ञानिक रामचरित्र साहले बताए।

‘नेपाली बालबालिकाहरूको व्यक्तिगत सुरक्षाका सामग्रीहरूमा हरमोन उत्पादनमा गडबडी ल्याउन सक्ने रासायन पाराबेन परिक्षणका क्रममा भेटियो। यसले शरीरमा गम्भीर असर पुर्याउँछ’, उनले भने।

उनले बालबालिकाका खेलौनाहरूमा पाइने गरेको सिसा, पारो, क्याडमियम, क्रोमियम, फ्थालेट्स, बीपीए जस्ता रासायन यसअघिको अनुसन्धानबाट पत्ता लागेको भन्दै बालबालिकाहरू दोहोरो जोखिममा परेको उनले बताए। सेफडले यसअघि गरेको घर, फर्निचर, स्कुल रङ्ग्याउने रङ्गहरूको अनुसन्धानका क्रममा उच्च स्तरको सिसा भेटिएको थियो।

दक्षिण कोरियामा नेपाल सहित अन्य सात देशले पनि व्यक्तिगत सुरक्षाका सामाग्रीका नमुनाहरू अध्ययनका लागि पठाएका थिए। त्यी सबै आठै देशहरूबाट सङ्कलन गरिएको व्यक्तिगत सुरक्षाका सामग्रीहरू ३६२ रहेका थिए। जस मध्ये ११६ वटा बाल सुरक्षाका सामग्रीहरू रहेका थिए।

लक्षित रसायनहरूबारे छुट्टै लेबल नभएका सामग्रीहरू मध्ये नेपालमा ८, मलेसियाका १५, भियतनाममा १, फिलिपिन्समा ५, भारतमा १५, श्रीलंकामा ५, इन्डोनेसियामा ६ र बंगलादेशका ५ वटा गरी कुल ६० सामग्रीहरूमा पाराबेन, ट्राइक्लोसान, ट्राइक्लोकार्बन जस्ता लक्षित रासायनहरू पत्ता लागेको थियो।

नेपालबाट अध्ययनमा समावेश गरिएका बाल सुरक्षाका सामग्रीका ९ नमुनाहरू मध्ये एउटा नमुनामा ब्यूटाइल पाराबेन ४३.८५ माइक्रोग्राम पर ग्राम पत्ता लागेको थियो। जुन धेरै खतरनाक स्तर हो।

यस्तो वस्तु धेरै देशहरूमा व्यक्तिगत सुरक्षाका सामग्रीमा प्रतिबन्ध रहेका भए पनि नेपालमा यस्ता व्यक्तिगत सुरक्षाका सामग्रीहरूमा यस्ता घातक रसायनहरू ब्यापक पाइने गरेको उनले बताए।

पाराबेन, ट्राइक्लोसान र ट्राइक्लोकार्बनको प्रयोग सम्बन्धी नेपालमा कुनै ऐन, नियम र मापदण्ड छैन। त्यसैले नेपालमा व्यक्तिगत सुरक्षाका सामग्रीमा हरमोन उत्पादनमा गडबडी ल्याउन सक्ने यस्ता रसायनहरू (जस्तैः पाराबेन र ट्राइक्लोसान र ट्राइक्लोकार्बन) आदीको नियमन गर्नु सरकार गम्भीर भएर लाग्नुपर्ने शाहले बताए।

यसबाट के-के हुन सक्छ असर ?
यी घातक रसायनको प्रयोगबाट बनेका बस्तुको प्रयोगले स्वास्थ्यमा गम्भीर पर्ने अध्यायनले देखाएको छ।

पाराबेनका कारण एन्टिमाइक्रोबियल प्रतिरोधी क्षमताको विकास हुनुका साथै इन्डोक्राइन प्रणालीको काममा अवरोध, क्यानसर, प्रजननमा प्रतिकूल प्रभाव पर्ने बताइएको छ।

त्यस्तै बाल्यकाल अधिक वजन, थाइरोइड हुने शाहले बताए। ट्राइक्लोसानले हेपाटाइटिस र क्यान्सर, कोलाइटिस, मृगौला असर, थाइरोइड सम्बन्धि रोगहरू, स्नायू प्रणालीमा असर, एलर्जी हुने उनले बताए।

ट्राइक्लोकार्बनले प्रतिरक्षा प्रणाली कमजोर बनाउने, प्रजनन क्षमतामा कमी गराउने, गर्भपतन गराउने, रगत, फोक्सो, अण्डकोषमा असर गर्ने र प्रोस्टेट, स्तन क्यान्सर आदि जस्ता गम्भीर रोगहरू लगाउने उनको भनाइ छ।

सरकारले के गर्नुपर्छ ?
नेपालमा व्यक्तिगत सुरक्षाका सामग्रीमा हरमोन उत्पादनमा गडबडी ल्याउन सक्ने यस्ता रसायनहरू जस्तै पाराबेन र ट्राइक्लोसान र ट्राइक्लोकार्बन आदिको नियमन गर्नु गराउन सम्बन्धित सरकारले तत्काल आवश्यक ऐन, नियमावली र बाध्यकारी मापदण्ड तयार गरी प्रभावकारी कार्यान्वयनको व्यवस्था गर्नुपर्ने शाहले बताए।

यसका लागि अधिकार सम्पन्न नियमनकारी सरकारी निकाय यथाशीघ्र तोक्न उनले माग गरे। समय समयमा बजार तथा उद्योग अनुगमन गरी अध्ययनका परिणामहरू आम जनतासम्म पु¥याउनुको साथै यसबारे व्यापक जनचेतना फैलाउनु आजको आवश्यकता रहेको उनको भनाइ छ।

‘यस्ता सामग्रीहरूको आयात, उत्पादन, विक्रिवितरण तथा प्रयोगमा निरन्तर नियमन र नियन्त्रण गरिनुपर्दछ। यसका लागि तिनै तहका केन्द्रीय, प्रादेशिक तथा स्थानीय सरकारहरू लगायत, उद्योगी, व्यापारी अन्य सरोकारवालाहरू लाग्नु पर्ने देखिन्छ’, उनले भने। 

साउन ८, २०८१ मंगलबार १०:०५:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।