टीकापुर अस्पतालमा चिकित्सक र स्वास्थकर्मीमाथि दुर्व्यवहार, कारबाही गर्न चिकित्सक संघको माग

टीकापुर अस्पतालमा चिकित्सक र स्वास्थकर्मीमाथि दुर्व्यवहार, कारबाही गर्न चिकित्सक संघको माग

काठमाडौं : नेपाल चिकित्सक संघको सुदूरपश्चिम शाखाले कैलालीको टीकापुर अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेहरूलाई कानूनी दायरामा ल्याउन माग गरेको छ।

संस्थाका अध्यक्ष डा. मेराम आलम अन्सारीले सोमबार एक विज्ञप्ति निकालेर दिउँसो १ बजे अस्पतालको प्रशासनिक भवनमा आएर चिकित्सक र स्वास्थ्यकर्मीहरूमाथि दुर्व्यवहार गर्नेहरूलाई कानूनी दायरामा ल्याउन स्थानीय सुरक्षा निकायसँग माग गरेका हुन्।

शाखाले चिकित्सक र स्वास्थ्यकर्मीहरूमाथि भएको घटनाको भर्त्सना र निन्दा समेत गरेको छ। साथै अध्यक्ष डा. अन्सारीले आगामी दिनमा शान्तिपूर्ण वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने वातावरण सिर्जना गर्न समेत स्थानीय सुरक्षा निकायको ध्यानाकर्षण गराएको छ।

गत असार १ गते विहान सवा १० बजे टीकापुर अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि गएका मधुमेह र उच्च रक्तचापका बिरामी पदमबहादुर बोहरालाई अस्पतालले रेफर गरेर धनगढी जाने क्रममा बाटोमा निधन भएको घटनाको विषयमा एक समूहले चिकित्सक र स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको संघको आरोप छ।

उनको निधन भएपछि त्यसको छानबिनको लागि समिति गठन भई छानबिन प्रक्रिया चलिरहेको छ। छानबिन भइरहेकै समयमा आफूहरूमाथि दुर्व्यवहार भएको भन्दै संघले विज्ञप्ति निकालेको हो। 

साउन ७, २०८१ मंगलबार ०८:४८:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।