बहादुर सिंह लामाले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्दै

बहादुर सिंह लामाले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्दै

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले बागमती प्रदेशको मुख्यमन्त्रीका लागि आज दाबी पेश गर्दैछन्।

एमालेका २७ सांसद र नेपाली कांग्रेसका ३७ सांसदको हस्ताक्षर सहित नेता लामाले प्रदेशको पाँचौं मुख्यमन्त्रीका लागि प्रदेश प्रमुख समक्ष दाबी पेश गर्दैछन्।

१ सय १० प्रदेश सभा सदस्य रहेको बागमतीमा मुख्यमन्त्रीका लागि बहुमत जुटाउन ५६ मत आवश्यक पर्छ, जुन सहज रूपमा पुग्छ।

बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले साउन ८ गते साँझ ५ बजेभित्र संविधानको धारा १६८ को २ अनुसार सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका थिए।

मुख्यमन्त्रीको दाबी पेशका मंगलबार बिहान ११ बजे प्रदेश प्रमुख कहाँ जाने नयाँ सत्ता समीकरणका दुई दलको तयारी छ।

पहिलो पटक सरकारको नेतृत्वमा कांग्रेस
बागमती प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पहिलो पटक सरकारको नेतृत्व गर्ने अवसर पाएको छ।

नयाँ सत्ता समीकरणमा भएको सहमति अनुसार बागमती प्रदेशमा कांग्रेसले सरकार बनाउने भएको हो। कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामा बागमतीको मुख्यमन्त्री बन्ने भएका छन्।

देश संघीयतामा गएपछि वागमती प्रदेशमा पहिलो पटक नेपाली कांग्रेसले नेतृत्व गर्ने अवसर पाएको हो। एमालेको समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामा बागमती प्रदेशको पाँचौं मुख्यमन्त्री बन्दै छन्।

यसअघि एमालेले दुई पटक, माओवादी केन्द्र र एकीकृत समाजवादीले एक-एक पटक प्रदेशको नेतृत्व गरेका छन्।

बहादुर सिंह लामा को हुन्?
विक्रम संवत् २०२७ कार्तिक ८ गते नुवाकोट जिल्ला किस्पाङ्ग गाउँपालिका-५ मनकामनामा जन्मिएका लामा सानैदेखि अब्बल र हक्की स्वभावका हुनुहुन्थ्यो। स्नातकसम्मको शिक्षा हासिल गरेका लामाले २०४३ सालमा नेपाली काग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको सदस्यता लिएर राजनीति जीवन शुरू गरेका थिए।

शंकरदेव क्याम्पसको नेवि संघ ईकाई सदस्य, नेविसंघ नुवाकोट क्षेत्रीय सभापति, नेपाली कांग्रेस जिल्ला उपसभापति भयो। २०५४ सालको स्थानीय तहको निर्वाचनमा नुवाकोट जिल्लाको तत्कालीन मनकामना गाविस अध्यक्षमा निर्वाचित भए।

२०६४ सालको निर्वाचनमा नुवाकोट-३ बाट संविधानसभा सदस्यमा लामा पराजित भए। २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा संविधानसभा सदस्य पदमा निर्वाचित भए।

२०७४ सालमा प्रतिनिधिसभा सदस्य तथा २०७९ सालमा बागमती प्रदेशसभा सदस्य निर्वाचित भएका थिए। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका विश्वास पात्र मानिने लामा नेपाली कांग्रेसको केन्द्रीय सदस्य छन्।

साउन ७, २०८१ मंगलबार ०९:१०:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।